काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन वालेन्द्र शाह नेतृत्वको सरकारमा प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन्। म्याग्दीबाट स्वतन्त्र चुनाव जितेका पुन रास्वपा सरकारको मन्त्री बनेका हुन्। पुन नवप्रवर्तन र विज्ञान प्रविधिलाई अघि बढाउनुपर्छ भन्ने विषयमा आफ्ना दृढ अडान राख्दै आएका छन्।
म्याग्दीबाट स्वतन्त्र सांसद बनेका महावीर पुन राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका हुन्। आफू कार्यकालभर स्वतन्त्र नै रहने प्रण गरेका पुनले मन्त्रीको कार्यभार सम्हालेपछि आफू नवप्रवर्तनका निम्ति अहोरात्र खट्ने जिकिर गरे। परिस्थितिले मन्त्री बनेको जिकिर गरेका पुनले तीन वर्षसम्म मात्रै काम गर्ने र तयसपछि युवालाई अवसर दिने बताए ।
स्वतन्त्र सांसद पुनले यसअघि पनि संसदमा नवप्रवर्तन मन्त्रालय नबनेको भन्दै आक्रोश पोखेका थिए भने सरकारले मन्त्रालयको संख्या घटाएर नवप्रवर्तन मन्त्रालय निर्माण गरेपछि खुशी समेत व्यक्त गरेका थिए । परिस्थितिअनुसार अघि बढिरहेका पुन सरकारले चालेका कुनैपनि कदमको विरोध वा समर्थनमा उत्रिएका थिएनन् ।
उनले सीमा विवादमा दिएको अभिव्यक्ति होस वा बजेटका विषयमा उठेका प्रश्न नै किन नहुन्, उनले मौनता साँधेका थिए। यसरी अघि बढेका पुन अन्ततः वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्री बनेका हुन् ।
अन्तरिम सरकारको मन्त्रीबाट सांसद
फागुन २१ को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका पुनले चुनावको सम्मुखमा नै पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पुनको उम्मेदवारीपछि उनलाई रास्वपाले समर्थन गरेको थियो। भने म्याग्दीबाट उनी निर्वाचित भएका थिए। यसरी स्वतन्त्र सांसद बनेका पुनले किताब बेचेर कृषी औजार कारखाना सञ्चालन गर्ने दाबी गर्दै आएका छन् ।
आत्मकथा बेचेर आएको रकम कारखाना सञ्चालन गर्नका निम्ति भएको दाबी गर्ने उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेपछि पटक–पटक किताब बेच्न निस्किने गरेका थिए ।
वालेन्द्र शाहको राडारमा पुन
नवप्रवर्तन, विज्ञान प्रविधि र कम्प्यूटिङबाट मुलुकलाई अघि बढाउनुपर्ने दाबी गर्दै आएका महावीर पुन रास्वपा सरकारको मन्त्री बन्ने स्वतन्त्र सांसद हुन् ।
सभामुखबाहेक १८१ सांसद रहेको रास्वपाले आफ्नो पार्टीका सांसदलाई भन्दा पुनलाई मन्त्री बनाएर नवप्रवर्तन र इनोभेसनमा लागिरहेका पुनलाई रोजेपछि यसले सकारात्मक अपेक्षा सिर्जना गर्ने दाबी गरिएको छ। पुनले काठमाडौंको कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्दै आएका छन् ।
केन्द्रले विभिन्न सामाग्री निर्माण गर्ने गरिरहेको छ भने विभिन्न अस्पतालमा बिग्रिएर रहेका सामाग्री सस्तोमा निर्माण गरेर आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ। उनै पुनले नवप्रवर्तन मन्त्रालय सम्हालेपछि यो क्षेत्रमा नेपालले कसरी आफूलाई अघि बढाउला? पुनले फेरिएको विश्व प्रविधिलाई टेकओभर गर्न सक्लान? तमाम प्रश्नकाबीच उनको परीक्षा भने शुरु भएको छ ।
