काठमाडौं । काठमाडौं विश्वविद्यालयसँग आबद्ध धुम्बाराहीस्थित नेशनल कलेजले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा नेपालकै पहिलो स्नातक तहको कार्यक्रम ‘ब्याचलर इन इन्टरनेशनल रिलेसन्स एन्ड डिप्लोमेसी (बर्ड)को औपचारिक शुभारम्भ गरेको छ ।
उद्घाटन समारोहमा कूटनीतिज्ञ, परराष्ट्र नीति विज्ञ, शिक्षाविद्, सरकारी अधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, विश्व सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार तथा अन्तरसांस्कृतिक सञ्चारका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु रहेको कलेजले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल कलेजका प्राधानाध्यापक माधव प्रसाद न्यौपानेले नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयको समर्पित स्नातक कार्यक्रमको आवश्यकता महसुस गर्दै बर्ड सुरु गरिएको बताए ।
“अन्तर्राष्ट्रिय सम्बन्ध अब केवल परराष्ट्र सेवामा सीमित छैन । यसले विश्व राजनीति, व्यापार, जलवायु कूटनीति र सांस्कृतिक आदानप्रदानलाई समेत समेट्छ,” उनले भने।

बर्डकार्यक्रम प्रमुख श्वेता कार्कीले कार्यक्रमको विशेषता ‘नेपाल–केन्द्रित अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ रहेको बताइन्। उनका अनुसार विद्यार्थीहरूले नेपालको भूराजनीतिक अवस्थालाई केन्द्रमा राखेर विश्व राजनीतिका विषयहरू अध्ययन गर्नेछन्।

साथै, वार्ता, द्वन्द्व समाधान र अन्तरसांस्कृतिक सञ्चारजस्ता व्यवहारिक सीप विकासमा समेत जोड दिइनेछ । समारोहमा पूर्व कूटनीतिज्ञ तथा बर्ड विषय समिति अध्यक्ष डा. दिनेश भट्टराई, परराष्ट्र मामिला विज्ञ डा. निश्चलनाथ पाण्डे र अवकाशप्राप्त मेजर जनरल डा. पूर्णबहादुर सिलवालले कूटनीतिक शिक्षाको महत्वबारे धारणा राखेका थिए।
विशिष्ट अतिथि प्रा. डा. श्रीधर खत्री तथा प्रमुख अतिथि प्रा. महेश बास्कोटाले कार्यक्रमले नेपालको उच्च शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । कलेजका अध्यक्ष डा. बद्री देव पाण्डेले धन्यवाद ज्ञापन गर्दै अनुभवात्मक शिक्षामार्फत विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमपछि विद्यार्थी, शिक्षक र कूटनीतिज्ञबीच अन्तरक्रियात्मक नेटवर्किङ सत्रसमेत आयोजना गरिएको थियो ।
