काठमाडौं । भारत भ्रमण सम्पन्न गरेका परराष्ट्रमन्त्री शिशिर खनाल आइतवार चारदिने चीन भ्रमणमा जाँदैछन्। द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी, बीआरआई परियोजना र सीमासम्बन्धी मुद्दामा छलफल हुने भ्रमणलाई नयाँ सरकारको महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ । भरखरै भारत भ्रमण सम्पन्न गरेका परराष्ट्रमन्त्री शिशिर खनाल आइतवारदेखि चारदिने चीन भ्रमणमा जाँदैछन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई नयाँ सरकार गठनपछिको महत्वपूर्ण कूटनीतिक गतिविधिका रूपमा हेरिएको छ ।
नेपालले आफ्नो परराष्ट्र नीतिमा भारत र चीनबीच सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास गरिरहेका बेला मन्त्री खनालको भ्रमणले विशेष अर्थ राख्छ ।
मन्त्री खनालको भ्रमण तालिका :
भ्रमणका क्रममा मन्त्री खनालले द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा सीमापार सम्पर्क विस्तारका विषयमा छलफल गर्दैछन् । मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेट र नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।
भ्रमणका क्रममा मन्त्री खनालले नेपाल–चीनबीच शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तारका विषयमा चिनियाँ विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । नेपालमा चिनियाँ लगानीका सम्भावना तथा प्राथमिक विकास क्षेत्रहरूबारे छलफल हुने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागि हुने छन् ।
त्यसैगरी अपेक्षा अनुसार अघि बढ्न नसकेका बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतका पूर्वाधार तथा शिक्षा क्षेत्रसँग सम्बन्धित परियोजनाहरूको प्रगतिबारे पनि समीक्षा गरिने भएको छ ।
नेपालले छलफल गर्नु पर्ने मुद्दा :
नेपालले चीनसँग व्यापार सन्तुलन, सीमापार कनेक्टिभिटी, पर्यटन, लगानी र बीआरआई परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उठाउनु पर्ने मुख्य विषय हुन् ।
योसँगै शिक्षा तथा प्रविधि सहकार्यलाई पनि नेपालले जोड दिनु पर्छ । नेपालले विशेषगरी चिनियाँ लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न, व्यापार घाटा कम गर्न तथा सीमा नाकाहरूको सहज सञ्चालनमा जोड दिनुपर्ने देखिन्छ ।
लिपुलेक मुख्य चासो
लिपुलेकमा भारत र चीनले शुरु गर्न लागेको कैलाश मानसरोवर यात्राले नेपाल तरंगित बन्दै आएको छ । लामो समयदेखि नेपालको दुवै संघीय संसद यहि विषयमा केन्द्रीत रहँदै आएका छन् । यसै विषयमा प्रतिपक्षी दलहरुले निरन्तर संसद अवरुद्ध गरिरहेका छन् ।
परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरासँग सम्बन्धित लामो समयदेखिका सीमा विवादका विषयहरू पनि चिनियाँ अधिकारीहरूसँग उठाउने अपेक्षा गरिएको छ । कैलाश मानसरोवर यात्रा नेपालका लागि संवेदनशील मुद्दा भएकाले यसबारे स्पष्ट धारणा राख्नुपर्ने विज्ञहरूको सुझाव छ ।
चीनको नेपाल नजर
चीनको नेपालप्रतिको दृष्टिकोण रणनीतिक छ । विशेषगरी तिब्बत सुरक्षा, दक्षिण एसियामा प्रभाव विस्तार र आर्थिक सहकार्यका लागि चीनका लागि नेपाल महत्वपूर्ण छ ।
त्यसैले नयाँ सरकारसँग चीनले स्थिर, व्यावहारिक र विकासकेन्द्रित सम्बन्ध राख्न चाहेको पछिल्ला चिनियाँ उच्चस्तरीय भ्रमणहरूले पनि पुष्टि गर्छन् । नेपालले पनि चिनियाँ चासो र परम्परागत सम्बन्धलाई आधार मान्दै एक चीन नीतिलाई समर्थन गर्दै आएको छ ।
नेपाल, भारत र चीन
नेपालसँग सीमा जोडिएका कारण चीन र भारतबीचको सम्बन्ध नेपालका लागि सधै महत्वपूर्ण छ । नेपालले दुवै छिमेकीसँग सन्तुलित र गतिशील कूटनीति अपनाउनु पर्छ ।
आर्थिक सहयोग बढाउने, सार्वभौमिकता रक्षा गर्ने र तेस्रो पक्षको प्रभावलाई सीमित राख्ने नीति नेपालले अख्तियार गर्नु पर्छ । परराष्ट्रमन्त्री खनालको भ्रमणलाई सरकारको सक्रिय कूटनीतिक सुरुवातका रुपमा लिन सकिन्छ । चीन भ्रमण सकेर मन्त्री खनाल असार ३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
