News 24 Television
इतर पक्ष एकता जप्दै समानान्तर गतिविधि बढाउँदै

काठमाडौं । नेपाली कांग्रेसमा इतर पक्षले सामानान्तर गतिविधि जारी नै राखेको छ । तर उनीहरुले पार्टी एकताको रटान भने लगाउन छाडेका छैनन् । 

पार्टीभित्र पार्टीको कार्यक्रम गरिरहेका उनीहरुले पार्टी फुट्न नदिने प्रण पनि गरि नै रहेका छन् । पार्टी संस्थापन पक्ष १५ औं महाधिवेशन तयारीमा लागिरहँदा इतर पक्षले प्रदेशगत भेलाहरु आयोजना गरिरहेको छ । 

नेपाली कांग्रेसले पार्टी एकता कायम गर्नका लागि पार्टी सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले इतर पक्षलाई राखेको ७ बुँदे प्रस्ताव सार्वजनिक भएकै दिन इतर पक्षको भेला विराटनगरमा भइरहेको थियो । 

पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आन्तरिक रूपमा पठाइएको ७ बुँदे प्रस्तावको कुनै जवाफ नै नआएपछि संंस्थापनले आइतबार प्रस्ताव सार्वजनिक गरेको हो । 

सहमतिका लागि संस्थापनले राखेका प्रस्ताव के छन् ? 

–    विमतिका विषयहरूलाई १५ औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक एजेन्डाका रूपमा प्रस्तुत गर्न सकिने, विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै पनि सदस्यलाई फरक व्यवहार नगर्ने ।

–    १५ औँ महाधिवेशन तयारीको पहिलो चरणका रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रिया निर्धारित समयभित्र पूरा गर्ने ।

–    पार्टीमा लामो समय योगदान गरेका केही अग्रज नेताहरूलाई केन्द्रीय समितिमा ‘वरिष्ठ नेता’ को रूपमा सम्मानित भूमिकामा स्थापित गर्ने ।

–    कार्यसमिति बाहिर रहेका तर जिम्मेवारी लिन इच्छुक साथीहरूलाई निश्चित संख्यामा सम्मानपूर्वक जिम्मेवारी दिने र सम्मानजनक सहभागिता गराउने । 

–    १५ औँ महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य सुनिश्चित गर्ने।

–    केन्द्रीय समितिको अङ्ग रहने गरी बैठकबाटै ‘१५ औँ महाधिवेशन व्यवस्थापन समिति’ गठन गर्ने।

–    भ्रातृ र शुभेच्छुक संस्थाको केन्द्रीय समितिमा काम गर्न इच्छुकलाई योग्यता अनुरूप सभापति वा पदाधिकारीको जिम्मेवारी प्रदान गर्ने ।

संस्थापन पक्षले पठाएको प्रस्तावको इतर पक्षले १६ दिनसम्म पनि कुनै जवाफ पठाएन । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै अस्वीकार गर्दै आएको इतर पक्षले गत फागुनमा सम्पन्न निर्वाचनमा भने सभापति गगन थापाकै हस्ताक्षरबाट टिकट लिएका थिए । 

निर्वाचन परिणामपछि इतर पक्ष झनै आक्रामक ढंगले अघि बढेको छ । निर्वाचनको असफलतालाइ पनि इतर पक्षले विशेष महाधिवेशनलाई नै दिइरहेको छ । 

पार्टीका समानान्तर गतिविधि गर्दै आएको इतर पक्षले आइतबार विराटनगरमा कोशी प्रदेश स्तरीय भेलाको आयोजना गर्यो । भेलामा देउवा समूह पनि उपस्थित थियो । विराटनगरको इतर पक्षको भेलामा पनि नेताहरुले कांग्रेस एकतामै जोड दिइरहेका थिए । संस्थापनको ७ बुँदे प्रस्ताव होइन, कांग्रेस नेता शेखर कोइरालले आफूले अघि सारेको ५ बुँदेमा सहमति खोजे । उनले पार्टी भित्र निरङकुशता हावी भएको भन्दै स्वीकार्य नहुने बताए । 

नेता शेखर कोइरालाले पार्टी फुट्न नहुने बताइरहँदा पूर्व महामन्त्री डा. सशांक कोइरालाले भने कांग्रेस फुटिसकेको भन्दै चिन्ता ब्यक्त गरे । उनले पार्टीको विभाजनलाई दुर्भाग्यपूर्ण भने । यस्तै, चिन्ता इतर पक्षका अन्य नेताहरुको पनि छ । 

कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईको सभापतित्वमा भएको भेलालाई बल बहादुर केसी, मोहन बहादुर बस्नेत, डा. मिनेन्द्र रिजाल लगायतले सम्बोधन गरेका थिए । 

१५ औं महाधिवेशनको संघारमा नेपाली कांग्रेसमा सदस्यता अद्यावधिक गर्ने नाममा विवाद बढ्दै गएपछि एकता भेला थालिएको इतर पक्षको तर्क छ । 

इतर पक्ष आफूले पार्टी विभाजनको घोषणा नगर्ने पक्षमा देखिन्छ । तर उसले पार्टीभित्र पार्टी बनाएर निरन्तर पार्टीको वर्तमान नेतृत्वलाई कमजोर पार्ने रणनीति अघि सारेको स्पष्ट देखिएको छ । 

यसको संकेत स्वरुप उनीहरुले अब वडासम्म नै आन्दोलन लैजानेसम्मको चेतावनी दिएका थिए ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update