काठमाडौं । ०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि प्रतातन्त्र पार्टीकै नामबाट स्थापना भएको राजावादी शक्तिहरु एकता र विभाजनको आरोह अवरोहमा छन् ।
विभाजन राजावादी शक्ति कमजोर भएको भन्दै राज्य ब्यवस्था नै पल्टाउने धेयका साथ पूर्वराजा ज्ञानेन्द्र शाहकै योजनामा तेस्रो जनआन्दोलन समिति समेत बनेको थियो । तर पनि राजावादीहरुबीच सुदृढ एकता हुन नसकेपछि राप्रपा छाडेका धवल शम्सेर राणा नयाँ पार्टी निर्माणको अभियानमा छन् ।
कहिले विभाजन र कहिले एकता हुँदै गुज्रिएको राजावादी मुद्दा बोक्ने प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएका धवलशम्सेर राणा नयाँ पार्टी निर्माण गर्ने तयारीमा छन् ।
राजावादी शक्तिहरु एक हुनुपर्ने आश्यकता बोध गर्दै महाधिवेशनबाट अलग भएका कमल थापासमेत राप्रपामै फर्किएकाबेला धवलसम्शेर भने राजतन्त्र पुर्नस्थापनाका लागि भन्दै नयाँ शक्ति निर्माणमा लागेका हुन् ।
गत जेठ १७ गते राप्रपाबाट अलग भएको धवलशम्सेरले नयाँ राष्ट्रवादी शक्ति निर्माणमा जुट्ने घोषणा गरेका थिए । धवलसँगै राप्रपाका १ सय ८३ जनाले पनि पार्टी छाडेको घोषणा गरेका थिए । पार्टी छाडेर नयाँ पार्टी निर्माणमा जुटेका धवलले धार्मिक आस्था जनाउँदै अधिकमास अर्थात मलमास सकिएपछि पार्टी घोषणा गर्ने बताएका थिए ।
नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईँले गर्ने
राप्रपाबाट अलग भएर धवलले घोषणा गर्न लागेको नयाँ पार्टीको नेतृत्व भने विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईले गर्ने भएका छन् । प्रसाई राष्ट्र, राष्ट्रियता तथा नागरिक बनाउ महाअभियानका संयोजक हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै उपस्थिति गराएर महाभियान घोषणा गरेका प्रसाईँले मिटरब्याज पीडित लगायतको नेतृत्व गर्दै पटक पटक काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । एक वर्षअघि चैत्र १५ को राजावादी आन्दोलनको नेतृत्व पनि प्रसाईँले नै गरेका थिएृ । राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डालाई स्थापित गराउन प्रसाइँको भूमिका महत्वपूर्ण रहेको राणाको भनाइ छ ।
राप्रपाको वर्तमान नेतृत्वबाट नेपालमा राजसंस्था स्थापना हुन नसक्ने निश्कर्षका साथ राणाले राप्रपा छाडेको बताउँदै आएका छन् ।
राप्रपा अध्यक्ष लिङदेनले इमान्दारिताका साथ राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई अघि नबढाएकोले नयाँ पार्टी निर्माण गर्नुपरेको राणाको भनाई छ । झण्डै दुई तिहाईको बालेन्द्र शाह नेतृत्व रास्वपा सरकार पनि गलत बाटोमा हिडेकोले त्यसको विकल्पमा राजासहितको प्रजातन्त्र बोक्ने पार्टी मात्रै विकल्प हुने राणाको बुझाई छ ।
राप्रपाबाट अलग भएको समूहको नेतृत्व गर्दै नयाँ समूह बनाउन लागेका प्रसाईँले राप्रपालाई राजा र धर्म साट्ने पार्टीको आरोप लगाएका छन् । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई आईआरआईको सदस्य भएको समेत गम्भीर आरोप लगाएका छन् ।
के हो आईआरआई ?
आईआरआई (इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्यूट) ले सन् २०१८ मा काठमाडौंमा कार्यलय स्थापना गरि नेपालको नीति संवाद र प्रजातान्त्रि अभ्यासलाई दुदृढ पार्ने कार्यक्रम चलाउँदै आएको छ । विश्वभर लोकतन्त्र, मानवअधिकार र सुशासन प्रवद्र्धन गर्ने अभियान चलाउँदै आएको आईआरआई सन् १९८३ मा स्थापना भएको अमेरिकी संस्था हो ।
प्रसाईँको गतिविधिप्रति राजावादी नै बेखुश
दुर्गा प्रसाईँलाई साइबर अपराध तथा राज्य विरुद्धको कसुरको मुद्दा लगाइएको छ । यहि मुद्दामा पटक पटक पक्राउ पर्ने गरेका प्रसाईँ पछिल्लो समय रास्वपा र वर्तमान बालेन्द्र सरकारको पनि कट्टर आलोचक छन् ।
प्रसाईले विभिन्न ठाउँमा गर्न लागेको कार्यक्रममा प्रशासनले रोक लगाउने गरेको छ । प्रसाईँकै कारण गत वर्षको चैत १५ को आन्दोलन भड्काएको राजावादीहरुले पनि आरोप लगाएका छन् ।
विवादित पृष्ठभूमिका प्रसाईँलाई अघि सारेर नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना गर्ने राष्ट्रवादी पार्टी बन्नेमा भने स्वयम् राजावादीहरुले विश्वास गर्न सकिरहेका छैनन् ।
