महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका पंचायती व्यवस्थादेखि संघीय व्यवस्थासम्म राजनीतिक र सामाजिक परिवर्तनमा योगदान दिँदै आएको क्षेत्र हो ।
कृषिलाई आयमुखी बनाउँदै विकासमा अघि बढिरहेको गाउँपालिकामा दीर्घकालीन सोचसहित विकासका कामलाई तीव्रता दिइएको जनप्रतिनिधि र कर्मचारीले बताएका छन् ।
भौगोलिक रूपमा महोत्तरीको दक्षिणी क्षेत्रमा रहेको पिपरा गाउँपालिका सानो भएपनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासमा निरन्तर अघि बढिरहेको स्थानीय तह हो ।
२०७९ को निर्वाचनपछि सडक, नाला, खानेपानी, सिँचाइ, विद्यालय, स्वास्थ्य संस्था, डिजिटल सेवा र कृषिमा आधुनिक प्रविधिसम्बन्धी योजना कार्यान्वयन भइरहेका छन् । ‘सिधाकुरा जनतासँग कार्यक्रममा अध्यक्ष राम जानकी यादवले स्थानीय आवश्यकता र जनभावनाअनुसार विकासलाई प्राथमिकता दिइएको बताए ।
गाउँपालिका उपाध्यक्ष बन्दना पाण्डेयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित र विपन्नका लागि लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताइन् । न्यायिक समिति, सीपमूलक तालिम, सामाजिक सुरक्षा र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
सीमित स्रोतसाधनका बाबजुद पालिकामा सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउँदै विकास निर्माण सन्तुलित रूपमा अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत बताउँछन् ।
कार्यक्रममा पिपरा गाउँपालिका नगरवासीले सुशासन, सूचना पारदर्शिता,रोजगार, दीर्घकालीन योजना, सरसफाई, स्वास्थ्य, शिक्षाप्रति आफ्ना गुनासो,सुझाव सहित पालिकाका जनप्रतिनिधिलाई सचेत गराउन आफ्ना भनाईहरु राखेका छन् ।
कृषि, धार्मिक सम्पदा, सडक सञ्जाल र जनप्रतिनिधिको सक्रियतासँगै पिपरा गाउँपालिकाप्रति विकासको अपेक्षा बढ्दै गएको छ । दीर्घकालीन योजना, पारदर्शी सेवा र नागरिक सहभागितामार्फत समृद्ध र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेको जनप्रतिनिधिहरूको भनाइ छ ।
