काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला महाधिवेशनको संघारमा छ । यहि असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्न लागिएको हो । महाधिवेशनअघि वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न भएका छन् । रास्वपाले ‘एक ब्यक्ति एक पद’ भने पनि कार्यान्वनय नभएको अवस्थामा जिल्ला र प्रदेश अधिवेशनको नतिजाले भने यसको चित्र देखाइदिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले यहि असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्दैछ । पार्टी स्थापना भएको चार वर्ष पुगेको अवसरमा रास्वपाको उद्गम स्थल चितवनमा महाधिवेशन गर्न लागिएको हो । चितवनको भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा महाधिवेशन गर्ने तयारी गरिएको छ ।
पूर्वी चितवनको रत्ननगर टाँडीमा महाधिवेशन आयोजना गर्न लागिएकोमा स्थान परिवर्तन गर्दै भरतपुरमै गर्न लागिएको हो । महाधिवेशनको तयारी तीब्र पारिएको छ ।
महाधिवेशनमा सहभागी हुनेका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध मिलाएको रास्वपाले जनाएको छ । पार्टीको स्थानीय, जिल्ला र नगरसमिति, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अघि बढाइएको छ ।
वडादेखि प्रदेश अधिवेशन सम्पन्न
महाधिवेशनअघि रास्वपाको वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न भएका छन् । अहिलेसम्म चार हजार ३६३ वडा, ६०९ पालिका र ६४ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको रास्वपाले जनाएको छ । अधिवेशन हुन नसकेका र अधिवेशन शुरु भई स्थगन भएका जिल्लाहरुमा महाधिवेशनपछि अधिवेशन गरिने भएको छ ।
कर्णाली प्रदेशका २, लुम्बिनीको एक, गण्डकीको २, मधेसको ४ जिल्लामा अधिवेशन हुन बाँकी छ । सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतटह जिल्लामा अधिवेशन प्रक्रिया शुरु भई सकेपछि विवादका कारण स्थगन गरिएको थियो ।
७ प्रदेश मध्ये मधेस प्रदेशमा पनि अधिवेशन स्थगित भएको छ । मधेस प्रदेश अधिवेशनका क्रममा कार्यकर्ताहरुबीच नै कुटाकुटको स्थिति बनेपछि अधिवेशन स्थगित गरिएको थियो ।
प्रदेशको नेतृत्वमा सांसदहरु पराजित
खासगरी रास्वपाले एक ब्यक्ति एक पदको अवधारणा अघि सारेको थियो । तर कतिपय जिल्ला तथा प्रदेशमा स्थापनादेखि योगदान रहेका भन्दै नेतृत्व दाबी गरे । जसका कारण पालिकादेखि प्रदेशको नेतृत्वका लागि प्रतिष्पर्धीहरुको संख्या ठूलो थियो । तर चुनावका क्रममा भने आफू संस्थापक सभापति भएको भन्दै नेतृत्व दावी गर्नेदेखि प्रतिनिधिसभामा निर्वाचित सदस्यसमेत नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रिएका थिए ।
प्रदेश सभापतिमा उठेका वहालवाला सांसदहरु तीनै जना पराजित भएका छन् । बाग्मती प्रदेशको सभापतिमा सांसद डा. अच्यूतम लामिछाने, गण्डकी प्रदेश सभापतिमा उठेका राजन गौतम र सुदूरपश्चिम सभापतिमा उठेका सांसद जनकसिंह धामी तीनै जना पराजित भए । सांसद गौतम गण्डकीको संस्थापक सभापति पनि हुन् । यो परिणामले रास्वपामा ‘एक व्यक्ति एक पद’ हुनुपर्ने कार्यकर्ताहरुले सन्देश दिएका छन् ।
रास्वपाको पालिका र जिल्लाको नेतृत्वमा पनि अधिकांश अन्य राजनीतिक दल छाडेर रास्वपा प्रवेश गरेकाहरुले नै नेतृत्वमा आएका छन् ।
पालिकादेखि प्रदेश अधिवेशन सम्म आइपुग्दा आकांक्षीहरुको संख्या ठूलो भएकाले पार्टी केन्द्रमा पनि यस्तै समस्या देखिने सम्भावना छ । आसन्न महाधिवेशनमा पार्टी सभापति र बरिष्ठ नेता बाहेक अधिकांश पदका लागि ठूलो संख्यामा प्रतिष्पर्धा हुने निश्चित छ ।
