News 24 Television
श्रम संस्कृतिको कब्जामा संसद, सभामुखको चेतावनी फिक्का

काठमाडौं । बजेटमाथिको छलफल चलिरहेका बेला संसदमा तनाव चुलिएको छ । श्रम संस्कृति पार्टीका सांसदहरूको विरोध, वेल घेराउ र सत्ता–विपक्षबीचको चर्काचर्कीसँगै सत्तारूढ रास्वपाकै सांसदहरूले बजेटको आलोचना गरेपछि सरकारमाथि राजनीतिक दबाब थप बढेको छ । 

संसद बैठक पछिल्ला दिनहरुमा सत्ता पक्ष र विपक्षी दलको रणमैदान बनिरहेको छ । बुधवार पनि यस्तै दृश्य संसदमा देखियो । सत्तारुढ रास्वपा सांसद मनिष झा र विपक्षी श्रम संस्कृति पार्टीका ध्रुव राईबीच चर्काचर्की भएको छ । 

संसदमा मन्त्रालयगत बजेटबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाएका हुन् । त्यसपछि रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाएका थिए । 
सांसद झाले नियमावली सम्झाउँदै बालहठ नगर्न भनेपछि उनको श्रम संस्कृतिका सांसद ध्रुव राईसँग समेत सवालजवाफ भयो । 

यसपछि पनि श्रम संस्कृतिका सांसदहरु रोकिएनन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरुले वेल घेराउ गरे । यसपछि सभाको मर्यादा पालना नगरेको भन्दै असन्तुष्ट देखिएका सभामुख डीपी अर्यालले सांसदहरुलाई सचेत गराए । 

सभामुखले यस्तो आग्रह गरेपनि उनीहरुले विरोध भने जारी नै राखे । वेल घेराउकै बीच मन्त्री र सांसदहरुबीच प्रश्नोत्तर चलिरह्यो । 

हर्कले चित्तबुझ्दो जवाफ नआएको भनिरहँदा सभामुख अर्यालले मन्त्रीको जवाफमाथि स्पष्टिकरण दिने व्यवस्था नरहेको बताए । त्यसपछि पनि वेल घेराउ नरोकिएपछि संवादका लागि सभामुखले १५ मिनेट बैठक स्थगित गरेका थिए । 

सोमवार र मंगलवार पनि उस्तै 

संसदमा बजेटमाथिको छलफल जारी रहे पनि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको अनुपस्थितिले सांसदहरू असन्तुष्ट बनेका छन् ।

मंगलबार प्रतिनिधिसभामा आठ मन्त्रालयको बजेटमाथि छलफल हुँदा सम्बन्धित अधिकांश मन्त्री बैठकमा उपस्थित नभएपछि विपक्षी सांसदहरूले तीव्र आपत्ति जनाए । एमाले सांसद राजेन्द्र राईले मन्त्रीहरू उपस्थित नभएसम्म आफ्नो धारणा नराख्ने अडान लिएपछि संसद् बैठक केही समयका लागि स्थगितसमेत भयो । 

दोस्रो बैठकमा केही मन्त्री उपस्थित भए पनि सबै मन्त्रालयका मन्त्री नआएको भन्दै सांसदहरूले असन्तुष्टि जनाए । 

मन्त्रीहरुको अनुपस्थिति संसदमा मात्रै होइन पूर्वाधार विकास समितिको बैठकमा पनि सरोकारवाला मन्त्री सुनिल लम्साल अनुपस्थित भए । यो विषयमा पनि सांसदहरुले प्रश्न उठाए । मन्त्रीहरूको अनुपस्थिति, संसद्को मर्यादामाथि उठेका प्रश्न र विशेषगरी श्रम संस्कृति पार्टीका सांसदहरुको एकोहोरो विरोध र वेल घेराउका कारण संसद आफ्नो नियमित कामभन्दा अन्यत्रै अलमलिरहेको छ । 

सत्ता पक्षकै सांसदहरुको विरोध 

सत्तारुढ रास्वपाकै सांसदहरुले नै जनताको जल्दाबल्दा समस्या समाधानका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसदहरुले जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण समेत गराए । 

सत्तापक्षकै सांसदहरूबाट समेत बजेटमाथि प्रश्न उठ्न थालेपछि सरकार थप दबाबमा परेको छ । जनताका आधारभूत समस्या सम्बोधन गर्न बजेट पर्याप्त नभएको भन्दै रास्वपा सांसदहरूले नै सुधारको माग गरेका छन् । यसले बजेट कार्यान्वयन र जनअपेक्षा पूरा गर्ने विषयमा सरकारको परीक्षा अझ चुनौतीपूर्ण बनेको संकेत गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update