काठमाडौं । निर्वाचनमा पराजयपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । प्रदेशस्तरीय समीक्षा बैठकहरूमा अध्यक्ष केपी शर्मा ओलीसहित पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ भने पार्टी पुनर्गठनको माग तल्लो तहसम्म फैलिएको छ ।
काठमाडौँ । नेकपा एमालेभित्र सुरु भएको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन अभियानका क्रममा नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ब्यहोर्नु परेको खराब परिणामपछि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि एमालेले प्रदेश तहमा सुझाव संकलन गरिरहेको छ ।
सो क्रममा तल्लो तहसम्मका नेता–कार्यकर्ता अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । बागमती प्रदेशपछि कोशी प्रदेशको विराटनगरमा मंगलवार भएको प्रदेशस्तरीय समीक्षा बैठकमा नेताहरूले अहिलेकै नेतृत्वबाट अब पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकालेका थिए ।
बैठकमा सहभागी अधिकांश नेताहरूले वर्तमान कार्यकारी नेतृत्वको पुनःनिर्माण हुनुपर्ने र अध्यक्ष ओलीसहित उनका समकालीन नेताहरूले अब विश्राम लिनुपर्ने धारणा राखे ।
गत भदौमा भएको जेनजी आन्दोलनसँगै सत्ताच्युत भएका ओली त्यसपछि मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट पुनः अध्यक्षमा चुनिए । त्यतिबेला पनि उनलाई पार्टी नेतृत्व हस्तान्तरण गर्न दबाब थियो । तर जिद्दी ओलीले मानेनन् र उनकै नेतृत्वमा निर्वाचनमा जाँदा एमालेले नराम्रो पराजय भोग्यो ।
त्यसपछि नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस पुनः चुलिएको छ । ओली र उनका समकालीन वृद्ध नेताहरुलाई विश्राम लिन र नेतृत्व हस्तान्तरण गर्न ओलीकै विश्वासपात्रहरु समेतको दबाब बढ्दा पनि ओलीले भने तत्काल झोला नबिसाउने अड्डी लिएका छन् ।
२ हप्ताअघि पार्टीकै एक कार्यक्रममा उनले सार्वजनिक उद्घोष गरेका थिए– जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने ।
आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको र स्वास्थ्यले साथ दिइरहेसम्म पार्टी नेतृत्व नछाड्नेको ओलीको दाबी थियो । पार्टीलाई फेरि सफलताको मार्गमा डोहो¥याएर मात्र विधिसम्मत ढंगले विश्राम आलीको अडान देखिन्छ ।
अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति रहेको भन्दै अहिले प्रतिकूल परिस्थितिमा आफूलाई बढार्न खोजेकोप्रति उनले असन्तुष्टि पोखेका थिए ।
ओलीले ११औँ महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई संघर्षको नेतृत्व गर्न समेत अध्यक्ष चुनेको भन्दै पार्टीलाई बलियो बनाएर मात्र विश्राम लिने बताउने गरेका छन् । तर विगतमा ओलीकै दायाँ हात मानिने विष्णु पौडेल, शंकर पोखरेल लगायत नेताहरु समेत अहिले ओलीको विकल्प खोज्दै बहस चलाउन थालेका छन् भने तल्लो तहसम्मै ओलीको नेतृत्वमा एमाले बलियो बन्न नसक्ने निष्कर्ष निकाल्न थालिएको छ ।
कोशी प्रदेशस्तरीय बैठकमा पनि अधिकांश सहभागीहरूले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनकै पक्षमा मत राखेका थिए ।
भेलामा नेताहरूले केन्द्रदेखि स्थानीय तहसम्मकै नेतृत्व परिवर्तन आवश्यक रहेको औँल्याउँदै भदौ २३ गतेको राजनीतिक घटनाक्रममा पार्टीको आफ्नै कमजोरीसमेत महसुस गर्नुपर्ने बताए ।
एमालेले जेठ ३० गते बागमती प्रदेशबाट सुरु गरेको यो समीक्षा तथा सुझाव सङ्कलन अभियान असार ४ गते लुम्बिनी हुँदै असार १९ गते विभाग प्रमुखहरूसँगको छलफलपछि सकिने कार्यतालिका छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेल पनि पार्टीभित्र सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाउने पक्षमा छन् । गत फागुनको निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उनले यसलाई अस्थायी असफलतामा सीमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने बताउँदै आएका छन् । पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको उनको भनाइ थियो ।
केही दिनअघि ओलीकै अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रस्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको थियो ।
उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने बताइएको छ ।
