काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठनका लागि सुझाव संकलन समिति नै बनाएर बहस भइरहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि विवाद चर्किएको छ ।
नेता झलनाथ खनालले पार्टी नेतृत्व पुष्पकमल दाहाल प्रचण्डप्रति असन्तुष्टी जनाएका हुन् । खनालले प्रचण्डको नियतमाथि नै प्रश्न उठाएका छन् ।
गत भदौको युवा पुस्ताको आन्दोलनबाट सत्ताच्यूत भई गत फागुन २१ को निर्वाचनबाट तेस्रो दलमा खुम्चिएको नेकपा एमालेबीच यतिबेला पार्टी पुनर्गठनको बहस तीब्र छ ।
पार्टी पुनर्गठनका लागि एमालेमा नेता कार्यकर्तासँग सुझाव संकलन भइरहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा पनि विवाद चर्किएको छ । नेकपा नेता झलनाथ खनालले पार्टी नेतृत्व एवम् नेकपा संयोजक पुष्कमल दाहालको नियतमाथि प्रश्न उठाउँदै ३६ बुँदे असन्तुष्टी जाहेर गरेका छन् ।
भदौ २३ का जेनजी आन्दोलनपछि गत वर्ष १९ कार्तिकमा तत्कालिन तत्कालिन नेकपा एकीकृत समाजवादी र तत्कालिन माओवादी केन्द्रबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । पार्टी एकतापछि प्रचण्ड संयोजक बनाइदा माधव नेपाल सह संयोजक रहेका छन् । यद्यपी पार्टी एकता भएको ७ महिना पुग्न लाग्दा पनि खनाल भने जिम्मेवारविहिन छन् ।
यतिका समयसम्म पनि आफूलाई जिम्मेवार विहिन बनाइएको भन्दै खनालले प्रचण्डमाथि गम्भीर सहमति जाहेर गरेका छन् ।
उनले पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई बैचारिक विचलनकै आरोप लगाएका छन् । वैचारिक विचलन र पार्टी नेतृत्वको नियतमाथि नै प्रश्न उठाउँदै खनालले ३६ बुँदे असहमति पत्र नै जाहेर गरेपनि नेकपामा तरंग मच्चिएको छ ।
जब माधव नेपालको राजीनामा मागे
यसअघि नेकपा एसमा हुँदा पनि खनालको नेता नेपालसँग वैचारिक विमति थियो । जनताको बहुदलीय जनवाद (जबज)मै खनालले असन्तुष्टी जनाएका थिए । पार्टीमा वैचारिक फरक मत दर्ज गर्दै आएपनि पार्टीको सम्मानित नेता रहेका खनालले पछिल्लो समय भने नेपालको राजीनामा नै मागेका थिए ।
जेनजी आन्दोलनपछि रामकुमारी झाँक्री लगातयका नेताहरुलाई कारबाही गरिएपछि त्यसको प्रतिरक्षा गर्दै खनालले नेपालको पार्टी अध्यक्षबाटै राजीनामा मागेका थिए । नेता नेपाल पतञ्जली जग्गा प्रकरणमा मुछिएका कारण पनि उनले राजीनामा दिनुपर्ने मत तत्कालिन नेकपा एसमा थियो । तर नेपालले राजीनामा दिएनन् ।
त्यही मौकामा तत्कालिन माओवादी केन्द्रसँग पार्टी एकता गरि नवगठित नेकपाको सहसंयोजक बने । एकताअघि नेकपा एसका सम्मानित नेता खनाल भने अहिलेसम्म पनि नेकपाको जिम्मेवार विहिन छन् ।
खनालको बैचारिक असहमति
पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टी एकताको ७ महिनापछि वैचारिक असहमति पनि दर्ज गरेका छन् ।
उनले पार्टी एकता हुनुअघि प्रचण्ड र आफूबीच भएको सैद्धान्तिक सहमतिको पनि उलंघन भएको आरोप लगाएका छन् । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने र वैज्ञानिक समाजवादको लक्ष्य राख्ने प्रचण्डसँग सहमति गरे पनि ती सिद्धान्तबाट प्रचण्ड विचलित भएको खनालको आरोप छ ।
नयाँ राजनीतिक ध्रुवीकरणको संकेत
७९ सालको संघको चुनावमा इलामका महेश बस्नेतसँग पराजित भएका खनाल जेनजी आन्दोलनपछि भएको गत फागुनको चुनावमा भने उम्मेदवार नै भएनन् । खनाल, बामदेव गौतम लगायतका नेताहरु चुनाव नै नलड्दा माधव नेपाल भने रौतहट १ बाट चुनावी प्रतिष्पर्धामा थिए ।
उनको क्षेत्रमा रास्वपाका राजेशकुमार चौधरी निर्वाचित हुँदा नेपालले एमाले र कांग्रेसको उम्मेदवारले जति पनि भोट ल्याउन नसकी लज्जास्पद हार ब्यहोरेका थिए । तत्कालिन नेकपा एससहित साना ठूला डेढ दर्जन बढी दलहरुबीच एकता भई फागुनको चुनावमा होमिएको नेपाली कम्युनिस्ट पार्टीले नै नराम्रो हार ब्यहोर्यो ।
संसदको चौंथो ठूलो दलमा खुम्चिएको नेकपाबाट संयोजक प्रचण्डले मात्रै चुनावमा बाजी मारे । पछिल्लो समय नेकपा एमाले भित्र पार्टी पुनर्गठनको छलफल भइरहँदा नेकपा नेतृत्वप्रति खनालको वैचारिक विमति नयाँ राजनीतिक ध्रुवीकरणको संकेत हुन सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
