काठमाडौं । इ–पासपोर्ट घोटालामा अनुसन्धान अघि बढेपछि नेपाली राजनीति तरंगित बनेको छ । अख्तियारमाथि धम्की दिएको आरोपसहित कांग्रेस, एमाले र नेकपाका सांसदहरू संसदमा आक्रोशित बनेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको दबाबपछि अनुसन्धान तीव्र बनाएको भन्दै ३ दलका सांसदले विरोध गरेका छन् ।
इ–पासपोर्ट घोटालाको अनुसन्धानले गति लिँदै गर्दा नेपाली राजनीतिक आकाश तरंगित बनेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको दबाब र सक्रियतापछि अनुसन्धान अघि बढेपछि प्रतिनिधिसभामा बिहीबार एमाले, कांग्रेस र नेकपाका सांसदहरुले अचम्मको व्यवहार देखाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई धम्की दिएर किन अनुसन्धान अघि बढाएको भन्दै कांग्रेसका नरेन्द्रकुमार केरुङ, एमालेका लक्ष्मीप्रसाद पोखरेल र नेकपाका रमेश मल्ल संसदमा चर्किए ।
कांग्रेस, एमाले र नेकपाका सांसदहरूले अनुसन्धानप्रति आपत्ति जनाउँदै प्रश्न उठाएका हुन् । सांसदहरुको प्रश्न सुन्दा उनीहरूको स्वरमा किन अनुसन्धान हामीतर्फ भन्ने चिन्ता देखिन्थ्यो । विगत लामो समयदेखि सेटिङ र बिचौलिया इशारामा सरकार चल्थ्यो भन्ने आरोप थियो । एमाले, कांग्रेस र तत्कालिन माओवादी अर्थात् अहिलेको नेपाल कम्यूनिष्ट पार्टीका सांसदहरु छटपटिएको देख्दा भने चोरको खुट्टा काट भन्दा खुट्टा उचाले जस्तो भएको छ ।
अहिले धेरैलाई हायलकायल पारेको पासपोर्ट काण्डको ठेक्का दिदा एमाले र कांग्रेसको सत्ता गठबन्धन थियो । उतिबेलै यो विषय विवाद र चर्चामा थियो । पासपोर्ट ठेक्कामा अनियमितता भइरहेको छ भन्दै उजुरीहरु परेपनि न तर तत्कालिन सरकारले चासो देखायो न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै एक्सनमा उत्रियो ।
४० भन्दा बढि व्यक्तिहरुमाथि अनुसन्धान चलिरहँदा विपक्षी सांसदहरु भने यो काण्डलाई नै विषयान्तर गर्नेगरी संवैधानिक आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्की दिने काम भएको भन्दै प्रश्न सोधिरहेका छन् ।
