News 24 Television
मल र सिचाई नहुँदा सुदूरपश्चिममा किसान सधैं समस्यामा

कैलाली । कैलालीका किसानलाई धान रोप्ने वेलामा समेत  मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता छ । धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक मल नआएपछि रोपाइ गर्न ढिलाइ भएको किसानको गुनासो छ । 

कैलालीमा धान रोपाइँको मुख्य समय सुरु भए पनि डिएपी र युरिया मल अभावले किसान समस्यामा परेका छन् । वर्षा भइसकेर खेतमा बेर्ना तयार हुँदा पनि आवश्यक मल नपाउँदा रोपाइँ ढिलो भएको भन्दै किसानहरूले गुनासो गरेका छन् ।

धान रोपाइँका लागि डिएपी मल अनिवार्य मानिन्छ । कृषि सामग्री कम्पनीका अनुसार डिएपी प्रतिवोरा रु २,३९४ र युरिया रु ९४४ मा बिक्री भइरहेको छ । कम्पनीले केही सहकारीले मल नउठाउँदा वितरण ढिलो भएको जनाएको छ भने सहकारीहरूले गोदाममा मल भएर पनि नपाएको बताएका छन् । 

हाल युरिया १,७५५, डिएपी २१३ र पोटास २८१ मेट्रिक टन मौज्दात रहेपनि वितरण प्रक्रियाको ढिलाइका कारण किसानसम्म सहज रूपमा मल पुग्न सकेको छैन ।

सुदूरपश्चिममा मलको वार्षिक कोटा सीमित छ । कैलालीका लागि युरिया १० हजार ६००, डिएपी ७ हजार ८०० र पोटास ६०० मेट्रिक टन लक्ष्य तोकिएको छ । तर उच्च मागका कारण वितरणमा समस्या देखिएको छ । सहकारीमार्फत पर्याप्त मल नपुग्दा रोपाइँ प्रभावित भएको किसानको गुनासो छ ।

सुदूरपश्चिममा धान रोपाइँका लागि २८ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको छ । तर मल अभावले किसानहरू समस्यामा छन् भने कैलालीमा आधाभन्दा बढी खेती वर्षामा निर्भर छ र सिँचाइ समस्या पनि गम्भीर छ । रोपाइँको समयमा मल र पानी अभावले उत्पादन घट्ने जोखिम बढेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update