काठमाडौं । सत्तारुढ दल राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)ले असार ७ गतेदेखि चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीब्र पारेको छ । महाधिवेशनलाई भव्य बनाउनको लागी विभिन्न उपसमितिहरूले काम गरिरहेको रास्वाले जनाएको छ । विहीबार पार्टी सचिवालय बैठकले महाधिवेशनका सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन असार ७ गतेदखि चितवनमा हुदैछ । महाधिवेशनका लागि झण्डै ४ करोड खर्च हुने अनुमान रास्वपाले गरेको छ । उक्त खर्च महाधिवेशन प्रतिनिधिहरुबाट नै उठाउने निर्णय पार्टी सचिवालय बैठकले गरेको छ ।
पार्टी सदस्यहरुको लेवी, प्रतिनिधिहरुबाट रजिष्ट्रेशन शुल्क तथा शुभेच्छुक दाताहरुको सहयोगबाट खर्च ब्यवस्थापन हुने रास्वपाले जनाएको छ । महाधिवेशनका लागि मञ्च ब्यवस्थापन तथा क्याटरिङ लगायतमा ब्यवसायीबाट नाफा नलिएर सुलभ शुल्कमा उपलब्ध गराउने विश्वार रास्वपाको छ ।
रास्वपाले पार्टी कार्यकर्ताहरुका लागि लेवी अनिवार्य गरेको छ । लेबी नबुझाउने सदस्यहरुले महाधिवेशनमा भाग लिन नपाउने उसले स्पष्ट गरेको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्ने भन्दै लेबी नतिरेका सदस्यलाई तत्काल बुझाउन निर्देशन गरेको छ ।
२५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने
महाधिवेशनमा २५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ । प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जनासम्म पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको पनि बुर्लाकोटीले जानकारी दिएका छन् ।
प्रवासबाट पनि प्रतिनिधिहरु सहभागी हुने रास्वपाले जानकारी दिएको छ । ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने बुर्लाकोटीले जानकारी दिए ।
चार वर्षअघि स्थापना भएको रास्वपाले गत भदौको युवा पुस्ताको आन्दोलनपछि बालेन्द्र शाह लगायत विभिन्न ब्यक्ति तथा समूहसँग एकता गरि चुनावमा होमिएको थियो । महाधिवेशनबाट विधान संशोधन समेत गरिने भएको छ ।
पार्टीको केन्द्रीय समितिको संख्या बढाउने गरि विधान संशोधन गर्नेबारे सचिवालयमा छलफल भएको छ । हालको प्रस्तावअनुसार पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने र प्रदेश समितिका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिने बुर्लाकोटीले जानकारी दिए ।
राजनीतिक दलहरुलाई निम्तो
पार्टी स्थापनाको चार वर्षपछि पार्टी स्थापनाकै दिन पारेर हुन लागेको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा शुभकामनाका लागि रास्वपाले अन्य दलहरुलाई पनि आमन्त्रण गर्ने भएको छ । अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिने बुर्लाकोटीले जानकारी दिए ।
जिल्ला र प्रदेश अधिवेशको समीक्षा
रास्वपाको सचिवालय बैठकमा हालै सम्पन्न जिल्ला तथा प्रदेश अधिवेशनको समीक्षा पनि गरेको छ । ७ प्रदेश मध्ये मधेस प्रदेसमा रास्वपाको अधिवेशन हुन सकेको छैन । महामन्त्री बुर्लाकोटीकाअनुसार सात प्रदेशमध्ये मधेस प्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ । साथै केही जिल्लामा अधिवेशन हुन नसकेको पनि बुर्लाकोटीले बताए । अधिवेशन हुन नसकेका जिल्लाको अवस्था अध्ययन गरी थप निर्णय गरिने उनले जानकारी दिए ।
भड्किलो प्रचार गर्न नपाइने, विद्युतीय मतदान
रास्वपाको महाधिवेशन प्रतिनिधिहरुकै लागि ५ हजार र पर्यवेक्षकका लागि २ हजार थप गरि ७ हजार तोकिएको भनी धनीको पार्टी भनी आलोचना भइरहेको छ । केन्द्रको पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धेरै आकांक्षी हुने भएकाले चुनाव भड्किलो हुने आशंका छ । तर रास्वपाले निर्वाचन भड्किलो हुन नदिन आचारसंहित बनाएको छ ।
निर्वाचनअघि नै आवश्यकता भन्दा बढी प्रचारप्रसार भएको पाइएको भन्दै निर्वाचन आचारसंहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न पार्टी नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
महाधिवेशनमा विधुतीय भोटिङमार्र्फत मतदान हुने भएको छ । इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार इभिएमका लागि आवश्यक कोटेसन र सम्झौताको प्रक्रिया अघि बढिरहेको छ ।
