काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। रास्वपाले महाधिवेशनका सबै कामहरु पुरा गरेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन कार्य तीव्र गतिमा अघि बढिरहेको छ र अधिकांश काम सम्पन्न भएका छन्।
महामन्त्री बुर्लाकोटीले प्रतिनिधि दर्ता, पर्यवेक्षक व्यवस्थापन, आवास, सभाहल तयारी तथा अन्य प्राविधिक व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन्। उनका अनुसार महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिहरूको रजिस्ट्रेसन कार्य जारी छ भने पर्यवेक्षकहरूको व्यवस्थापनका लागि पनि आवश्यक समन्वय भइरहेको छ। यससँगै पार्टीको विधान संशोधन सम्बन्धी मस्यौदा तयार गर्ने कामसमेत भइरहेको छ।
उनले असार ४ गते बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र ऐतिहासिक बनाउन आवश्यक निर्देशन दिएको उल्लेख गर्दै अहिले पार्टीका शीर्ष नेताहरू चितवनमै केन्द्रित भएर तयारीमा जुटेको बताए। आज केन्द्रीय समितिको बैठकसमेत चितवनमा बसिरहेको छ, जहाँ महाधिवेशनसँग सम्बन्धित अन्तिम निर्णयहरू गरिने जनाइएको छ।
यस्तै, चितवनमै भएको अन्तिम केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै रास्पपा सभापति रवि लामिछानेले पार्टी दर्ता गर्दा नागरिकता समेत पाउन मुस्किल भएको स्मरण गरेका छन्।
चितवनमा महाधिवेशनको तयारीमा सक्रिय बनेको रास्वपाको महाधिवेशन प्रतिनिधिबाटै २ करोड बढि रकम संकलन भएको जनाइएको छ भने चितवनलाई रास्वपाले आफ्नो उद्गम थलोको रुपमा लिने गरेको छ। यहि कारण पनि पहिलो महाधिवेशन रास्वपाले चितवनमै गरिएको जनाएको छ।
यस्तै, रास्वपाको महाधिवेशनमा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह पनि आइतबार सहभागी हुन चितवन जाने कार्यक्रम रहेको जनाइएको छ । रास्वपाले विभिन्न दलहरुलाई महाधिवेशनका लागि आमन्त्रण समेत गरिसकेको छ । महाधिवेशनले केन्द्रीय समिति निर्माणदेखि विधानसम्म पारित गर्ने जनाइएको छ ।
