काठमाडौं । सरकार र विपक्षी दलबीचको घोचपेच चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरेको सय दिन पुग्नै लाग्दा सरकारमाथिको टिप्पणी चर्को गर्न थालेको देखिन्छ। यता, सत्तारुढ रास्वपाले भने संविधान, लोकतन्त्र र मुलुकको सार्वभौमसत्तामाथि कुनै सम्झौता नगर्ने भनिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरेको सय दिन पुग्न लाग्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहले संसदप्रति जवाफदेहीता नदेखाएको भन्दै प्रतिपक्षीले प्रश्न गरिरहेका छन्। यता सत्तारुढ दल र प्रधानमन्त्री शाहले भने सय दिन पुरा भएपछि रिपोर्टकार्ड नै लिएर जाने जिकिर आफ्नो पार्टीमा गर्दै आएको बताइन्छ। यस्तो स्थितिमा विपक्षीले भने रास्वपाको जनमतलाई एल्गोरिदमबाट प्राप्त अवस्थाको नतिजा भनिरहेको छ।
यता, नेपाली कांग्रेसले पनि सरकारको हनिमुन पिरियड सकिन लागेको र सरकारले जनताको पक्षमा पर्याप्त काम गर्न नसकेको भन्दै प्रभावकारी भूमिकामार्फत संसदमा आवाज उठाउने भनिरहेको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले समेत सरकारको सय दिन पुरा हुनै लाग्दा घोषणा गरिएका कामहरुमा केहिमा छलफल नै हुन नसकेको आरोप लगाइरहेको छ।
प्रतिपक्षी दलहरुले रास्वपाले जनताको पक्षमा काम नगरेको भन्दै आलोचना भने तीब्र पारेका छन्। यता, नेकपाका नेता वर्षमान पुनले भने विद्रोह गर्ने, जनताको पक्षमा आवाज उठाउनेलाई नै जनताले चुन्ने गरेको जिकिर गरेका छन्।
वैचारिकदेखि रास्वपाको राजनीतिक चरित्रमा प्रश्न धेरै नै उठ्न थालेपछि रास्वपा सभापति रवि लामिछानेले भने संविधान, गणतन्त्रमाथि कुनै सम्झौता नगर्ने जिकिर गरेका छन्।
राजनीतिक रुपमा पुराना र स्थापित दलहरुको अवस्था खुम्चिन पुगेको छ भने रास्वपाले जनमतको उभार नै पाएको देखिन्छ । तर, कतिपय रास्वपाकै सांसदहरुले सरकारको कार्यशैलीमाथि भने टिप्पणी गर्न थालेका छन्। सरकारले मध्यम वर्ग भन्दै गरिव तथा जनताको पक्षमा काम नगरेको भन्दै आलोचन भने शुरु भएको देखिन्छ।
