News 24 Television
विपक्षी दलप्रति वालेन्द्र  आक्रामक, सीमा विवादबारेको अभिव्यक्तिमा स्पष्टोक्ति !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियतामाथि शंका गर्न नहुने जिकिर गरेका छन्। देश निर्माण गर्ने बाटोमा अग्रसर बनेको दाबी गरेका वालेन्द्रले अख्तियारका पदाधिकारीलाई लिएर प्रधानमन्त्री कार्यालयमा सोधपुछ गरेको विषय समेत स्वीकार गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनमा जुटेको छ। चितवनमा जारी पहिलो महाधिवेशनका लागि चितवन पुगेका प्रधानमन्त्री वालेन्द्र शाहले रास्वपाको पहिलो महाधिवेशनलाई सार्वजनिक सम्बोधन समेत गरे। जसमा उनले पार्टी निर्माणका लागि गुट निर्माण गर्न नहुनेमा जोड दिए।

प्रधानमन्त्री वालेन्द्र शाहले आफुमाथि उठेका प्रश्नको जवाफ पनि दिए। प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिनेक्रममा वालेन्द्रले दिएको सीमासम्बन्धिको विवादास्पद अभिव्यक्तिलाई सच्याउने काम पनि गरे। संसदमा प्रष्ट ढंगले सीमावारे नेपालले पनि भारतको सीमा मिचेको दाबी गरेका थिए।

संसदमा दिएको यहि विवादास्पद अभिव्यक्तिलाई वालेन्द्रले चितवन पुगेर सच्याएका छन्। बेलायतलाई मध्यस्थता गर्न नभनेको दाबी गर्दै वालेन्द्रले लिपुलेक लिम्पियाधुरा नेपालकै भएको र ब्रिटिसबाट प्रमाण झिकाउने कुरा गरेको तर्क अघि सारे।

प्रष्टीकरण दिदै सीमा विवादमा आफ्नो राष्ट्रियताप्रति गरिएको शंकालाई समेत उनले गलत हुने जिकिर गरे। यतिमै नरोकिएका वालेन्द्रले शुभकामना दिन पुगेका अन्य दलका नेताहरुले राखेका आशंकामा समेत जवाफ दिए। 

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वालेन्द्रले ब्रेक भित्रि सडकमा लगाउनुपर्ने र एक्सप्रेस वेमा गन्तव्यमा पुगेपछि मात्रै लगाउने भन्दै तर्क गरे।

विपक्षीका प्रश्नमा सटिक जवाफ दिएका वालेन्द्रले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीको कार्यालयमा लिएर सोधपुछका साथै पक्राउ पुर्जी जारी गर्न लगाएको विषय पनि स्वीकार गरे।

अख्तियार संवैधानिक अंग हो। जसमा कार्यकारी निकायले यसरी सोधपुछ वा दबाब दिन सक्ने संवैधानिक प्रावधान छैन्। तर, उनले सगर्व देश निर्माण गर्ने बाटोमा रहेको भन्दै यसलाई पनि गौरवको विषयको रुपमा पेश गर्ने प्रयास गरे। यद्यपी संवैधानिक अंग राज्यका शक्ति सन्तुलन गर्ने दायित्व बोकेको निकाय समेत भएकाले यसरी सोधपुछ वा कुनैखाले दवाव दिन भने मिल्ने कानूनी प्रावधान देखिन्न। 

यसरी महाधिवेशनमा सम्बोधन गरेका वालेन्द्रले पार्टी निर्माण गर्ने, गुटबन्दी नगर्ने जस्ता विषयमा जोड दिदै  अब देश निर्माण गर्ने बाटोमा रास्वपा सरकार अघि बढेको र पार्टीको सबै तहमा जितहारलाई केन्द्र नबनाउन अपिल समेत गरे।

 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update