काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा जारी छ। उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन भने रास्वपाका नेताहरुले जवाफ फर्काएका छन् ।
राजनीतिक रुपमा निकै महत्वपूर्ण अवस्थामा चलिरहेको महाधिवेशनमा घोचपेच, तानातान र प्रतिउत्तरको अवस्था बन्न पुगेको छ। नेपालको राजनीतिक इतिहास, चलेका आन्दोलन र राजनीतिक संस्कारसहित धेरै कुरामा रास्वपा प्रतिबद्ध रहेको भन्दै रास्वपा सभापति रवि लामिछानेले सम्बोधनमा भने।
यसरी पहिलो महाधिवेशनमा साझा प्रतिबद्धता गर्नुपर्ने जिकिर गर्दै रवि लामिछानेले देश निर्माणको बाटोमा लाग्नुपर्नेमा समेत जोड दिए। तर, महाधिवेशनको सत्रमा सम्बोधन गर्न पुगेका अन्य राजनीतिक दलका नेताहरुले भने रोचक ढंगले आफ्ना विषयहरु पेश गरे।
रास्वपाको पहिलो महाधिवेशनलाई शुभकामना दिन पुगेका नेताहरुले आफ्ना धारणा राखे। जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटी सच्याउनुपर्नेमा जोड दिए।
शुभकामनासंगै राजनीतिक रुपमा समेत प्रहार भने भए। नेकपा एमाले र नेपाली कांग्रेसले शुभकामना मन्तव्यसहित तिखो प्रहार पनि गरे। एमालेले रास्वपाले प्राप्त गरेको जनमतलाई जर्मनीका शासक हिटलर र दक्षिण अफ्रिकाका नेल्सन मण्डेलासंग तुलना गर्दै सदूपयोग गर्नुपर्नेमा जोड दिए। यता, कांग्रेस सभापति गगन थापाले पनि रास्वपाको जनमतमाथि गर्व रहेको भन्दै नेतृत्वको देवत्वकरण गर्न नहुने जस्ता विषयमा जोड दिए।
शुभकामना दिदै गर्दा पूर्वप्रधानमन्त्रीको हैसियतमा पुगेका डा. बाबुराम भट्टराईले आफूलाई ललिपप दिएको आरोप लाग्ने गरेको विषयमा समेत प्रष्टीकरण दिए। यता, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पनि शुभकामना दिदै अघि बढे।
पहिलो महाधिवेशनको अवस्था, राजनीतिक बाटो, सरकारी कामदेखि धेरै विषय अघि बढ्दै गर्दा रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले विपक्षीलाई जवाफ दिए। सरकारले गलत नगर्ने प्रतिबद्धता व्यक्त गरे। सीमा विवादमा दिएको विषयमा समेत घुमारो शैलीमा माफी मागे।
वालेन्द्रले आन्तरिक एकताको विषयमा कुरा राखे। रास्वपामा चलेको लहर र अन्य विषयलाई मोड्ने प्रयास हुने भन्दै सभापति रवि लामिछानेले नेता कार्यकर्तालाई अपिल गरे। उसोतः रविले प्रधानमन्त्री पदबारे समेत प्रष्टीकरण दिएका छन् ।
रास्वपाले चितवनमा पहिलो महाधिवेशन गर्दैछ। महाधिवेशनले नेतृत्व चयनदेखि पार्टीको आगामी कार्यदिशासहित धेरै विषयमा निर्णय लिनेछ।
