काठमाडौं । स्थापनाको चार वर्षमै झण्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्वमा पुगेको रास्वपाले प्रथम महाधिवेशन शुरु भएको छ । विभिन्न राजनीतिक दबाब, मुद्दा र घेराबन्दीबीच पार्टी झन् सशक्त बनेर उदाएको दाबी गर्दै नेतृत्वले यसलाई वैकल्पिक राजनीतिको सफल यात्राको ऐतिहासिक मोडका रूपमा प्रस्तुत गरेको छ ।
यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘हुरीबीच बलेको दियो’का रूपमा विश्लेषण भइरहेको छ । स्थापनाको ४ वर्षमै दुइतिहाइ बहुमतसहित सरकारको नेतृत्वमा पुग्नु चानचुने हैन ।
यो नेपाली राजनीतिक इतिहासकै दुर्लभ घटना मानिएको छ । विगतमा एमाले–काँग्रेस गठबन्धनको सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि लगाएका अनेक मुद्दा र सिध्याउन खोजिएका प्रयासबीच रास्वपा झनै दरिलो भएर अपार जनमतका साथ उदायो । र, अहिले प्रथम महाधिवेशन धुमधामका साथ मनाइरहेछ ।
रविविरुद्ध संसदीय छानबिनको कडा अडान लिएका मुख्य प्रतिस्पर्धी गगन थापा (काँग्रेस सभापति) समेत रास्वपा उदयको प्रशंसा गर्दै महाधिवेशनमा सहभागी भएका छन् ।
विभिन्न उतारचढाप खेपेर छोटो समयमै राष्ट्रिय रुपमा उदाएको रास्वपा अहिले प्रथम ऐतिहासिक महाधिवेशनको चरणमा छ ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आइतबारदेखि सुरु महाधिवेशन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले घण्टी बजाएर उद्घाटन गरे ।
रविले बनाएको सांगठनिक आधारशिलामा बालेनको शक्तिशाली धार मिसिएपछि नै गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले दुईतिहाइ निकटको जनमत हासिल गरेको हो ।
रास्वपाका संस्थापक महामन्त्री एवं पार्टी स्थापनाका सूत्रधार मुकुल ढकालले समेत रास्वपाको साख गिर्दै गएको र आगामी निर्वाचनमा झनै खुम्चिने भन्दै पार्टी गलत लाइनमा रहेकाले सच्चिनुपर्ने कडा टिप्पणी गरेका थिए ।
उनको भविष्यवाणी गलत त भयो नै सोही कारण निष्काशित भएका ढकाल प्रथम महाधिवेशनमा उपेक्षित देखिए । पार्टी स्थापनाका बखत ५०० नागरिकता जुटाउन समेत मुस्किल भएको र हाल अभूतपूर्ण जनमत पाएको प्रसंग उनले उल्लेख गरेका छन् ।
रास्वपाका संस्थापक सदस्य दीपक बोहराले पार्टीले भोगेका राजनीतिक प्रतिशोध र संघर्षका कठिन दिनहरू स्मरण गरेका छन् ।
वैकल्पिक राजनीतिको यात्रामा चौतर्फी प्रहार हुँदा र सभापति लामिछानेविरुद्ध षड्यन्त्रपूर्वक प्रतिशोध साँधिँदा समेत मैदान नछाडी आफूहरुले न्यायका लागि ४० लाख हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेको लगायत संघर्ष उनले सम्झिएका छन् ।
स्थापनाको छोटो अवधिमै परम्परागत प्रमुख शक्तिहरूलाई चुनौती दिँदै यो उचाइमा पुग्नुलाई धेरै विश्लेषकहरूले नेपाली राजनीतिको ‘उथलपुथल’ का रूपमा रास्वपा उदयको घटनालाई हेर्ने गरेका छन् ।
रास्वपाको यो सफलतामा गत भदौ २३–२४ को जेनजी आन्दोलन निर्णायक बनिदियो । यद्यपि सत्तामा पुगेपछि रास्वपाले पनि जेनजी आन्दोलनको मर्म बिर्सन लागेको आरोप सुरु भएको छ ।
अभूतपूर्व उदय : संकटबाट शक्ति
स्थापनाको छोटो समयमै (२०७९ असारमा स्थापना भई २०८३ सम्म आइपुग्दा) दुई–तिहाइ बहुमतसहित सरकारको नेतृत्व सम्हाल्नु नेपाली संसदीय इतिहासमै पहिलो र दुर्लभ घटना हो । यसले पुराना दलहरूप्रतिको तीव्र असन्तुष्टि र नयाँ विकल्पप्रतिको जनताको तीव्र चाहनालाई प्रमाणित गर्छ ।
विगतमा सभापति लामिछानेमाथि लागेका राहदानी, नागरिकता र सहकारी ठगी सम्बन्धी मुद्दाहरूलाई पार्टीले राजनीतिक प्रतिशोधका रूपमा जनतामा लैजान सफल भयो ।
घेराबन्दीका बीच प्राप्त यो ‘अपार जनमत’ले रास्वपालाई एउटा पार्टी मात्र नभई राजनीतिक लहरका रूपमा स्थापित गरिदिएको छ ।
प्रथम महाधिवेशन : विचार र संगठनको परीक्षा
रास्वपाका लागि यो प्रथम महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र होइन, बरु यसको भविष्यको दिशा तय गर्ने कडी समेत हो । अहिलेसम्म रास्वपा मुख्यतया रवि लामिछानेको क्रेज र त्यसमा बालेन लगायतको ‘पपुलिस्ट’ एजेन्डाबाट उदय भएको हो ।
उसको कुनै विचार, सिद्धान्त र कार्यदिशा छैन । प्रथम महाधिवेशनले पार्टीलाई व्यक्ति–केन्द्रितबाट संस्था–केन्द्रित बनाउने जग बसाल्नुपर्ने चुनौती र अवसर दुवै दिएको छ । महाधिवेशनको मुख्य कार्यभार यसको वैचारिक धारलाई स्पष्ट रूपमा दस्तावेज गर्नु पनि हो ।
आगामी चुनौतीहरू
‘हुरीबीच बलेको दियो’ जस्तै रास्वपाले अनेक अप्ठेरा नाघेर सत्तामार्फत जनतालाई प्रकाश दिने ठाउँ त ओगट्यो, तर यसका आगामी चुनौतीका हुरीहरू पनि उत्तिकै तीव्र छन् ।
दुई–तिहाइको सरकारको नेतृत्व गरिरहँदा जनताका आशा र अपेक्षाहरू आकाशिएका छन् । सुशासन, रोजगारी सिर्जना र आर्थिक सुधारमा तुरुन्तै परिणाम नदेखाए यो जनमत निराशामा बदलिने खतरा उत्तिकै रहन्छ ।
केन्द्रमा बलियो लहर भए पनि तल्लो तह (वडा र पालिका) सम्म परम्परागत दलहरूको जस्तो संगठनात्मक सञ्जाल रास्वपासँग अझै परिपक्व भइसकेको छैन । जिल्ला र प्रदेश अधिवेशनका क्रममा त्यो झल्को देखिइसकेको छ ।
समग्रमा रास्वपाको यो सफलता नेपाली राजनीतिको रूपान्तरणको प्रतीक हो । घेराबन्दी र मुद्दाहरूका बीच झनै दरिलो हुनुले यसको प्रतिरोधी क्षमता वा समयको माग दर्शाउँछ ।
प्रथम महाधिवेशन रास्वपाका लागि एउटा ‘स्टार्ट–अप पार्टी’बाट परिपक्व र जिम्मेवार शासकीय शक्तिमा रूपान्तरण हुने ऐतिहासिक प्रस्थानविन्दु हो ।
