News 24 Television
मुगुको रहस्यमय धाम ओझेलमा

मुगु । मुगुको सोरु गाउँपालिका–३ स्थित भिई गाउँमा रहेको भिई गुरु देवता धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भए पनि पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय विश्वास अनुसार सरकारी निकाय वा अदालतबाट न्याय नपाएकाहरूले यहाँ आएर न्याय पाउने गरेका छन् । 

भिई गाउँमा गुरु देवताको साथै धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेका अन्य २ दर्जन भन्दा बढी देवी–देवताका मठ, मन्दिर, थान, चौतारा र धार्मिक स्थलहरू रहेका छन् । तर ती अझैपनि ओझेलमा छन् । 

ऐतिहासिक पृष्ठभूमि र जन विश्वास स्थानीय बूढापाकाहरूका अनुसार मुगुको भिई गाउँमा मानव बस्ती स्थापना हुँदाकै बखत गुरु देवता कैलाश मानसरोवर बाट आएर यहाँ बास बसेको विश्वास गरिन्छ । सातौँ शताब्दीमा स्थापना भएको यस देवतालाई विशेषगरी जग्गा–जमिन सम्बन्धी विवाद समाधान गर्ने माटोको धनी देवता मानिन्छ । हुम्ला, जुम्ला, कालिकोट, बाजुरा र बझाङसम्मका भक्तजन न्याय र मनोकामना पूरा हुने विश्वासका साथ यहाँ आउने गर्छन् ।

वैशाख र साउन पूर्णिमामा पूजा हुने भए पनि नवमी मेला यहाँको मुख्य आकर्षण हो । मेलामा हजारौँ भक्तजन सहभागी हुने गर्दछन् ।

प्रदेश, संघीय तथा स्थानीय सरकारको सहयोगमा मन्दिर, चौतारा र पदमार्ग निर्माणका काम भइरहेका छन् । यस क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न पहल भइरहेको छ ।

धार्मिक पर्यटनको विकाससँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी तथा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update