दोलखा । असार महिना लागेसँगै देशभर धान रोपाइँको चटारो बढिरहेको छ। तर, पानीको मुख्य स्रोत वर्षा र प्राकृतिक मुहानमा निर्भर दोलखाका अधिकांश किसान यो वर्ष समयमै रोपाइँ गर्न नसक्ने अवस्थामा पुगेका छन्। मौसमविद्हरूले पर्याप्त वर्षाको पूर्वानुमान गरे पनि खेतसम्म पानी नपुग्दा किसान चिन्तित बनेका छन् ।
असार महिना नेपाली किसानका लागि सबैभन्दा महत्वपूर्ण समय हो। यही समयलाई आधार मानेर किसानहरूले बीउ राख्छन्, खेताला मिलाउँछन्, रोपाइँको तयारी गर्छन् र वर्षभरिको अन्न उत्पादनको योजना बनाउँछन् । तर, यो वर्ष दोलखाका किसानको पानी नपर्दा रोपाई गर्न सकेका छैनन् ।
समयमै पानी नपर्दा रोपाइँका लागि तयार गरिएका खेतहरू अझै बाँझै छन् भने धेरै ठाउँमा कुलो र सिँचाइका स्रोतहरू समेत सुकेका छन्। किसानहरूले मौसमको पूर्वानुमानलाई विश्वास गर्दै समयमै धानको बीउ राखेका थिए ।
विगतका वर्षहरूमा पनि सुख्खा र अनियमित वर्षाका कारण उत्पादन घटेको थियो । जलवायु परिवर्तनको प्रभावसँगै मौसमको चक्र अनिश्चित बन्दै जाँदा खेतीपाती झन् जोखिममा पर्दै गएको कृषकहरूको भनाइ छ ।
कृषि क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार मानिए पनि दोलखाका धेरै गाउँमा अझै भरपर्दो सिँचाइ प्रणालीको पहुँच पुग्न सकेको छैन । वर्षौंदेखि किसानहरूले स्थायी सिँचाइ, मुहान संरक्षण र जलसञ्चय योजनाको माग गर्दै आएका छन्। तर समस्या भने उस्तै रहेको किसानहरूको गुनासो छ ।
असारको आधा समय बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाका किसानहरू आकाशतर्फ हेरेर पानीको प्रतीक्षा गरिरहेका छन्। समयमै पानी नपरे रोपाइँ मात्र होइन, यस वर्षको धान उत्पादनसमेत प्रभावित हुने निश्चित देखिन्छ ।
