काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ । मन्त्री तथा रास्वपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेटसम्बन्धी कार्यसूची प्रभावित बनेका छन् भने रास्वपामाथि नैतिक प्रश्न पनि उठ्न थालेको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
रास्वपा महाधिवेशनका कारण जनताको सर्वोच्च थलो संसद बैठक नै पटक पटक स्थागित हुँदा सत्तारुढ दल रास्वपामाथि नैतिक प्रश्न उठ्न थालिसकेका छन् ।
संसद बैठकमा के– के छलफल हुँदैछन् ?
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आगमी बैठक बस्दा निम्न महत्त्वपूर्ण विषयहरूमा छलफल र प्रस्तावहरू पेश हुनेछन् ।
प्रतिवेदन पेश : प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने ।
विधेयकहरू प्रस्तुत : विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक दर्ता गर्ने कार्यसूचीः
– सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३
– सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३
– सहकारी (पहिलो संशोधन) विधेयक, २०८३
– स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३
बजेट तथा आर्थिक विधेयकहरु : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निम्न प्रस्तावहरू पेश गर्ने कार्यसूची छन् ।
– आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल, प्राप्त संशोधनहरूमाथि निर्णय र विधेयक पारित गर्ने प्रस्ताव गर्ने ।
– राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफाबार छलफल, संशोधनहरूमाथि निर्णय र विधेयक पारित गर्ने प्रस्ताव गर्ने । तर प्रस्ताव पेश गर्ने मन्त्रीहरुनै पार्टीको महाधिवेशनका लागि चितवनमा रहेकाले संसद बैठक बस्न नसकेको हो ।
किन चितवनमा रुमलियो रास्वपा ?
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ३ दिनमै महाधिवेशन सक्ने भनेर असार ७ देखि ९ सम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । तर रास्वपाले नयाँ कमिटि सर्वसम्मत चयन गर्न नसक्दा निर्धारित समय तालिकाभन्दा दोब्बर बढी समय खर्चिएको छ । रास्वपाले केन्द्रीय कमिटि र पदाधिकारीहरुलाई सर्वसम्मत रुपमा चयन गर्ने प्रयास भरपुर गरेको थियो । तर पार्टी सभापति रवि लामिछाने र प्रधानमनत्री समेत रहेका वरिष्ठ नेता बालेन यो योजनामा असफल भए । केन्द्रीय कमिटिको निर्वाचन बुधबार नै भइसकेपनि पार्टी पदाधिकारीको निर्वाचन शुक्रबार मात्रै सम्पन्न भएको छ ।
केन्द्रीय कमिटिको निर्वाचन पछि पदाधिकारी चयन सर्वसम्मत रुपमै गर्ने ठूलै प्रयास भएपनि सभापति रवि लामिछाने असफल भएपछि अन्तिम समयमा आएर पदाधिकारीमा पनि निर्वाचन भएको छ ।
पार्टी एक ढिक्का देखाउनलाई रविले सुरुमै कुनै निर्वाचन नगराउने भरपुर प्रयास गरेका थिए । तर यसमा रवि कतिपनि सफल भएका देखिँदैनन् । यहीकारण लम्बिएको महाधिवेशननले प्रतिनिधिसभा बैठक नै पटक पटक स्थगित हुन पुगेको छ । तर एक पार्टीकै महाधिवेशनका कारण जनताको सार्वभौम थलो संसदलाई नै पटक पटक स्थगित गरिनु जिम्मेवार राजनीतिक दलका लागि जायज हुने देखिँदैन ।
