News 24 Television
गृहमन्त्रीलाई जोडेर सुकुम्बासीको पक्षमा संसदमा आवाज, सडकमा पनि प्रदर्शन किन ?

काठमाडौं । सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट सरकारले हटाउने भन्दै सूचना जारी गरेपछि देशभर रहेका सुकुम्बासीहरु त्रासमा देखिन्छन्। सुकुम्बासी समस्या समाधानका लागि सरकारले उचित पहल गर्ने जिकिर गरेपनि होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको व्यवस्थापन कसरी हुन्छ भन्ने चासो थप बढेको देखिन्छ।

होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै शुक्रवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरिएको छ।

वर्षातको समयमा सुकुम्बासीलाई सरकारले वासस्थानको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णय लिएपछि यो निर्णयको विरोध, आलोचना र चर्चा भइरहेको छ। सरकारले सुकुम्बासी समस्या समाधानमा तल्लिन रहेको जवाफ दिएपनि सेन्टरबाट बाहिरिन भन्दै सूचना जारी गरेपछि तनाव बढेको देखिन्छ। यस्तै, काठमाडौं उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनःस्थापना नगरी सेन्टर छाड्न निर्देशन दिइएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको छ । 

प्रदर्शनका क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरेपनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाए ।

यस्तै, राष्ट्रियसभामा समेत सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरबाट हटाउने भन्दै जारी गरेको सूचनाविरुद्ध आवाज उठेको छ। गृहमन्त्री सुधन गुरुङसंग जोड्दै राष्ट्रियसभामा प्रश्न उठाइएको छ।

विपक्षी दलहरुले सुकुम्बासीको व्यवस्थान गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन्। यता, होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरु समेत सरकारी निर्णयपछि तनावमा देखिन्छन्। 

सरकारले २५ हजार रकम दिएर आफ्नो व्यवस्थापन गर्न भनेको छ। यो समय सरकारले एक हप्तालाई सारेको छ। तर, वर्षातको समय शुरु भएको, कोठा भाडा पाउन मुस्किल हुने जस्ता विभिन्न विषय उठाउदै उनीहरुले सरकाले व्यवस्थापन नगरे पुरानै ठाउँमा फर्किने चेतावनी समेत दिइरहेका छन्। तर, सकारले वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने र लालपुर्जा दिने भन्दै आएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार सूचना जारी गर्दै १९ असारसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ । 

गत वैशाखमा उपत्यकाभित्रका नदीकिनारका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो ।

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update