News 24 Television
केपी खनाल फेरि चर्चामा, कर्मचारी महोदयले रंगियो सामाजिक सञ्जाल !

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद केपी खनालले आफ्नो निर्वाचन क्षेत्रका समस्या उठाइरहेका बेला सभामुखलाई सम्बोधन गर्न खोज्दा जिब्रो चिप्लिएर कर्मचारी महोदय भनेपछि अहिले उनलाई सामाजिक सञ्जालमा उडाउन थालिएको छ । 

सभामुखले माइक काटेपछि अलमलमा परेका खनालको हाउभाउ र उनले कर्मचारी महोदय भनेको वाक्य अहिले चर्चा र व्यंग्यको विषय बनेको छ । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद केपी खनाल बोल्दाबोल्दै रोकिनु प¥यो । आफ्नो निर्वाचन क्षेत्रका समस्या उठाइरहेका बेला उनले सभामुख महोदय भन्न खोज्दा जिब्रो चिप्लिएर कर्मचारी महोदय भने । त्यसलगत्तै सभामुखले उनको माइक काटे । त्यसपछि खनालको अभिव्यक्ति रोकियो । उनी आफै पनि अलमलमा परेजस्तो देखिए । 

संसदभित्र यस्ता घटना नौला होइनन् । लामो सम्बोधनका क्रममा अलिखित सम्बोधनका क्रममा शब्द चिप्लिनु सामान्य मानवीय त्रुटि मानिन्छ । तर संसद् जस्तो औपचारिक र संवेदनशील मञ्चमा संसदको सर्वोच्च व्यक्तिलाई नै गरिएकको सम्बोधनकै शब्द बिग्रँदा त्यसले व्यंग्य र चर्चा भने स्वतः जन्माइदिन्छ । 

कतिपयले यसलाई अनुभवको कमीको संकेत भनेका छन् भने कतिपयले जिब्रोको आफ्नै लोकतन्त्र भन्दै सांसद खनाललाई सामाजिक सञ्जालमा उडाइरहेका छन् । 

सांसद खनाल र विवाद !

केपी खनाल यसअघि पनि विवादमा परेका थिए । रासायनिक मलको विषयमा एआईमार्फत लिइएको विषयवस्तु बोल्दा उनी विवादमा परेका थिए । संसदमा बोल्ने विषयवस्तुका लागि बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले त्यसो नगर्न रास्वपा सांसदहरुलाई सचेत समेत गराएकी थिइन् । सांसद खनाल छात्रवृत्ति दुरुपयोग आरोपमा समेत मुछिएका छन् । 

उनले पालिकासँग समन्वय नगरी नीजि विद्यालयसँग सिधै सहकार्य गरेर ५५ विद्यार्थीलाई एमपी स्कलरसिप प्रोग्राम अन्तर्गत छात्रवृत्ति दिने तयारी गरेको आरोप लागेको थियो । 

त्यसो त सांसद खनालमाथि करछलीको आरोपमा उजुरी समेत परेको छ । खनाल र प्रधानमन्त्री बालेन्द्र शाहका मुख्यसचिव सुवास शर्माको काठमाडौँको शंखमुलमा सञ्चालनमा रहेको चियादानीले ७ करोड रुपैयाँभन्दा बढिको कारोबार लुकाएर ७५ लाख रुपैयाँभन्दा बढि करछली गरेको भन्दै नयाँ बानेश्वरस्थिति आन्तरिक राजश्व कार्यालयमा उजुरी परेको थियो । 

को हुन् केपी खनाल ? 

रास्वपा सांसद २६ वर्षीय केपी खनाल कैलाली–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । अछाममा जन्मिएका उनी सानैदेखि सामाजिक अभियानमा सक्रिय थिए । ‘क्लिन काष्ठमण्डप’, अनाथ बालबालिकाका लागि बालगृह निर्माण तथा कोभिडकालीन राहत अभियानमार्फत उनी चर्चित बने । 

समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका खनालले शिक्षा, स्वास्थ्य, युवा रोजगारी र सुदूरपश्चिमको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दैछन् ।

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update