काठमाडौं । मदन भण्डारी फाउन्डेसनले चार पूर्वप्रधानमन्त्रीलाई एकै मञ्चमा उभ्यायो। केपी ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले एकै मञ्चबाट एकता, सहकार्य र मोर्चाबन्दीको सार्वजनिक आह्वान गरे। तर किन उनीहरु यस्तो स्थितिमा आइपुगे? एकता, विग्रह र फेरि एकतामा किन नेताहरुको चासो बढ्यो ? तथ्यहरुले रोचक विषय संकेत गरिरहेका छन्।
मादन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमाआयोजित कार्यक्रममा चार पूर्वप्रधानमन्त्रीहरु केपी ओली, पुष्पकमल दाहाल ’प्रचण्ड’, माधव नेपाल र झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अथिति स्वीकार गर्दै एकता, मोर्चाबन्दी र सहकार्यको सार्वजनिक प्रस्ताव राखे ।
चारै पूर्वप्रधानमन्त्रीहरुले एकता, सहकार्य र मोर्चाबन्दीको आह्वानलाई आधार बनाएको विषय हो, राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार ।
अहिलेको सरकारले गम्भीर प्रतिगमन नै गर्न लागेको उनीहरुको आरोप देखिन्छ। तर, यसअघिको एकता, त्यसपछिको फूट र अबको एकता दिगो हुनेभन्दापनि उनीहरु सहकार्यको मुडमा देखिन्छन्। लोकतन्त्रमा लोकतान्त्रिक शक्तिले नै मोर्चाबन्दी गर्नुपर्ने आसय उनीहरुको देखिन्छ। पार्टी विभाजन गर्ने र गराउने प्रयास चल्ने भन्दै एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो वैधता पुष्टी गर्न पार्टी विभाजनका प्रयास गरिएपनि सम्भव नहुने जिकिर नै गरे ।
वामपन्थी एकताको पूर्वसन्ध्यामा देखिएका नेताहरु किन यसरि नजिक पुग्ने स्थिति बन्यो ?
नेकपा एमाले
नेकपा एमाले सरकारी कदमका कारण संकटतर्फ देखिन्छ। सरकारले अनेक विषयमा पक्राउ गर्न थालेपछि संकट व्यहोर्न पुगेको एमालेले अबका दिन सहज नहुने ठानेरै मोर्चाबन्दी, सहकार्यको प्रस्तावलाई सार्वजनिक रुपमा अघि बढाएको देखिन्छ। यता, नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी ओलीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगले कारबाही गर्न कानून निर्माण गर्नु भन्दै दिएको प्रतिवेदनले पनि नयाँ मोड लिएको देखिन्छ। यतिमात्रै नभई एमाले उपाध्यक्ष विष्णु पौडेल समेत पक्राउ परेका छन्। यसरी हेर्दा एमालेभित्रको आन्तरिक राजनीतिमा तरङ्ग पैदा भएको छ भने विगतका विभिन्न प्रकरणमा नेताहरु पक्राउ पर्नसक्ने स्थिति देखिन्छ। जसकारण शक्ति सञ्चय गर्दै एमालेले सरकारको प्रतिवाद गर्ने बाटो रोज्न खोजेको देखिन्छ ।
नेकपा
नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका प्रचण्ड माधव पनि सरकारी कदमबाट हैरान देखिन्छन्। उनीहरुले वामपन्थी एकतालाई समेत एकरुपता दिन सक्ने अवस्था देखिन्न। अहिले नै एकता हुन्छ भन्ने प्रश्नले दिक्दार बनेको भनेका माधव नेपालले सहकार्य, एकता सम्भावना नभएको विषय भन्दै नयाँ अनुहारले पहल लिनुपर्ने भने। तर, प्रचण्ड ढिला गर्दा संकट नजिकै आएको भनिरहेका छन्।
यसमा किन हतारो ? धेरैले सोध्ने प्रश्नको रुपमा समेत यो विषय देखिन्छ। तर, केहिले प्रचण्डले एमालेसंगको एकतालाई अघि बढाउन सकेमा उनी प्रमुख प्रतिपक्षी दलको नेता बन्ने बाटो खुला हुने ठान्छन्।
एमाले र नेकपाको सांसदको संख्या जोड्दा नेपाली कांग्रेसभन्दा धेरै हुने भएकाले प्रचण्डले शक्ति सञ्चय गर्नका लागि नै यस्तो विषय अघि सारेको कतिपयले आशंका गरिरहेका छन्। तर, नेताहरुले भने नेपालमा वामपन्थी आन्दोलन नै संकटमा परेको महशुस पनि गरिरहेका कारण एकता, आन्तरिक सहकार्य र मोर्चाबन्दी अघि बढ्ने सम्भावना बढेको बताउन थालिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चासो
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संक्रमणकालीन नेतृत्वको रुपमा अघि सार्न खोजिएकी पात्र हुन्। उनलाई केहि वामपन्थी शक्तिहरुले पनि अघि सार्न खोजेको देखिन्छ। तर, नेपालमा उनको स्वीकार्यताको सवाल पेचिलो बन्दा केहि समय एमालेको सदस्यता प्राप्त गर्ने विषय नै कठिन बन्न पुग्यो।
जसोतसो सदस्यता दिने निर्णय गरेपनि एमालेले उनलाई अझैं पनि औपचारिक रुपमा अघि बढाइसकेको देखिन्न। यस्तोमा चार पूर्वप्रधानमन्त्रीलाई एकै मञ्चमा उभ्याउन सफल भण्डारी मदन भण्डारीको विचारकै आधारमा अघि बढ्न खोज्दैछिन्।
भण्डारीले अब हुने वामपन्थी एकता वा सहकार्यमा आफूलाई केन्द्र भागमा राख्ने प्रयासमा देखिन्छिन्। यसरी नेताहरुले आ–आफ्ना विषयलाई केन्द्रमा राख्दा यस्ता गतिविधिहरु भने बढ्ने संकेत देखिन थालेका छन्।
