News 24 Television
मिल्नैपर्ने दवाबमा ओली प्रचण्ड, तर हुन सकेन समझदारी !

काठमाडौँ । जेनजी आन्दोलनपछि प्रमुख टार्गेटमा परेका पुराना दलहरु फागुन २१ को निर्वाचनमा नराम्रोसँग पराजित भए । त्यसमा पनि सबैभन्दा ठूलो पराजय कम्युनिष्ट पार्टीहरुले भोगेका छन् । अघिल्लो निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेकपा एमाले र तेस्रो ठूलो दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अहिले क्रमश तेस्रो र चौँथो स्थानमा झरे । यो पराजयपछि कम्युनिष्ट धारका यी ठूला दलहरुबीच एकताको चर्चा चलेको छ । कोही निर्वाचनअघि नै एकता गरेको भए कम्तिमा १०० सिट जित्न सकिने विश्लेषण गर्न थालेका छन्, भने केही नेताहरु अब मुलुकको राष्ट्रियता र स्वाधिनता नै संकटमा परेको भन्दै न्यूनतम समझदारीमा एक हुनुपर्ने अभिव्यक्ति दिन थालेका छन् ।

निर्वाचन परिणाम र हालको परिस्थिति अनुसार सबैभन्दा मिल्नै पर्ने बाध्यात्मक अवस्था नेकपा एमाले र नेकपा नै देखिन्छन् । यी दलहरुबीच फेरी एकता र सहककार्यको चर्चा पछिल्लो समय नभएको भने होइन । तर यी पार्टीका नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकताको आधार तय हुन सकेन । प्रचण्डले यही असार १२ गते विराटनगरमा आयोजित प्रदेश स्तरिय भेलामा एमालेसँग एकता हुनै लागेकोजसरी कार्यकर्तालाई ब्रिफिङ गरे । यसको केही दिमै काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको स्मृति दिवसमा अयोजित कार्यक्रममा सहभागी भएर प्रचण्डले अब कम्युनिष्टहरुको एकता अपरिहार्य भएको औँल्याए । 

तर प्रचण्डको यो अभिव्यक्ति एक साता पनि टिकेन । उनै प्रचण्डले कास्कीमा पुगेर गम्भीर समीक्षा र ग्यारेन्टीविन एमालेसँग एकता हुन नसक्ने बताए । त्यस्तै असार १५ गते केन्द्रीय कमिटिको भर्चुअल बैठकमा प्रचण्डले नेताहरुलाई एकता नभइ सहकार्य गर्ने विषय मात्रै उठान गरेको भनेर नेताहरुलाई ब्रिफिङ गरेका थिए । यो आधारले पनि प्रचण्डको आफ्नै बोलीमा भर देखिएन ।  

ओलीले पनि भने– ‘एकताको भ्रममा नपर्नु’

प्रचण्डले केही दिनको अन्तरालमै एकता र सहकार्यको चर्चा उत्कर्षमा पु¥याएपछि एमाले पक्ष पनि संयमित भएको थियो । जननेता मदन भण्डारीको स्मृति दिवसको कार्यक्रममै एमाले अध्यक्ष ओलीले तत्काललाई पार्टी एकता नगर्ने संकेत गरेका थिए, भने पछि अन्य नेताहरु शंकर पोखरेल र गोकुल बाँस्कोटाले पनि तत्काल पार्टी एकता गर्न नहुने धारणा सार्वजनिक गरे । यहीबीच असार १६ गते च्यासलमा बसेको प्रदेशस्तरिय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन पराशर्म कार्यक्रममा ओलीले नेताहरुलाई एकताको भ्रममा नपर्न आग्रह गरेक थिए । नेताहरुलाई ओली र प्रचण्डले उहीखाले ब्रिफिङ गरेसँगै कम्युनिष्ट पार्टीको एकताको बहस अहिलेलाई समाप्त भएको छ । 

किन मिल्दैनन् ओली–प्रचण्ड ?

कुनै पनि एकता र समझदारी नेतृत्वको स्वार्थबाटै प्रेरित हुन्छ । तर हाल ओली र प्रचण्डको एकता भएपनि कुनै सत्ता र ठूलै पदको लाभ मिल्ने अवस्था छैन । सम्भवतः मिलेको अवस्थामा नेकपा संसदमा दोस्रो ठूलो पार्टीसहित प्रमुख प्रतिपक्षी दल बन्ने अवस्था छ । तर यी दुई पार्टीको मिलनले सत्ताको नेतृत्व नै गर्ने स्थिति भने बन्दैन । यस्तोमा प्रतिनिधिसभा सदस्यमै पराजित भएका केपी ओली प्रचण्डसँग मिल्नसक्ने अवस्था छैन । 

अर्कोतर्फ ओली पार्टी अध्यक्ष भएर प्रचण्ड संसदको नेता बन्ने सम्भावना भने रहन्छ । तर ओली यही विन्दूबाट अध्यक्ष चयन हुनसक्ने आधार बलियो छैन । किनकी एमाले नेताहरुले नै हाल नेतृत्वमा उनको विकल्प खोजिनुपर्ने माग राख्दै आएका छन् । अर्कोतर्फ दुवै दलका दोस्रो तहका नेताहरु पनि विगतमा ओली र प्रचण्डकै व्यक्तिगत टकराबका कारण पार्टी विभाजन भएको निश्कर्षमा छन् । यहीबीचमा फेरी हतारमा एकता गरेर तत्काल पार्र्टी विभाजनको कथा दोहो¥याउने पक्षमा उनीहरु देखिएका छैनन् । 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update