News 24 Television
आर्चरी अर्थात तारा हान्ने खेल, थकालीको पहिचानः संरक्षण आवश्यकक

म्याग्दी । आर्चरी भनेर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिने खेल नेपालको थकाली समुदायका लागि तारा हान्ने खेल भनेर खेलिन्छ। यो समूदायका लागि प्रतियोगिता जित्ने वा हार्ने विषय मात्र होइन । यो सामाजिक सम्बन्ध बलियो बनाउने माध्यम पनि हो । यो परम्परा पुस्तौँदेखि निरन्तर चलिरहेको छ । एक रिपोर्ट ।।
हातमा धनुष, काँधमा बाँण, आँखा लक्ष्यमा केन्द्रित । केही क्षणको मौनता । त्यसपछि धनुषको डोरीबाट छुटेको तीर हावालाई चिर्दै अघि बढ्छ र सीधै लक्ष्यको केन्द्रमा पुगेर ठोक्किन्छ । 

मैदानमा उपस्थित दर्शकको ताली र खुसीको आवाजसँगै निशाना हान्ने खेलाडीको अनुहारमा मुस्कान फैलिन्छ । यो दृश्य आधुनिक खेल मैदानको मात्र होइन, नेपालको हिमाली सभ्यताको हजारौँ वर्ष पुरानो इतिहास बोकेको एउटा सांस्कृतिक परम्पराको पनि जीवन्त अभिव्यक्ति हो । विश्वमा यो खेल आर्चरीका रूपमा परिचित छ ।  

ओलम्पिकदेखि विश्व च्याम्पियनसिपसम्म पुगिसकेको यो खेल आधुनिक उपकरण, वैज्ञानिक प्रशिक्षण र अत्याधुनिक प्रविधिसँग जोडिएको छ । तर नेपालको सन्दर्भमा, विशेषगरी मुस्ताङको थाकखोला क्षेत्रबाट विकसित भएको थकाली समुदायका लागि यो केवल खेल होइन, यो पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा, सामाजिक सम्बन्धको आधार र पुर्खाको जीवनशैलीको स्मरण हो । यही कारण थकाली समुदायमा यसलाई प्रेमपूर्वक ‘तारा हान्ने’ भनिन्छ । तारा हान्ने खेलमा केही विशेष प्राविधिक शब्दहरू पुस्तौँदेखि प्रयोग हुँदै आएका छन् । 

तीमध्ये सबैभन्दा प्रतिष्ठित उपलब्धि मानिन्छ ‘तिप्लु खोल’ । खेलको नियमअनुसार एक खेलाडीले एउटै पालोमा दुई वटा तीर प्रहार गर्छ । ती दुवै तीर लक्ष्यको मुख्य केन्द्र लागे त्यसलाई ‘तिप्लु खोल’ भनिन्छ । हालै थकाली सेवा समितिको प्राङ्गणमा भएको अभ्यास तथा प्रतिस्पर्धाका क्रममा तिप्लु खोल प्रहार भएको थियो । म्याग्दीमा तिप्लु खोल हान्ने खेलाडीले आफ्नो खेल जिवनको १८ वर्षपछि फेरि दुवै तीर लक्ष्यको मुख्य केन्द्रमा लगाउन सफल भएका हुन् । 

थकाली समुदायका लागि तारा हान्ने प्रतियोगिता जित्ने वा हार्ने विषय मात्र होइन । यो सामाजिक सम्बन्ध बलियो बनाउने माध्यम पनि हो । तारा हान्ने परम्परा खेलकुदभन्दा धेरै माथि रहेको सांस्कृतिक अभ्यास हो । 

तारा हान्नेको वास्तविक इतिहास मानव जीवनसँग प्रत्यक्ष जोडिएको छ । पहिले मानिसले जीविकोपार्जनका लागि शिकार खेल्थे । त्यो समयमा धनुषबाँड अत्यावश्यक सीप थियो । मानव सभ्यताको विकाससँगै यसको उद्देश्य फेरिएको भए पनि यसको महत्व घटेको छैन । अहिले तारा हान्नेले नयाँ पुस्तालाई आफ्नो इतिहास बुझाउने माध्यमको भूमिका पनि निर्वाह गरिरहेको छ ।

यो परम्परा बचाउन सबै पुस्ताको सहभागिता आवश्यक छ । विश्व आर्चरी महासंघले सञ्चालन गर्ने प्रतियोगितामा प्रयोग हुने धनुष, तीर, लक्ष्य र नियम आधुनिक प्रविधिमा आधारित छन् । तर थकाली समुदायले अभ्यास गर्ने तारा हान्नेमा स्थानीय परम्परा, आफ्नै शब्दावली, सांस्कृतिक विधि र सामुदायिक सहभागितालाई केन्द्रमा राखिएको हुन्छ ।

नेपालमा धेरै मौलिक खेलहरू आधुनिकताको प्रभावसँगै लोप हुने अवस्थामा पुगेका छन्। तारा हान्ने पनि संरक्षण र अभिलेखीकरणको अभावमा भविष्यमा कमजोर बन्न सक्ने सम्भावना रहेको संस्कृतिविद्हरू बताउँछन्। यसलाई विद्यालयस्तरको अतिरिक्त क्रियाकलाप, स्थानीय खेलकुद महोत्सव, सांस्कृतिक पर्यटन र अनुसन्धानसँग जोड्न सके यो केवल एउटा खेलका रूपमा सीमित नभइ  नेपालको अमूर्त सांस्कृतिक सम्पदाको महत्वपूर्ण पहिचानका रूपमा स्थापित हुन सक्छ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update