News 24 Television
लुम्बिनी प्रदेशको ३७ अर्ब ३८ करोडको बजेट पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट बहुमतले पारित गरेको छ । विपक्षीको आलोचना र सत्तापक्षकै असन्तुष्टिबीच सरकारले सुधारको प्रतिबद्धता जनाएको छ । 

लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३\०८४ को ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट बहुमतले पारित गरेको छ । आठौं अधिवेशनअन्तर्गत बुधबार बसेको १७औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गरेको विनियोजन विधेयक सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको घोषणा गरे । 

बजेटमा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । असार १ गते प्रस्तुत बजेटमाथि विवादपछि असार २१ गतेदेखि मात्रै नियमित छलफल भएको थियो । 

छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महराले बजेट र सरकार दुवै राजनीतिक तथा सैद्धान्तिक रूपमा असफल भएको आरोप लगाए भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले क्षेत्रगतभन्दा प्रदेशको समग्र विकासमा ध्यान दिन आग्रह गरे ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बजेटका सकारात्मक पक्ष ओझेलमा पारेर विरोध गरिएको दाबी गरे भने केही कमजोरी स्वीकार गर्दै सुधार्ने बताएका छन् ।  

बैठकमा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले थारु समुदायका प्रथाजनित परम्पराको संरक्षणसम्बन्धी विधेयकको प्रतिवेदन पनि पेश गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update