काठमाडौं । मन्त्रिपरिषद् बैठकले लामो समयदेखि अल्झिएको कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा अघि बढाउन दिने गरि निर्णय गरेको छ। लामो समय राजनीतिक विषय बनेको गेटा अब शिक्षण अस्पतालको रुपमा अघि बढ्नेछ। यस्तै सरकारले मुख्यसचिवमा समेत गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
लामो समयदेखि राजनीतिक तानातानको विषय बनेको गेटा केहि समय खण्डहर जस्तै बन्न पुगेको थियो। सुदूरपश्चिम प्रदेशको गेटा त्यो क्षेत्रको स्वास्थ्य हबको रुपमा अघि बढ्ने विश्वास गरिएपनि अघिल्ला सरकारले यसलाई राजनीतिक विषय बनाउदा अघि बढ्न सकेको थिएन्। क्रमश अस्पतालको रुपमा कार्यसम्पादनमा जुटेको गेटाले भने अब शिक्षण अस्पतालको रुपमा काम गर्नेछ । यस्तै, सरकारले मुख्यसचिवको नियुक्ति समेत गरेको छ। मुख्यसचिव सुमनराज अर्याल यहि असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
उसोतः बुधबारको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको छ। जसमा मन्त्रिपरिषद्का निर्णयहरु यस्ता छन्।
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने ।
२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।
३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत गर्ने।
४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गर्ने ।
५.कारागार नियमावलीः ’कारागार नियमावली, २०८३’ स्वीकृत गर्ने ।
६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने ।
७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने ।
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने ।
बुधबारको मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। मुख्यसचिव पद सरकारको प्रमुख प्रशासनिक निर्णयकर्ता समेत हुने भएकाले यो पद सरकारले आफू अनुकुलको निर्णय गर्ने गरेको बताइन्छ। उसोतः कार्कीभन्दा सिनियर सचिवहरु छुटेपछि केहिले वरियता मिचेको भन्दै आलोचना समेत गरेका छन्।
