काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाए्र अमेरिका लैजाने षडयन्त्रमा जिल्ला अदालत काठमाडौंले १६ जनालाई दोषी ठहर गरेको छ। दोषी ठहर गर्दै फैसला गरेको अदालतले उनीहरुविरुद्ध सजाय तोक्नका लागि असार २९ मा इजलास समेत तोकेको छ। यो प्रकरणमा प्रमुख योजनाकारहरु को हुन ? पूर्वमन्त्रीहरुको हकमा के भन्यो? यी विषय सर्वाधिक चासोमा छन्।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारको रुपमा केशव प्रसाद दुलाल र सानु भण्डारीलाई ठहर गरेको छ । दुलाल र भण्डारीले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिकालैजान राज्य शक्तिको दुरुपयोग गज्जबले गरेको र यो कामका लागि पूर्वमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका तत्कालीन सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ’बादल’का सल्लाहकार इन्द्रजित राई लगायतका हाइप्रोफाइलहरु दोषी ठहर गरिएका हुन्।
यसमा पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता वालकरष्ण खाँण पनि मतियारको रुपमा दोषी ठहर भएका छन भने उनले राज्यविरुद्धको कसुर गरेको समेत अदालतको ठहर छ। दुलाल र भण्डारीले सबै योजना निर्माण गरेको अदालतको ठहर छ।
उनीहरुले नेपालीलाई कसरी शरणार्थी बनाएर अमेरिका लैजान सकिन्छ भन्ने विस्तृत योजना निर्माणदेखि राज्यको माथिल्लो तहसम्म सम्पर्क स्थापित गर्न के–के गर्न सकिन्छ भन्ने सबै काम गरेको अदालतको ठहर देखिन्छ। जसलाई राजनीतिक र प्रशासनिक रुपमा सहयोग गर्ने काम रायमाझी, पाण्डे र राईले गरेको अदालतको ठहर देखिन्छ।
रायमाझीले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई समेत दुलाल र भण्डारीलाई भेट गराएको र राजनीतिक रुपमा निश्चित पार्नका निम्ति काम गरेको देखिन्छ। तर, प्रचण्डले आफु व्यस्त रहेकाले रायमाझीसंगै सम्पर्क गर्नु भनेको हुनाले पनि रायमाझीलाई दोषी ठहर गर्ने आधार मानिएको छ। दोषी ठहर भएकाहरुविरुद्ध सजाय निर्धारण गर्नका लागि असार २९ गते अर्को इजलास बस्नेछ।
यहि इजलासबाट नै सजाय निर्धारण हुनेछ। टोपबहाददुर रायमाझी र टेकनारायण पाण्डेविरुद्ध राज्यविरुद्धको कसुर र एकीकृत कसुर, संगठित अपराध तथा ठगीको कसुरमा समेत दोषी ठहर गरिएको छ। रायमाझीविरुद्ध सरकारी कागजात किर्तेमा भने सफाई दिने फैसला भएको छ। यस्तै, वालकृष्ण खाँण भने मतियारको रुपमा दोषी ठहर भएका छन्।
को–को दोषी ठहर भए ?
टोपबहादुर रायमाझी, वालकृष्ण खाँण, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल दोषी ठहर भएका हुन्।
जसमध्ये रायमाझी एमालेका पूर्वसचिव तथा उपप्रधानमन्त्री बनिसकेका पात्र हुन भने खाँण नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री हुन्।
यस्तै, पाण्डे पूर्वगृहसचिव र दुलाल पेशाले कानून व्यवसायी भएको बताइन्छ। इन्द्रजित बादलका सल्लाहकार भने नरेन्द्र केसी खाँणका स्वकिय सचिव थिए।
सफाई पाउने को–को ?
यो प्रकरणमा टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा ’बादल’का छोरा प्रतिक थापाले सफाई पाएका छन्। उनीसंगै रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।
वेचन झा को हकमा के भयो ?
जिल्ला अदालतले वेचन झा को हकमा ठगीसम्बन्धि कसुरमा दोषी ठहर गर्ने फैसला गरेको छ। झाले रामशरण केसीबाट २ करोडको चेक लिएको र चेक सटही नभएको भन्ने पत्रका आधारमा ठगीसम्बन्धि कसुरमा दोषी ठहर गरिएको फैसलामा उल्लेख छ। उसोतः केसीलाई अदालतले सफाई दिने फैसला गरेको छ। यस्तै झा को हकमा सरकारी लिखत किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा भने दाबी नपुग्ने भनिएको छ।
फैसलामा भनिएको छ ’प्रतिवादी बेचन झाले अर्को लगाउको ०७९–०१–२२७१ को मुद्दाका प्रतिवादी रामशरण के.सी.बाट २ करोडको चेक बुझि लिएको भन्ने देखिएको र उक्त चेकको रकम भुक्तानीको लागि बैंकमा पेश हुँदा खातामा पर्याप्त मौज्दात नरहेको कारण चेक सटही हुन नसकेको भन्ने कुरा पत्रबाट समेत देखिंदा निजले ठगी सम्बन्धी कसूरको उद्योगको कसूर गरेको ठहर्छ ।
सो बाहेक निजले सरकारी लिखत किर्ते, संगठित अपराध, राज्य विरुद्धको कसूर तथा एकिकृत कसूर गरेको भन्ने तर्फको वादी नेपाल सरकारको अभियोग दावी पुग्न नसक्ने ठहर्छ।’ भारतीय नागरिक रहेका झा नेपालमा विवाहपश्वात विभिन्न क्षेत्रमा सक्रिय रहेको बताइन्छ।
उनी आरजु राणाका भाई भुषण राणासंग राम्रो सम्बन्ध रहेका व्यक्तिमा पर्छन्। झाले तत्कालीन गृहमन्त्री वालकृष्ण खाणसंगको समन्वय गरेको र यसमा पूर्वगृहसचिव पाण्डेले पनि मिलेर काम गरेको आरोप लागेको थियो।
फरार रहेकाले मुद्दा मुल्तवीमा रहनेमा को ?
फरार रहेकाहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ। उनीहरु पक्राउ परेपछि मुद्धा अघि बढाउने गरि मुल्तवीमा रहेकाहरुमा अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्वु र सुनिल बुढाथोकी रहेका छन्। उनीहरु पक्राउ परेकै दिन मुद्दाको सुनुवाई प्रक्रिया अघि बढ्नेछ।
