मुगु । भौगोलिकरुपमा विकट भनेर चिनिएको हिमाली जिल्ला मुगुकोे गमगढी ठिनीमा रहेको १५ शैयाको जिल्ला अस्पतालमा नियमित २ जना विशेषज्ञ र आधा दर्जन चिकित्सकबाट सेवा सुचारु भएको छ ।
दरबन्दी अनुसारका विशेषज्ञ र थप चिकित्सकको व्यवस्था भएपछि स्थानीय नागरिकहरूले सहज उपचार पाउन थालेका छन् ।
कुनै बेला चिकित्सक नभएपछि बिरामीहरुलाई हैरान, औषधीको नाममा सिटामोल पनि नपाउने भन्ने समाचारले निकै चर्चा हुन्थ्यो हिमाली जिल्ला मुगु । तर अहिले मुगुको अवस्था फेरिएको छ । मुगुको एक मात्र १५ शैयाको जिल्ला अस्पताल अवस्था अहिले पूर्णरुपमा फेरिएको छ ।
अहिले १५ शैयाको जिल्ला अस्पतालमा नियमित २ जना विशेषज्ञ र आधा दर्जन चिकित्कसमार्फत् सेवा सुचारु भएको छ । स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि र जिल्ला अस्पतालमै सहज र सस्तो उपचार पाउदा स्थानीय खुसी भएका छन् ।
बिशेष गरीे सल्यक्रिया गरेर बच्चा जन्माउने, हर्निया, हाईडोसील, हात खुट्टा, ढाड भाँचिएका, परिवार नियोजन, फिजियाथेरापी जस्ता दर्जनौ उपचार र शल्यक्रियासम्मका सुविधा मुगुमा सहजै उपलव्ध हुन थालेकोछ ।
त्यस्तै गरीव, बिपन्न वर्गलाई ५ हजार सम्मको औषधी उपचार बेड भर्ना, अक्सीजन लगायत अस्पतालमा निशुल्क पाउनु पर्ने सबै प्रकारका औषधीहरुमा छुट दिइएको छ ।
यसअघि सिटामोल पाउनसमेत मुस्किल हुने जिल्ला अस्पतालमा सामान्य शल्यक्रिया वा जटिल समस्याका लागि जुम्ला, सर्खेत वा काठमाडौं धाउनुपर्ने बाध्यता अहिले हटेको छ ।
कर्णाली जस्तो विकट हिमाली जिल्लामा विशेषज्ञ चिकित्सकबाटै आफ्नै ठाउँमा गुणस्तरीय उपचार पाउनुले नागरिकको बाँच्न पाउने अधिकार र स्वास्थ्य सेवाको पहुँचलाई थप सुनिश्चित गरेको छ ।
