News 24 Television
अर्थमन्त्रीमाथि प्रधानमन्त्रीको अविश्वास, सेयर बजारले नै नयाँ सरकार नपत्याएपछि तनाव

काठमाडौं । सेयर बजारमा निराशा चुलिएको छ। लगानीकर्ताहरु अत्तालिने स्थिति बनिरहेको छ। किन सेयर बजारले उचाई लिन सकेन? बहस चलिरहेका छन्। तर, सेयर बजारमा हुने इन्साडर ट्रेडिङदेखि खेलाडीहरुमाथिको निगरानी थप बढेपछि सेयर बजारले आफ्नो आकार लिन लागेको चर्चा समेत नचलेको होइन तर, सरकारले सेयर बजारको विकासका निम्ति पर्याप्त योजना ल्याउन नसक्दा स्थिति भने भयावह बन्दै गएको छ । 

नयाँ सरकार गठनपश्चात सेयर बजारको ओरालो रोकिन सकेको छैन्। सरकारले बजेट ल्याउदा सेयर बजारका निम्ति छुट्टै व्यवस्था नगर्नु र मौद्रिक नीतिमा समेत बजेटलाई नै निरन्तरता दिने गरि विशेष कार्यक्रम नआउनुले सेयर बजारको ओरालो डरलाग्दो बन्न पुगेको छ। 

सेयरलगानीकर्ताहरुले त सेयर बजारको ओरालो यात्राका कारण ६ खर्ब गुमिसकेको र यो देशको बजेटको २७ प्रतिशत हने भनिरहेका छन्। यसरी सेयर बजार ओरालो लाग्दा पनि सरकारले किन विशेष योजना ल्याउन सकेन्? विज्ञ भनिएका अर्थमन्त्रीले सेयर बजारको मनोविज्ञानमाथि किन काम गर्न सकेनन? प्रश्नहरु देखिन्छन्। तर, सरकारभित्र यसबारेको विवाद भने बल्झिन थालिसकेको देखिन्छ ।

सरकार गठन हुँदा कस्तो थियो सेयर बजार ?

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले प्रधामन्त्री पद सम्हाल्दा नेप्से २९५० अंकमा थियो। २९५० मा रहेको नेप्से परिसूचक घटेर २५७६ आसपास पुग्दा नै ३७४ अंकले नेप्सेमा गिरावट आएको देखिन्छ। 

किन यसरी सेयर बजार ओरालो लाग्यो? सरकारले बजेटमा सेयर बजारबारे खास योजना नल्याउनु र मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसक्नुलाई धेरैले कारण मानेका छन्। लगानीकर्ताहरुले यो अवस्थालाई ६ अर्ब सम्पत्ति गुमाएको भन्दै आक्रोश पोखिरहेका छन्। 

केहि लगानीकर्ताहरुले त धितोपत्र बोर्ड नै घेराउ गरेका छन्। तर, सरकारले विशेष योजना ल्याउन नसक्दा सेयर बजार थप संकटमा धकेलिन थालेको छ। उसोतः सोमबारको सेयर बजार गएको ८ महिनायताकै न्यून विन्दुमा झरेको नेप्सेको भनाई छ। 

अघिल्लो वर्षको मंसिर ४ गते नेप्से २५६० अंकमा रहेको तथ्याङ्क देखिन्छ भने त्यसयता नयाँ सरकार गठन भएपनि सेयर बजारको ओरालो यात्रा रोकिन सकेको छैन्।

विज्ञ अर्थमन्त्रीमाथि दबाब

डा. स्वर्णिम वाग्ले अर्थतन्त्रमा विज्ञ व्यक्ति भनियो। उनले अर्थतन्त्रको जिम्मेवारी लिएदेखि नै सेयर बजारदेखि धेरै क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन सकेको देखिन्न। बैंकमा थुप्रिएको तरलता र राष्ट्र बैंकले गर्दै आएको प्रयास पनि सफल हुन सकेको देखिन्न। यस्तोमा प्रधानमन्त्री वालेन्द्र शाहले पनि अर्थमन्त्रीको विज्ञतामाथि प्रश्न गरिरहेका छन्।

यतिमात्रै नभई अर्थमन्त्री वाग्लेसंग वालेन्द्रको सम्बन्ध समेत खास नभएको चर्चा गरिन्छ। प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रका उद्योगी व्यवसायी र ऊर्जा उत्पादकसंगको छलफलमा समेत स्वर्णिमलाई संगै राखेनन्। यसले पनि अर्थमन्त्रीको कार्यशैलीमाथि प्रधानमन्त्री सन्तुष्ट नभएको प्रष्ट पार्ने देखिन्छ। 

यतिमात्रै नभई पार्टी सभापति रवि लामिछानेसंग समेत वालेन्द्रले छलफलको क्रममा अर्थमन्त्रीको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न गरेको बताइन्छ। रविले पार्टीलाई मिलाएर लैजानुपर्ने भन्दै अर्थमन्त्रीबाट भएका कमजोरीलाई सच्याउनुपर्नेमा जोड दिएको बताइन्छ। 

वालेन्द्रले स्थानीय अर्थतन्त्रको प्रवद्र्धन, आन्तरिक परिचालनभन्दा बाह्य ऋणमा जोड दिएको भन्दै असन्तुष्टी पोखिरहेको बताइन्छ। यस्तोमा महाधिवेशनबाट समेत निर्विरोध भएका स्वर्णिम रविको दह्रो साथका कारण नै काम गरिरहेका छन्। तर, प्रधानमन्त्रीले भने खास महत्व नै दिन छाडेको बताइन्छ। यस्तो कारण पनि सेयर बजारदेखि अन्य क्षेत्रले विशेष योजना प्राप्त गर्न कठिन भएको बताइन्छ।

इन्साइडर ट्रेडिङमा कडाई

सेयर बजारका खेलाडीहरुले कुनै कम्पनीको मूल्य उच्च बनाउने र सर्वसाधारणलाई फसाएर आफूले मनग्य नाफा लिने गरेका थिए। यसरी नाफा बुकमा खेलाडीहरुले गर्ने चलखेल पनि पछिल्लो समय सरकारी कडाईका कारण खेलाडीहरुले निश्चित कम्पनीको मूल्य उचाल्ने काम गर्न सकेका छैनन्। 

केहि सेयर बजारका खेलाडीहरु अहिले अनुसन्धानको क्रममा छन भने केहि अनुसन्धानको राडारमा रहेका छन्। यस्तो स्थितिका कारण पनि सेयर बजारमा नयाँ कम्पनी थपिएपनि उत्साह थपिन सकेको देखिन्न।

कर प्रणालीको अन्योलता

सेयर कारोबारमा सरकारले ल्याएको बजेट र आर्थिक विधयेकले अन्योलता सिर्जना ग¥यो। वार्षिक १० लाख आयसम्म आयकर नलाग्ने भनिएपनि त्योपछिको करमा उछालको स्थिति बन्यो। यतिमात्रै नभई सेयर बजारका निम्ति सरकारले विशेष योजना ल्याउने, गैरआवासीय नेपालीहरुले पनि सेयर बजारमा प्रवेश पाउने जस्ता कामहरु गर्ने अपेक्षामा तीब्र काम हुन नसक्नुले पनि लगानीकर्ताको मनोबल कमजोर बन्न पुग्यो । सरकारले यस्ता विषयमा पर्याप्त तयारी नगर्दा देखिएको समस्या अब कसरी समाधान हुन्छ भन्ने चासो भने व्यापक देखिन्छ।

कसरी उठ्न सक्छ सेयर बजार ?

सेयर बजारमा देखिएको संकटको समाधानका निम्ति सरकारले विशेष योजना ल्याउन आवश्यक छ। सेयर बजारलाई चलायमान बनाउदै लगानीमैत्री वातावरणको सिर्जना, आइपीओ जारी गर्दा कम्पनीको भार वहन क्षमता जस्ता विषयमा विशेष ध्यान दिन आवश्यक देखिन्छ। 

राम्रो प्रतिफल दिनसक्ने कम्पनीलाई आइपीओमा अनिवार्य गर्नेदेखि सामाजिक सुरक्षा कोषमा अनिवार्यतासहित कर्मचारीको हिस्सेदारी समेत बढाउन सकेको खण्डमा सेयर बजारमा सकारात्मक सन्देश जान सक्ने विज्ञहरुले बताउदै आएका छन्। 

सेयर बजारलाई चलायमान बनाउन करका दरदेखि लगानीकर्ताहरुको सुरक्षासम्मका विशेष योजनासहित सरकारले गैरआवासीय नेपालीहरुलाई पनि लगानी गर्न दिने गरि काम गर्न सक्नुपर्नेमा आवाज उठ्दै आएको छ। यस्तो स्थिति बनेका सेयर बजारमा सकारात्मक सन्देश जाने र बढ्ने विज्ञहरुले तर्क गर्दै आएका छन्।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update