काठमाडौं । दरबार हत्या प्रकरणको मुख्य योजनाकार को हो? कसले गरायो राजा वीरेन्द्र शाहको वंश विनास? प्रश्नहरु उत्तरित पनि छन्, अनुत्तरित पनि। तर, बेला–बेलामा चर्चामा आइरहने यो प्रकरणले राजनीतिक खपतको विषयमात्रै नभई राष्ट्रिय सुरक्षा र नेपाली सेनाको भूमिकामाथि प्रश्न गरिदिन्छ। तर, यसरी भएको हत्याको रहस्य सुल्झिन नसकेपनि यो घटनाको रहस्य र आरोप–प्रत्यारोप भने रोकिन कठिन नै हुनेछ ।
’आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ ।
तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१९,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो ।
हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ ।
यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो । ’ पूर्वराजा ज्ञानेन्द्र शाहले वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै २०८० माघ १३ गते शनिवार भनेको अंश हो यो । पूर्वराजा शाह वीरन्द्रको वंश नाशमा आफ्नो संलग्नताबारेका प्रश्नमा सचेत छन र उनले यसलाई अस्वीकार गर्दै प्रष्ट भाषामा प्रतिवाद गर्ने गरि बोलिसकेका छन् । तर, यो अभिव्यक्ति सत्य हो? प्रश्न जिवितै छ ।
यहि कारण पनि प्रश्नहरु सार्वजनिक रुपमै आउने गर्छन्। अझं एमाले अध्यक्ष केपी ओलीले त दरबार हत्याप्रकरण दीपेन्द्रबाट नभएको प्रष्ट भाषामा बोलेका छन्।
ओलीले यो अभिव्यक्ति त्यतिबेला नै दिए, जतिबेला संविधान संशोधनको बहस पेचिलो बनिरहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे।
वालेन्द्रले प्रधानमन्त्री बनेदेखि विपक्षी दलको शीर्ष नेतालाई भेट्ने क्रममा पहिलो भेट नै लिङ्देनसंग किन गरे? के वालेन्द्रले राजसंस्थाको पक्षको जनमत बुझ्न खोजेका हुन्न वा कारण अन्य केहि नै छ ? विस्तारै खुल्दै जाला तर, लिङ्देनले आफूले प्रधानमन्त्री वालेन्द्र शाहसंग गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता फाल्ने गरि संविधान संशोधन गर्ने भए राप्रपा तयार छ भनेको र वालेन्द्र मुस्काएको भनेका छन्।
यता, संविधान संशोधनका लागि बनेको कार्यदलले बहसपत्रका लागि आवश्यक कुरा समेत बुझाइसकेको छ। यस्तोबेलाको भेटलाई अर्थपूर्ण ठानिएको छ ।
ओलीका अनेक अभिव्यक्ति
एमाले अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नक्कली राजा समेत भनेका थिए। उनले ज्ञानेन्द्रमा राजा हुने गुण नभएकोदेखि चुनावको निम्तो समेत दिने गरेका थिए। अब हेरौं, ओलीले कसरी ज्ञानेन्द्रविरुद्ध यसअघि पनि अभिव्यक्ति दिएका रहेछन् ?
ओलीका यी श्रङ्खलाबद्ध अभिव्यक्ति विभिन्न समयमा आएका हुन्। प्रसंग नै नभएको बेला समेत ओलीले यस्ता अभिव्यक्ति दिने गरेको देखिन्छ। यता, राप्रपाको सक्रियताकाबीच सरकारले अघि बढाउने भनिरहेको संविधान संशोधनको एजेण्डाले पनि बहसमा नयाँपना दिने संकेत भने गरेको छ ।
सरकारको नजर
सरकार संविधान संशोधनको संघारमा पुगेको छ। आफ्नोतर्फको तयारीलाई अन्तिम चरणतर्फ पु¥याएको सरकारले अन्य राजनीतिक दलहरुसंगको सहकार्य र साथ पनि लिनुपर्ने हुन्छ। यता, गृहमन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका निकट भनिएका सुधन गुरुङले दोश्रो पटक गृहमन्त्रीको पद सम्हाल्दा दरबार हत्या प्रकरणको अनुसन्धान गर्ने भन्ने अभिव्यक्तिले पनि अर्थ राख्छ ।
वालेन्द्र शाह नेतृत्वको सरकारले संविधान, संघीयता, गणतन्त्र र आधारभूत कुरामा सम्झौता नगर्ने दाबी दोहो¥याउदै आएको छ। तर, यो कुरा प्रधानमन्त्रीको सार्वजनिक सम्बोधन वा अन्य च्यानलबाट भने आएको देखिन्न। यस्तोमा रास्वपाले कस्तो विषयको स्वामित्व लिन्छ भन्ने प्रश्न पनि जिवितै देखिन्छ ।
ध्यान मोड्न राजनीतिक चालबाजी
आजसम्म नसुल्झिएको दरबार हत्या प्रकरण राजनीतिक रुपमा ध्यान भड्काउन समेत प्रयोग गरिने विषय बन्न पुगेको छ। कतिपयले यस्ता विषय बहसमा ल्याएर आफ्ना काम फत्ते पनि गरिरहेका देखिन्छन्। तर, वालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि पुर्वराजा ज्ञानेन्द्र शाहले पनि मौनता साँधेका छन्। उनले शुभकामना सन्देशमा समेत व्यक्त गर्ने गरेको आक्रोश पछिल्लो समय देखिन्न।
के पूर्वराजाले पनि अबको राजनीतिक माहोलमा आफ्नो स्पेस मौनतापुर्वक खोजिरहेका हुन्? शंका गर्ने ठाउँहरु देखिन्छन्। यता, राजावादी दल राप्रपाभित्र पनि राजेन्द्र लिङ्देनको नेतृत्वमा अघि जान नसकिने आवाज वलियो बनिरहेको छ।
यस्तोमा लिङ्देनले आफ्नो स्पेस बलियो बनाउन वालेन्द्र शाहसंगको भेटलाई प्रयोग गरेका हुन्? अझं, राजावादी दलमा आएको विभाजन र धवलशमशेर जबरासहित दुर्गा प्रसाईले खोल्ने भनेको नयाँ दलको शुभ साइतलाई पूर्वराजाको आशिर्वाद नजाओस भन्ने कामनाका निम्ति दौडधुप अघि बढाएका हुन्न ? राजनीतिक प्रश्नहरु उठेका छन् ।
जसमा लिङ्देनका पूर्वचुनावी सहयात्री केपी ओलीको साथ सार्वजनिक भएको हो? वहस शुरु भएको छ। वा राप्रपाभित्र नेतृत्व संकटमा परेका लिङ्देनलाई यसअघि सहकार्यको सिढीबाट प्रधानमन्त्री बन्न पुगेका केपी ओलीले राजनीतिक गुण तिर्नका निम्ति पासा फालेका हुन्? आशंका जति उब्जिएका छन, जवाफ पनि त्यति नै पेचिलो बनेको छ।
