काठमडौं । प्रधानमन्त्री बालेन शाहमाथि भारतीय सञ्चारमाध्यमको बढ्दो चासो देखिएको छ । नेपालका आन्तरिक विवाददेखि भारतका युवा आन्दोलनसम्म जोडेर हेरिँदै आएको यो कभरेज सामान्य समाचार हो कि भारतमा देखिएको पछिल्लो माहोल र आन्दोलनलाई अन्तै मोड्ने रणनीतिक योजना ?
प्रधानमन्त्री बालेन्द्र शाह अर्थात् बालेनमाथि पछिल्ला दिनमा भारतीय सञ्चारमाध्यमहरूको चासो किन बढिरहेको छ ? यो सामान्य समाचार मात्रै हो कि यसको पछाडि भारतीय राजनीतिसँग जोडिएको कुनै ठूलो स्वार्थ पनि लुकेको छ ?
बालेनमाथि बढ्दो आलोचना
प्रधानमन्त्री बालेन्द्र शाह पछिल्ला केही निर्णयका कारण निरन्तर विवादमा छन् । पासपोर्ट प्रकरणदेखि विभिन्न व्यक्ति पक्राउ गराउने विषयसम्म उनका कदममाथि प्रश्न उठिरहेका छन् । केपी ओली, रमेश लेखकदेखि विष्णु पौडेल, दीपक भट्ट लगायतका कतिपय पक्राउ अदालतमा पुग्दा पर्याप्त प्रमाण नपुगेको भन्दै टिक्न सकेका छैनन् ।
यही कारणले सरकार समर्थक र आलोचकबीच बहस तीव्र बनेको छ । देशभित्रै एउटा पक्षलाई लाग्छ, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणविरुद्ध सरकार कडा रुपमा लाग्नु पर्छ । अर्को पक्षको तर्क छ, कानुनी आधार र प्रमाण कमजोर हुँदा यस्ता कारबाहीले उल्टै राज्यको विश्वसनीयतामाथि प्रश्न उठाइरहेको छ । यसमा एउटा स्पष्ट कुरा के छ भने कुनै पनि कारबाही अदालतमा प्रमाणित हुन सक्नुपर्छ । नत्र राजनीतिक सन्देश त जान्छ । तर यसले कानुनी सफलता भने प्राप्त हुँदैन ।
भारतीय मिडियाको चासो
यहीबीच केही भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेनसँग सम्बन्धित समाचारलाई प्राथमिकता दिएको देखिन्छ । उनीहरुको न्यूज रिपोर्टमा नेपालमा प्रधानमन्त्री बालेनको लोकप्रियता घट्दै गएको, विभिन्न निर्णयप्रति असन्तुष्टि बढेको र युवामाझ निराशा देखिएको जस्ता विश्लेषण प्रकाशित भइरहेको छ ।
पछिल्ला दिनहरुमा श्रृंखलाबद्धरुपमा हिन्दुस्तान टाइम्स, द हिन्दु, विअन, टाइम्स अफ इण्डिया, नवभारत टाइम्स जस्ता भारतीय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री बालेन नेपालमा अलोकप्रिय भइरहेको भन्दै समाचार बनाइरहेका छन् ।
गणेश नेपालीको आत्मदाह, सुकुम्बासी तथा अव्यवस्थित वस्ती हटाएको, सरकार जनताप्रति संवेदनशील र उत्तरदायी नरहेको लगायतका विषयहरुका कारण नेपालमा प्रधानमन्त्री बालेनको विरोध भइरहेको, जेनजीहरु नै सडकमा उत्रिएको जस्ता समाचार अहिले भारतीय सञ्चारमाध्यमहरमा निरन्तर देख्न सकिन्छ । यी भारतीय मिडियाहरुमध्ये कतिपय गोदी मिडियाका रुपमा समेत परिचित छन् ।
जो सरकारको इन्ट्रेस्टलाई मासमा पु¥याउने काम गर्छन् भन्ने आरोप भोग्दै आइरहेका छन् । तर अब प्रश्न उठ्छ नेपालको राजनीतिमा भारतीय मिडियाले किन यति धेरै रुची देखाइरहेका छन् ? यो एउटा सामान्यरुपमा छिमेकी देशको समाचारको रुपमा मात्रै कभरेज भइरहेको छ कि भारतभित्र भइरहेका राजनीतिक घटनाक्रमसँग यसको कुनै सम्बन्ध छ ?
यसको उत्तर खोज्नु अघि अहिले भारतमा भइरहेका युवा केन्द्रीत आन्दोलनहरुलाई हेरौँ । गत मे १५ तारेख भारतीय सर्वोच्च अदालतभित्र बोलिएको एउटा शव्दको विरोधमा शुरु भएको कक्रोच जनता पार्टी सीपीसी अहिले भारतीय संस्थापन पक्षको लागि टाउको दुखाई बनेको छ । भारतमा मोदी युगबाट असन्तुष्ट बनेका युवाहरु यही डिजिटल पार्टीमा एकत्रित भई डिजिटल माध्यम हुँदै सडकमै उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । यसमा भारतमा ठूलो संख्यामा रहेका बेरोजगार युवाहरु आवद्ध भइरहेका छन् ।
कक्रोचको लोकप्रियता भारतमा सत्ता चलाइरहेको भारतीय जनता पार्टी भाजपालाई तर्साउने विषय बनेको छ । त्यसैगरी भारतीय सत्ता पक्षका लागि वातावरण तथा शिक्षा अभियन्ता सोनाम वाङचुक पनि तनावको अर्को कारण हुन् । उनी विगत २१ दिनदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीमा अनशन गरिरहेका छन् । प्रश्नपत्र लिक प्रकरणको निष्पक्ष छानबिन तथा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भइरहेको उनको अनशनले भारतीय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ । कक्रोचको प्रदर्शन र वाङचुकको अनशनले भारतीय संस्थापनमाथि दबाब बढाइरहेको विश्लेषण पनि भइरहेको छ ।
जेनजी र कक्रोचबीचको कनेक्सन !
गएको वर्ष भदौ २३ र २४ गते भएको नेपालको जेनजी आन्दोलन र भारतको कक्रोच जनता पार्टीले गरिरहेको नयाँ डिजिटल आन्दोलनबीच केही समानता देखिन्छ । दुवैमा युवा पुस्ताको सक्रियता छ । दुवै सामाजिक सञ्जालमार्फत फैलिएका हुन् । दुवैले परम्परागत राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
त्यसैले कक्रोच र नेपालको जेनजी आन्दोलनको डट पछ्याउँदै जाँदा यी दुवैबीच कहि न कहि मिलनविन्दु भेटिन्छ । त्यसो त कक्रोचले औपचारिकरुपमा नेपालको जेनजी आन्दोलनबाट प्रभावित भएको भनेको छैन र दुवै समूहका नेतृत्वबीच प्रत्यक्ष समन्वय भएको प्रमाण पनि भेटिदैन । तर अन्तराष्ट्रिय विश्लेषकहरुले नेपाल, बंगलादेश र अन्य देशहरुमा भएको युवाहरुको आन्दोलनहरुले भारतीय युवालाई पनि डिजिटल आन्दोलनलाई सडक आन्दोलन र प्रदर्शनमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको उल्लेख गरेका छ । नेपालको जेनजी आन्दोलन, भारतमा डिजिटल दुनियाँमा उदाएको कक्रोच जनता पार्टी, सोनाम वाङचुकले गर्दै आएको अनशन, मोदी प्रशासनसँग रुष्ट भारतीय नागरिक लगायतको प्रसंगलाई पछ्याउँदै जाँदा भारतीय सञ्चारमाध्यमहरुमा किन प्रधानमन्त्री बालेनको विरोध भइरहेको छ, किन नकरात्मक देखाउने प्रयास भइरहेको छ, त्यसको जवाफ भेट्न सकिन्छ ।
भारतीय गोदी मिडियाहरु बालेनलाई एउटा उदाहरणका रूपमा प्रस्तुत गर्दै के सन्देश दिन खोजिरहेका छन्, त्यो नै यसको जवाफ हो । पपुलिस्ट राजनीति र सामाजिक सञ्जालबाट उदाएकाहरु शासनमा पुगेपछि टिक्न सक्दैनन्, कसरी असफल हुन्छन् भन्ने उनीहरु भारतीय जनमानसमा स्थापित गर्न खोजिरहेका छन् । नत्र ती मिडियाहरुमा आएकोजस्तो नेपालमा अहिले बालेनविरुद्ध आन्दोलन र प्रदर्शनहरु नै भइसकेको छैन । तर भारतीय मिडियाका न्यूज कभरेज हेर्दा लाग्छ, अहिले बालेन सरकार विस्थापित नै हुने अवस्थामा पुगिसकेको छ ।
