News 24 Television
सुधनको कार्यशैलीले सुरक्षा निकायलाई नै हैरानी

काठमाडौं । अहिले सरकारमा सबैभन्दा धेरै चर्चा, बहस, समर्थन र विवाद बटुलेको कुनै मन्त्रालय छ भने त्यो गृह मन्त्रालय नै हो।जनकपुरबाट सुरु भएको मिटरब्याज पीडितहरूलाई मनाउन बाराको सिमरा पुगेका गृहमन्त्री सुधन गुरुङ एउटा फरक कारणले चर्चा र विवादको केन्द्रमा छन् । 

वार्ता निष्कर्षविहीन भएपछि काठमाडौँ फर्कनुको साटो गृहमन्त्री गुरुङ सुरक्षा फौजको दलबलसहित आफैं होटलमा छापा मार्न पुगे । विभागीय मन्त्री नै प्रहरीको भूमिकामा उत्रिएर होटलमा छापा मारेपछि गृह प्रशासन र सुरक्षा वृत्तमा यसको कानुनी आधार र मन्त्रीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ । 

सरकार गठन भएको पहिलो सातादेखि नै गृहमन्त्री सुधन गुरुङले लिएका निर्णयहरूले राजनीतिक वृत्त, प्रशासन, सुरक्षा संयन्त्र र सर्वसाधारण सबैको ध्यान खिच्यो । अर्कोतिर स्वयं गृहमन्त्रीमाथि सम्पत्ति, सेयर लगानी र व्यवसायी दीपक भट्टसँगको सम्बन्धबारे प्रश्न उठे,जसका कारण उनले २६ दिनमै राजीनामा दिनुप¥यो । त्यसपछि सफाइ दिएर उनलाई पुनः गृह मन्त्रालयमा फर्काइए पनि उनीमाथिका प्रश्न पूर्ण रूपमा समाप्त भएका छैनन् । 

गृह मन्त्रालयले शक्तिशाली व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाउने साहसिक अभ्यास पनि ग¥यो,तर पारदर्शिता र नैतिक उत्तरदायित्वका प्रश्नमा भने गृहमन्त्री गुरुङ आफैँ आलोचनाको पात्र बन्ने गरेका छन । 

वार्ता निश्कर्षविहिन भएपछि ठोरी बजारमा गृहमन्त्रीको छड्के 

मधेशका मिटरब्याज पीडितहरू ६ बुँदे माग राखेर काठमाडौँका लागि पैदल यात्रामा निस्किएपछि सरकार दबाबमा प¥यो । आन्दोलनको पाँचौँ दिन गृहमन्त्री गुरुङ आफैं पीडितहरूलाई भेट्न सिमरा पुगे । तीन दिनसम्म सिमरामै बसेर फकाउने प्रयास गरे पनि पीडितहरू लिखित प्रतिबद्धता बिना पछि हटेनन् । गृहमन्त्री गुरुङको मौखिक आश्वासनले काम गरेन। छलफल निष्कर्षविहीन भयो। त्यसपछि काठमाडौँ फर्कनुपर्ने गुरुङ एकाएक छड्के र अनुगमन भन्दै अर्कै भूमिकामा देखा परे । 

पर्साबाट चितवनतर्फ जाने क्रममा ठोरी बजारमा स्थानीयले दिएको एउटा सूचनाका आधारमा गृहमन्त्री गुरुङ आफैं एक्सनमा उत्रिए । सशस्त्र प्रहरीको गणका गणपति एसपी, बीओपीका इन्सपेक्टर र नेपाल प्रहरीको टोली लिएर मन्त्री गुरुङ राति पौने ८ बजे ठोरीका दुईवटा होटलमा छापा मार्न पुगे । ठोरी दोहोरी साँझ र रिसोर्ट ठोरी क्याम्प फायर होटलबाट २ जना होटल सञ्चालक र ७ जना युवतीसहित ९ जनालाई नियन्त्रणमा लिइयो । 

अचम्मको कुरा त के छ भने, गृहमन्त्रीले आफैं अघि सरेर होटलमा छापा मार्दा जिल्लाका सुरक्षा प्रमुख भोला दाहाल र एसपी सुदीप पाठकलाई यसबारे पत्तो नै थिएन । छापा मारिसकेपछि मात्र उनीहरूलाई घटनास्थलमा बोलाइयो । 

पर्यटकीय क्षेत्र ठोरीमा भारतीय ग्राहकहरू आउने गरेको र पक्राउ परेका युवतीहरू कुनै अनैतिक क्रियाकलापमा रंगेहात पक्राउ नपरेका कारण यो पक्राउको कानुनी आधारमाथि नै प्रश्न उठेको छ । सुरक्षा विज्ञहरू मन्त्रीको यो शैलीलाई हवल्दारी पाराको संज्ञा दिन्छन् । नयाँ प्रहरी ऐनको निर्माण, नीतिगत सुधार, आन्दोलनमा जलेका प्रहरी भवनहरूको पुनर्निर्माण र जनशक्ति व्यवस्थापन जस्ता गम्भीर मुद्दाहरू गृह मन्त्रालयमा थन्किएका छन् । तर, विभागीय मन्त्री नीतिगत तहमा केन्द्रित हुनुको साटो एउटा चौकीको हवल्दारले गर्ने अपरेसनमा आफैं कुद्नुले गृह प्रशासनकै उपहास भएको आरोप लागेको छ ।

जिल्लामा एसपी तहका अधिकारी मात्र फिल्डमा खटिने परिपाटीमा, सिङ्गो मन्त्री नै टोली लिएर होटल चहार्नुले सस्तो लोकप्रियताको मोह त देखाउँछ,तर यसले विधिको शासन र सुरक्षा निकायको मनोबलमा भने गम्भीर आघात पु¥याउने पूर्वप्रहरी अधिकारी बताउँछन ।

गृहमन्त्री गुरुङको यस्तो अनुगमन पहिलो थिएन । यसअघि असार १२ गतेपनि गृहमन्त्री गुरुङले पूर्वजानकारी बेगर पर्सा र बाराका सीमा नाकाहरूमा छड्के अनुगमन गरेका थिए । 

सँगसँगै गृहमन्त्रीले प्रोटोकल बाहिर गएर अनुगमन गरेको भनेर चर्चा भयो । कम्तीमा अनुगमनमा निस्किँदा गृहमन्त्रीले जिल्ला सुरक्षा समितिलाई जानकारी गराउनुपर्ने हुन्छ । तर उनले न प्रहरी प्रमुख न त सिडियोलाई नै जानकारी दिए । मुगुका गणेश नेपालीको उद्धार र उपचारका विषयमा पनि गृहमन्त्रीसँग थुप्रै प्रश्नहरु उठेका छन् । घटनापछि २१ घण्टासम्म प्रभावकारी निर्णय हुन नसकेको भनी गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ । 

गृहमन्त्री भएकै दिनदेखि गृहमन्त्री गुरुङले अनेक स्टण्टहरु गरेको विभिन्न घटनाक्रमहरुले पुष्टी गरेका छन् । चैत १३ गते गृहमन्त्री भएकै दिन प्रहरी नेतृत्वलाई दवाव दिएर ओली–लेखकलाई तत्कालै पक्राउ गर्न लगाएका थिए । अहिलेसम्म ओली–लेखक पक्राउको औचित्य पुष्टि हुन सकेको छैन । दोस्रो पटक गृहमन्त्रालयमा फर्किएपछि आफैले स्टण्ट छाडेर काम गर्ने प्रतिवद्धता जनाए पनि गृहमन्त्री गुरुङको कार्यशैली उस्तै देखिन्छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update