काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवाद सतहमै देखिन थालेको छ। सरकार र पार्टीबीचको अघोषित मोर्चाबन्दीले सरकारका केहि मन्त्रीहरु रेडजोनमा धकेलिएका छन भने पार्टी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेबीचको रहस्यमयी मोर्चाबन्दीले सत्ताको रस्साकस्सीका नयाँ परिदृश्यहरु छचल्किने खतरा बढ्न थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा पहिलो महाधिवेशन सम्पन्न ग¥यो। चितवनमा सम्पन्न पहिलो महाधिवेशनले रवि लामिछानेलाई सभापति मात्रै बनाएन, सर्वशक्तिमान पनि बनायो। अझं, रास्वपाको विधानले रविलाई संसदीय दलको नेता नै फाल्ने अधिकार समेत दियो।
कतिपयले यो व्यवस्था विधान छाप्नेबेला थप गरिएको भनिरहेका छन भने रवि पक्षले शक्ति सन्तुलनका निम्तिभन्दा पनि थिति बसाल्ने गरि परम्पराको विकास भनेका छन्। यसले के देखाउँछ भने रविलाई केन्द्रमा राख्दै सर्वशक्तिमान बनाउने प्रयास बढेको छ। यहि प्रयासले अन्ततः रास्वपाभित्रको शक्ति सन्तुलन समेत खलबलिने अवस्थामा पुग्नसक्ने खतरा बढाएको छ ।
रवि–स्वर्णिम दौड
पार्टी सभापति रवि लामिछानेसंग प्रधानमन्त्री वालेन्द्र शाहले झण्डै ४ घण्टा लामो छलफल गरे। छलफल तथा समूहमा बसेर गफगाफ खासै नरुचाउने वालेन्द्रले ४ घण्टा रविसंग विताउदा जे घटनाक्रम देखिए, त्यसले रविमाथिको दबाब ह्वात्तै बढेको देखिन्छ । प्रधानमन्त्री वालेन्द्रले प्रष्ट ढंगले स्वर्णिमको भूमिकामाथि प्रश्न गरे।
अर्थमन्त्रीबाट बिदा गर्नुपर्ने माग राखिदिए। यता, स्वर्णिमले पनि रविलाई वालेन्द्रको भूमिकामाथि प्रश्न गर्दै अप्ठ्यारो भएको रिपोर्टिङ गरिसकेका थिए। दुबैको जुधाईमा चेपुवामा परेका रवि के–कसो गर्ने भन्ने अन्योलताकाबीच संकटमोचनको प्रयास गर्ने वा आफै अघि सर्ने भन्नेमा दुविधामा रहेको केहिले दाबी गरिरहेका छन् । तर, रवि–स्वर्णिम शनिवार एकाएक काभ्रेको धुलिखेलमा रहेको दुसित थाली हिमालयन रिसोर्ट पुगे। दिउसै तनावले फन्किदै रिसोर्टमा पुगेका स्वर्णिमलाई रविले श्रीमति निकिता पौडेल लामिछानेसहित कम्पनी दिन केहि मिनेटको फरकमा पुलुक्क पुगिदिए। उनीहरुले रिसोर्टमा योजना निर्माण, विवाद र आगामी दिनबारे परिपक्क छलफल गरेको बताइन्छ।
रवि–वालेन्द्रको त्यो भेट
असार २८ गते प्रधानमन्त्री वालेन्द्र शाह आफ्ना सचिवालयका कुमार वेनसहित केहिलाई बोकेर रवि लामिछानेलाई भेट्न पुगे। रविसंग लामो छलफल र कुराकानी भयो। जुन कुराकानीमा वालेन्द्रले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित केहि मन्त्रीले आफ्नो स्पिरिड समात्न नसकेको, सरकारको कार्यशैलीलाई नै अप्ठ्यारो पारेको जस्ता विभिन्न कुरा राखेर तत्कालीन श्रममन्त्री दीपक साहलाई हटाउदा प्राप्त गरेको जस्तो पत्र दिन भने।
त्यसपछि उठ्यो गृहमन्त्री सुधन गुरुङको प्रसंग। सुधनलाई राजीनामा दिन लगाउदाको प्रसंग उठेपनि वालेन्द्रले आफ्नो अडान छाडेनन्। त्यसपछि दुबैजनाबीच केहि समय गलफत्ति नै चल्ने स्थिति बनेपछि वालेन्द्रले आफू पार्टीमा सक्रिय तयार भन्दै सरकारको जिम्मा लिन रविलाई खुलेरै प्रस्ताव गरे। यतिभनेपछि रविलाई संकट प¥यो।
रविले सरकारको जिम्मा लिने स्थिति वाहिर नभएको निष्कर्ष पहिले नै निकालिसकेका छन्। तर, रवि पक्षका सांसदहरुले सरकारको विरोध गर्दै गरिरहेको गतिविधि र केहि मन्त्री हटाउन खोज्दा भोग्ने संकटले आफू सरकारमै रहनुपर्छ भन्ने नरहेको र पार्टीमा सक्रियतापूर्वक काम गर्न तयार रहेको वालेन्द्रको जवाफपछि रवि निवासको माहोल केहि समय शून्य आवाजको अवस्था बन्न पुग्यो। तर, दुबै नेताहरु अन्तिममा समस्या समाधान गर्ने, सरकारको गति बढाउने, पार्टीले समन्वयकारी भूमिका खेल्ने जस्ता विषयमा कुराकानी गर्दै छुट्टिए। तर, वालेन्द्रको प्रस्तावले रविको बेचैनी भने बढाएको बताइन्छ।
दबाब दिदै रवि, प्रष्ट वालेन्द्र
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माण गरेको विधानले वालेन्द्र शाहलाई संकटमा पार्न खोजेको अर्थमा चर्चा चलिरहेको छ। तर, विधानले भनेको कुराभन्दा धेरै संसदीय दलको नेताले सांसदलाई कसरी अघि सार्छ भन्ने कुरा मुख्य बन्छ। रास्वपाभित्रको एउटा तप्काले भनिरहेको छ, ’संसदीय दलको नेताले सांसदलाई नेतृत्व गर्ने हो। यसैपनि प्रधानमन्त्री सिंगो संसदको नेता हो।
आफ्नो पार्टीको त स्वभाविक नेता हो। तर, पार्टी सभापतिले दलको नेता चाहेको बेला फाल्न मिल्ने गरि विधान निर्माण गर्नुको कुरा बुझ्न कठिन छैन्। यसबारेको पटाक्षेप हुँदैजाला।’ उसोतः रविले सरकारको नेतृत्व गर्ने चाहना नभएको दाबी गर्दै आएका छन् । तर, प्रधानमन्त्री वालेन्द्र शाहले भने सरकार सञ्चालनमा सहयोग गर्नुपर्ने र आफ्नो स्पिरिडअनुसारको टिम निर्माणमा सहजीकरण गरिदिन भनेका छन्।
उनले पार्टी वा सरकार जे रोजेपनि आफू तयार रहेको र हस्तक्षेपको अपेक्षा नगरेको प्रष्ट पारेको बताइन्छ। वालेन्द्रले जता पनि स्वतन्त्रतापूर्वक काम गर्नुपर्ने भन्दै हस्तक्षेप होइन समन्वय भनेका छन्। यसले पनि रविले बढाएको दबाबमा वालेन्द्रले प्रष्ट जवाफ दिएपछि केहि उल्झनकाबीच पनि सहजता आउने अवस्था बन्ने दाबी गरिएको छ।
स्वर्णिम फ्याक्टर
प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको विकासका योजनाभन्दा कार्यक्रम, सभा तथा गोष्ठीमा भाषण गर्ने, विदेशी ऋणमा जोड दिने, निर्णयमा आफ्नो प्रभाव छाड्न खोज्ने जस्ता काम गरेको दाबी गरेको बताइन्छ। रवि भने स्वर्णिमलाई उच्चकोटीको नेता भन्दै महाधिवेशनबाट निर्विरोध बनाउनेसम्म सक्रिय बने। यता, रास्वपामा रवि, वालेन्द्रबाहेक स्वर्णिम फ्याक्टर पनि सक्रिय देखिन्छ।
जसले शक्ति सन्तुलनका निम्ति समेत रोचक संघर्ष हुने अवस्था छ। यस्तै विषयको बहसका निम्ति रिसोर्ट पुगेका रवि–स्वर्णिमले समाधान निकाल्छन वा सत्ता उलटफेरको लामो कथा बुन्छन ? यो भने आगामी दिनमा खुल्दै जानेछ ।
