काठमाडौं । विश्वेश्वरप्रसाद कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनका निम्ति हतियार उठाए। राय्जविरुद्ध विद्रोह गरे। प्रजातान्त्रिक आन्दोलनबाट नेपाललाई लोकतन्त्रको बाटोमा ल्याए। विपी वामपन्थी विचारबाट प्रभावित प्रजातान्त्रिक नेता थिए। उनै विपीले जग बसाले निर्माण गरेको कांग्रेस किन भड्किदैछ? यो प्रश्न अहम बन्न पुगेको छ ।
नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (विपी) कोइरालाले नेपाललाई राणा शासनबाट प्रजातन्त्रमा ल्याउन क्रान्ति गरे। बन्दुक उठाए। विपीको बन्दुक र विचारले नेपालमा प्रजातन्त्र स्थापना भयो।
प्रजातन्त्रिक समाजवादभन्दा बाहिर जाने कुरा प्रतिगमन हुने भन्दै निधिले विपीका आदर्श र सिद्धान्तलाई अस्वीकार गर्ने परिस्थिति सिर्जना हुनु दुखद् भनिएको छ।
विपीको मेलमिलाप, कांग्रेसको कलह
पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका विपी २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले बहुदलीय प्रजातन्त्रिक व्यवस्थाको विघटन गरे। राजनीतिक दलमाथि प्रतिबन्धको घोषणा गरे। त्यसपछि विपीसहितका नेताहरु थुनिए । आठ वर्ष अर्थात २०२५ कात्तिक १४ गते रिहाइ भए। त्यसपछि विपी भारत पलायन हुन पुगे। त्यसको ठिक ८ वर्षपछि अर्थात ८ २०३३ साल पुस १६ गते उनी गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर फेरि नेपाल फर्किए।
त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ। त्यसपछि नेपालले विभिन्न आन्दोलन व्यहोर्न पुग्यो। प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्यो। तर, आज कांग्रेस फेरि विभाजनको संघारमा छ। विपीका छोरा डा. शशांक कोइरालासहित कांग्रेसको ठूलो पंक्तिले पार्टी सभापति गगन थापाले एकताका निम्ति पहल नगरेको गुनासो गरेका छन्। किन यस्तो स्थिति बन्न पुग्यो? नेताहरुले लगाएका आरोपले नै धेरै कुरा पुष्टी गर्दछ।
कांग्रेसको पार्टी जीवनमा लामो समय विताएका नेताहरुले किन विपीलाई साक्षी राख्दै कांग्रेसको एकता भन्दै जोड गरिरहेका छन्? के उनीहरु वास्तवमै एकता चाहन्छन्? प्रश्नहरु देखिन्छन्। त्यसका केहि आधार र इतरपक्षले अघि सारेका ५ बुँदा हेरौं।
१. चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
२. सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने ।
३. पूनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले पन्ध्रौ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।
४. वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्वन्धित विभिन्न समितिहरू बनाउने ।
५. महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग नजोड्ने ।
यसरी हेर्दा पार्टी एकताका निम्ति गगन थापाले इच्छा देखाएमा सार्वजनिक रुपमै अपिल गरेर जोगाउन सकिने स्थिति जिवितै छ। गगनको बहुमत स्वीकार गर्ने सार्वजनिक स्वीकारोक्तिकाबीच विशेष महाधिवेशनले पाएको कानूनी मान्यताबाहेक विभाजित मानसिकताले कांग्रेस उन्नयन हुन सक्छ? स्वभाविक प्रश्न उठ्नेछन्। तर, गगन थापासहितको कांग्रेसको टिमले यो परिस्थिति स्वीकार गर्ने छाँट भने देखाएको छैन्। जुन कुरा विपीले अघि सारेको मेलमिलापको नीति र आजको कांग्रेसले गर्ने राजनीतिको मार्गनिर्देश हुनसक्ने देखिन्छ।
कांग्रेस र अबको राजनीति
विपीले अघि सारेको प्रजातान्त्रिक समाजवादको सट्टा गगन थापाले भनेको सामाजिक लोकतन्त्रले समेत बहस सिर्जना गरेको देखिन्छ। विपीले समाजवाद भन्दा गरिबी उन्मुलन, सबैको घरमा हल गोरु,छानादेखि आधारभूत कुराको सुनिश्चितता भनेका थिए। त्यो बेला यस्तो विषय असाध्यै महत्वपूर्ण थियो।
समयसंगै फेरिएको विश्वको वेगले आकांक्षा फेरिएनि सिद्धान्ततः विपीले देखाएको क्रान्तिकारितासहितको समाजवादमा कांग्रेसले काम गर्नुपर्ने एउटा पक्षको जोड देखिन्छ। तर, विपीले जस्तो संघर्ष, बलिदानी र त्याग अहिलेको पुस्तावाट होला? धेरैले प्रश्न र शंका गर्ने स्थिति बनेको छ। तर, फेरिएको राजनीतिक परिदृश्य, भुराजनीतिक अवस्थिति जस्ता विषयले कांग्रेसले कस्तो बाटो तय गर्छ? एकीकृत बन्न सक्छ सक्दैन? तमाम प्रश्नसहित अबको कांग्रेसले विपीको समाजवाद र प्रजातन्त्रको समिक्षासहित राजनीतिक जवाफ दिने स्थिति बन्नेछ।
