काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र पुनः राजनीति गरमागरम बनेको छ । आगामी असोज १६ मा जसरी पनि महाधिवेशन गर्ने कसरतमा संस्थापन पक्ष लागेको छ भने इतर पक्ष त्यसलाई रोक्ने प्रयासमा छ । संस्थापन र देउवापक्षबीचको रस्साकस्सीकाबीच शेखर लगायतका नेताहरुले भने मध्यमार्गी बाटो अपनाएका छन् ।
नेपाली कांग्रेसमा विवाद चर्किएको झण्डै एक वर्ष पुगेको छ । गत वर्ष भदौ २३ को जेनजी आन्दोलनपछि कांग्रेसमा विवाद चर्किँदै गर्दा विशेष महाधिवेशनको आयोजना भएको थियो ।
तत्कालिन महामन्त्री गगन थापा नेतृत्वमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा र शेखर कोइराला समूहले बहिष्कार गरेको थियो ।
कांग्रेसको ठूलो पंक्तिको बहिष्कारका बाबजुद भएको विशेष महाधिवेशनले गगन थापालाई नेतृत्व सुम्पियो । तर गगनको नेतृत्वलाई अस्वीकार गर्दै इतर पक्ष मुद्दा मामिलामा गए पनि निर्वाचन आयोगदेखि सर्वोच्च अदालतले समेत विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई नै बैधानिकता दिएपछि गगनकै हातबाट टिकट थालेर इतर पक्षका नेताहरु पनि चुनावमा होमिएका थिए । तर चुनावी परिणाम हात नलागेपछि इतर पक्ष पुनः कस्सिएकर सामानान्तार गतिनिधि गर्दै आएको छ । जेनजी आन्दोलनमा घाइते भई सिंगापुर उडेका देउवासमेत फर्किएर समानान्तर गतिविधिमा सक्रिय छन् ।
तर संस्थापन पक्ष भने असोज १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिकालाई मूर्तरुप दिन कस्सिएको छ । असोज १६ देखि १८ गतेसम्म तय महाधिवेशन सार्ने छुट नरहेको थापाको भनाई छ ।
भदौ १० गते आएको भोटेकोशीको आकस्मिक बाढीले रसुवा, नुवकोट, धादिङ, गोरखा, तनहुँको भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छ । त्यसैले रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन गर्ने अवस्था नरहेको थापाको भनाई छ । यसले महाधिवेशनलाई प्रभाव नपार्ने उनले बताएका छन् ।
महाधिवेशन नरोकिए पार्टी फुट्ने निश्चित
असोज १६ कै मितिमा महाधिवेशन गरिए नेपाली कांग्रेस फुट्ने निश्चित देखिएको छ । संस्थापनलाई चेतावनी दिने गरि इतर पक्षले आगामी पुसमा आगामी पुसमा महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । त्यसैले असोज १६ को महाधिवेशन प्रक्रिया नरोकिए पार्टी विभाजन हुनबाट कसैले रोक्न नसक्ने देउवा पक्षका नेता रमेश लेखक बताउँछन् ।
संस्थापन पक्षले महाधिवेशनको तयारी तीब्र बनाइरहँदा देउवा पक्ष भने पनि कार्यकर्ता भेटघाटमा लाििगरहेको छ । आइतबार मात्रै कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी विभाजित हुने ब्रिफिङ गरेका हुन् । यद्यपी विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनले सुझाएका छन् ।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले स्पष्ट गरे ।
गुट बदल्दै नेताहरु, मिलनविन्दु खोज्दै शेखर
नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगिरहेका बेला नेताहरुको गुट अदलबदल पनि कायमै छ । यसअघि डा. शशांक कोइराला, शेखर कोइराला पक्षमा रहेकी सुजाता कोइराला संस्थापन पक्षमा खुलेकी छन् ।
आइतबारको पार्टी कार्य समितिको बैठकमा सुजाता सहभागी भएकी हुन् । देउवा पक्षले राष्ट्रिय भेला आयोजना गर्दा आफ्नो समर्थन गगनलाई रहेको बताए पनि सुजाता संस्थापन पक्षको बैठकमा भने सहभागी भएकी थिइनन् । संस्थापन पक्षविरुद्ध एक भएर लागेका इतर पक्षका सबै नेताहरु अहिले फरक फरक कित्तामा देखिन थालेका छन् । यता, नेता शेखर कोइराला भने कांग्रेस भित्रको विावद मिलाउन मिलन बिन्दुको खोजीमा छन् ।
आइतबार सभापति गगनसँग भेट गरि आफू पार्टी एकताकै पक्षमा रहेको भन्दै एकताका लागि आफ्नो पक्षबाट त्याग गर्न तयार रहेको बताएका छन् ।
भोटेकोशी बाढीको कारण देखाएर कांग्रेसको विवाद मिलाउने प्रयत्न पनि तीब्र पारिएको छ । आगामी असोज १६ मा निर्धारित महाधिवेशन नरोकिने दाबी गरे पनि वडा अधिवेशन केही पर सार्ने तयारी गरिएको छ ।
वडा अधिवेशन सारेर विवाद मिलाउने प्रयास गर्न लागिएको हो । तर १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई बेवास्ता गर्दै निर्धारित मितिमै महाधिवेशन गरिएमा भने कांग्रेस औपचारिक विभाजनमा जाने निश्चित छ ।


