News 24 Television
१०० दिनपछि बदलिए बालेन, चीन र भारतका राजदुतसँग एक्लाएक्लै भेट्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठन भएको सय दिनपछि कार्यशैली परिवर्तन गर्दै कूटनीतिज्ञ, निजी क्षेत्र र राजनीतिक दलसँग संवाद बढाएका छन् । एडीबी अध्यक्षसँग पहिलो पटक एक्लाएक्लै भेटेका उनले भारत र चीनका राजदूतसँग पनि छुट्टाछुट्टै भेटवार्ताको तयारी गरेका छन् । योसँगै उनले राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ताको तयारीमा छन् । 

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यशैली परिवर्तन गरेका छन् । प्रधानमन्त्री बनेको १०० दिनसम्म बालेनले भेटघाटलाई खासै महत्व दिएनन् । विभिन्न देशका राजदुतहरुसँग समूहमा भेटेका उनले व्यक्तिगत भेटघाटलाई सय दिनसम्म खासै महत्व दिएनन् । उनले अमेरिकी सहायक विदेशमन्त्री एस पाउल कपुर, अमेरिकी कुटनीतिज्ञ तथा सार्वजनिक मामिला हेर्ने उपविदेशमनत्री सारा बी रोजर्स र राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दुत सर्जियो गोराईलाई पनि भेटेनन् । 

प्रधानमन्त्री शाहले नभेट्ने भएपछि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण समेत रद्द भएको थियो । तर प्रधानमन्त्री शाहले असार २३ गते एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरे । 

यसअघि कुनै पनि विदेशी कुटनीतिज्ञ वा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगरेका प्रधानमन्त्री शाहले कान्दालाई भेट्दै पहिलो पटक विदेशी कूटनीतिज्ञलाई एक्लै भेटे । 

राजदुतहरुसँग एक्लाएक्लै भेट्दै प्रधानमन्त्री 

चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका बालेनले १२ दिनपछि चैत २५ गते विभिन्न देशका राजदुतहरुसँग सिंहदरबारमा एकसाथ भेटवार्ता गरेका थिए । त्यसपछि युरोपेली युनियनका राजदुत तथा कुटनीतिज्ञलाई पनि प्रधानमन्त्री बालेनले भेटेका थिए । त्यसयता विदेशी कुटनीतिज्ञलाई एक्लै नभेटेका उनले एडीबीका अध्यक्षलाई एक्लै भेटेपछि बाँकी अरु राजदुतहरुलाई पनि भेट्ने तयारी गरेका छन् । प्रधानमन्त्री बालेनले राजदुतसँगको एक्लाएक्लै भेटवार्ता भारत र चीनका राजदुतबाट गर्दैछन् । 

दुवै छिमेकी देशका राजदुतसँग प्रधानमन्त्रीले भेट्ने तय भइसकेको छ । तर भेटवार्ताको मिति भने सार्वजनिक भएको छैन । तर भारतीय राजदुत नवीन श्रीवास्तव र चिनियाँ राजदुत छाङ माओसँग प्रधानमन्त्री बालेनले गर्न लागेको भेटलाई विशेष चासो दिइएको छ । कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई भेट्ने क्रममा प्रधानमन्त्री बालेनले नेपालमा रहेका विभिन्न देशका राजदुत तथा नियोगका प्रतिनिधिहरुलाई पनि एक्लाएक्लै भेट्ने तयारी गरेका छन् । 

नीजि क्षेत्रसँग पनि निरन्तर भेटघाट 

सरकार गठन भएको सय दिन पुग्ने बित्तिकै प्रधानमन्त्री बालेनले आफ्नो शैली परिवर्तन गरेको संकेत दिए । नीजि क्षेत्रका सरोकारवालासँग पनि निरन्तर भेटघाट गरिरहेका छन् । प्रधानमन्त्री बालेनले 
असार २४ गते नीजि क्षेत्रसँग

असार २५ गते निर्माण व्यवसायीसँग

असार २६ गते उर्जा उत्पादक व्यवसायीसँग

असार ३० गते विश्वविद्यालयका उपकुलपतिहरुसँग

असार ३१ गते होटल संघका पदाधिकारीसँग

असार ३२ गते महिला उद्यमीसँग

साउन १ गते जुत्ता उद्यमीसँग

साउन ४ गते पूँजी बजार र बीमा सरोकारवालासँग

साउन ५ गते तयारी पोशाक संघ

साउन ६ गते हस्तकला महासंघ

साउन ७ गते नेपाल अग्र्यानिक संघसँग भेटघाट र छलफल गरेका छन् । 

योसँगै प्रधानमन्त्री बालेनले राजनीतिक भेटघाटलाई पनि शुरु गरेका छन् । उनले असार ३२ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गर्दै राजनीतिक भेटवार्ताको सुरुवात गरेका हुन् । अन्य दलका नेताहरुसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गर्ने बताइएको छ । 

बालेनको यूटर्नको संकेत !

प्रधानमन्त्री बालेनले दुई मुख्य छिमेकी भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेट गर्न खोज्नु, निजी क्षेत्र र अन्य सरोकारवालासँग संवाद बढाउनुलाई उनको कुटनीतिक, राजनीतिक तथा प्रशासनिक परिपक्वताको संकेतका रूपमा हेरिएको छ । 

प्रधानमन्त्री बालेनको पछिल्लो सक्रियताले महानगरको अनुभव, विद्रोही छबि र लोकप्रिय नाराले मात्रै राजकाज सञ्चालन गर्न प्रयाप्त नहुने उनले महशुष गरेको बुझ्न सकिन्छ । 

यसका लागि कूटनीतिक सम्बन्ध, लगानी, विकास साझेदारी र विभिन्न पक्षसँग सहकार्य आवश्यक पर्छ । तर यस्ता भेटघाटले मात्रै उनी पूर्ण रूपमा बदलिएका हुन् भन्ने निष्कर्ष निकाल्न भने हतार हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update