News 24 Television
कम्युनिस्ट दलहरुलाई लोकतन्त्र र संविधानको चिन्ता

काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको हो । भारतको कोलकातामा २००६ वैशाख १० गते स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टीको संस्थापक मानिन्छन्, पुष्पलाल श्रेष्ठ । 

नेपाल कम्युनिस्ट पार्टी भने विभाजित भएर दर्जनौं टुक्रामा चिरा परेको छ । विहीबार पुष्पलालको ४८ औं स्मृति दिवस मनाइरहँदा कम्युनिस्ट नेताहरुले पुनः बाम एकतामा जोड दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक मानिन्छन्, पुष्पलाल श्रेष्ठ । श्रेष्ठकै नेतृत्वमा २००६ सालमा भारतको कोलकातास्थित श्याम बजार इलाकामा घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी गठनकै बेला विभाजित बन्न पुगेको थियो । त्यतिबेलादेखि नै सग्लो नरहेको नेपाल कम्युनिस्ट पार्टी दर्जनौं टुक्रामा विभाजित छ । 

कम्युनिस्ट पार्टीका नेताहरु संस्थापक नेताहरुको विषयमा समेत एक मत छैनन् । तर उनीहरु बेला बेला एकताको चर्चा भने गरि नै रहेका हुन्छन् । विहीबार नेकपाका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइरहँदा कम्युनिस्ट नेताहरुले बाम एकतामा जोड दिए । 

उनीहरु कम्युनिस्ट आचरण र समाजवाद भन्दा पनि लोकतन्त्र र संविधानको रक्षा गर्न कस्सिएका देखिन्छन् । गत भदौ २३ र २४ को युवा पुस्ताको आन्दोलनपछि गत फागुनमा सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै २ तिहाई बहुमतका साथ सत्ताको नेतृत्वमा आएपछि कम्युनिस्ट पार्टीका नेताहरु लोकतन्त्रप्रति निकै चिन्ता ब्यक्त गरिरहेका छन् । 

एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ को जेनजी आन्दोलनले लोकतन्त्रकै हरण गरेको बताइरहँदा नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पनि उस्तै चिन्ता ब्यक्त गरे । 

उनले लोकतन्त्र मात्र होइन, नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भइराखेको तर्क गरे । उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोष्टममै उभिएर सीमा विवादबारे दिएका अभिब्यक्ति घातक रहेको टिप्पणी गरे । राष्ट्रिय स्वाधिनता र व्यवस्थाको रक्षाको लागि सबै देशभक्त, बामपन्थीहरु एकीकृत हुन आवश्यक रहेको श्रेष्ठको भनाई छ । 

कम्युनिस्ट पार्टीका नेताहरुलाई मात्र होइन, अन्य पेशागत संगठन तथा न्याय क्षेत्रका अगुवाहरुलाई पनि यतिबेला लोकतन्त्र र संविधानको चिन्ता देखिन्छ । मुलुकको लोकतान्त्रिक प्रणाली र संवैधानिक अभ्यासमा गम्भीर चुनौतिहरु देखा परेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका छन् । 

विद्यार्थी र ट्रेड युनियनहरूमाथि लगाइएको प्रतिवन्धका कारण नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नियन्त्रण गर्न थालेको आभाष उनीहरुले गरिरहेका छन् । त्यसैले एकअर्काप्रति उत्तेजित भएर नभई संविधान संशोधन र परिवर्तनका प्रस्तावहरुमा परिवर्तनकारी शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिएका छन् ।  

प्रदेशमा दुई कम्युनिस्ट पार्टीबीच नयाँ सहमतिको पहल 

कम्युनिस्ट दलहरुको एकताको कुरा गरिरहँदा प्रदेश सरकारहरुमा कचिंगल उस्तै छ । प्रदेशहरुमा कांग्रेस र एमालेबीचको सत्ता साझेदारी तोडिएको छ । कांग्रेससँगको गठबन्धन तोड्दै नेताहरुले पुनः दुई कम्युनिस्ट पार्टीबीच नयाँ सहमतिको पहल गरिरहेका छन् । यसैलाई संकेत गर्दै एमाले अध्यक्ष ओलीले प्रदेश सरकारहरुबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताए । 

प्रदेशमा पुनः एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच हुन लागेको साझेदारीलाई कम्युनिस्ट नेता कार्यकर्ताहरुले पार्टी एकताकै रुपमा अघि बढ्ने पहलका रुपमा लिएका छन् । तर संकटका बेला एकता र सहकार्यमा जोड दिने गरेका कम्युनिस्ट नेताहरु पद र प्रतिष्ठाका लागि भने विचार राजनीतिलाई नै तिलाञ्जली दिने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update