News 24 Television
रास्वपामा उकुसमुकस, विस्फोटको खतरा !

काठमाडौं । रास्वपालाई दुई तिहाईको जनमत निल्नु न ओकल्नु भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारबाट बलियो सचिवालयका साथ सत्ता सञ्चालन गरिरहेका छन् । मन्त्री भन्दा पनि सचिवालयलाई सक्रिय बनाउदा पार्टी नेताहरु रुष्ट छन् । राजनीतिक बृतमा त रवि–बालेन विचको संवादहिनता नै देखिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को चुनावमा अभुतपूर्व जनमत पायो । बालेन्द्र शाह‘बालेन’ले दुई तिहाई नजिकको जनमतका साथ सत्ताको बागडोर सम्हाले । बालेन नेतृत्वको सरकार गठन भएको चार महिना पुगिसकेको छ । लाइसेन्स छपाई, राहदानी र केहि नितिगत कामले जनमत सन्तुष्ट देखिन्छ । तर सुकुम्बासी, करका दर हेरफेर र केहि सरकारी निर्णयले आलोचना पनि उत्तिकै भइरहेको छ । 

रोचक कुरा के छ भने रास्वपा भित्रै यतिबेला उकुसमुकुसको अवस्था सिर्जना भएको छ । राजकाज सञ्चालनमा पार्टीका शिर्ष नेतादेखि केन्द्रीय नेताहरु विच वारपारकै अवस्था सिर्जना भएको बताइन्छ । 

सार्वजनिक रुपमा चर्चा नपाए भएपनि आन्तरिक स्रोतहरुले माहोल निकै भद्रगोल बन्दै गइरहेको बताउने गरेका छन् । जसका कारण प्रधानमन्त्री बालेनले पनि खुलेरै काम गर्न सकिरहेका छैनन् भन्ने चर्चा छ । जसले गर्दा विभागीय मन्त्रीहरुलाई समेत वेवास्ता गर्दै प्रधानमन्त्री शाहले आफ्नै ढंगले विभिन्न पक्षहरुसँग छलफल गरिरहेका छन् । 

बालेनको आफ्नै तौरतरिका !

प्रधानमन्त्री बालेन राजनीति भन्दा पनि डेलिभरीमा बढि सक्रिय देखिएका छन् । पार्टी सभापति, नेता, कार्याकता भेटघाटलाई प्राथमिकता दिएका छैनन् । १८२ सिट सहितको सरकार प्रमुख बालेनले पार्टी तर्फ ध्यान नदिँदा नेता कार्यकर्ता रुष्ट बन्दै गएका छन् । कतिपय नेताहरु त बालेनको शैलीको खुलेरै आलोचनामा उत्रिन थालेका छन् ।

सचिवालयलाई सर्वमान्य बनाएको भनेर सार्वजनिक रुपमै पनि आलोचना हुँदा बालेनले आफ्नौ शैली फेरेका छैनन् । यसले पार्टी राजनीति र सत्ता सञ्चालनमा असहज परिस्थिति सिर्जना भने हुन थालेको छ । बालेन खुल्न सक्ने जति खुल्न नसक्नुमा यहि मुख्य कारण मानीएको छ । 

बालेन भर्सेस् अर्थमन्त्री विवाद !

प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णीम वाग्ले विच नचाहिँदो ढंगले सम्बन्धमा दरार सिर्जना भएको छ । शिक्षा र स्वास्थ्यमा कर बढाउने कुरामा बालेनले सोझै सामाजिक संजालको सहारामा खारेज गरे । तर पार्टी भित्रको विवाद छतातुल्ल हुने डरले स्वर्णिमले असन्तुष्टि सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री बालेनले सोमबार मात्रै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बाईपास गर्दै निजी क्षेत्रका प्रतिनिधि, धितोपत्र सरोकारवाला र नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका थिए । 

त्यसयता पनि विभागीय मन्त्रीलाई वेवास्ता गरि प्रधानमन्त्री शाहले अन्य पक्षसँग पनि छलफल गरेका छन् । पार्टी सभापति रविको पक्षमा जब्बर बनेका स्वर्णीमले यसै हार मान्ने अवस्था छैन् । यो पनि मुख्य कारण हो । यहि विवादकाबारे छलफल गर्न केही दिनअघि रवि र स्वर्णिम उपत्यका बाहिर काभ्रेको दुषित थानी रिसोर्ट पुगेका थिए । 

रवि र बालेन पक्षका सांसदहरुको ध्रुवीकरण र गुटबन्दी !

राष्ट्रिय स्वतन्त्र पार्टीमा यतिबेला पार्टी सभापति रवि र प्रधानमन्त्री एवम् बरिष्ठ नेता बालेन शाह पक्षका सांसदहरु कित्ताकाट जस्तै छन् । बाहिर भने जस्तो कुनै गुट उपगुट नभएको भनेपनि असार ७ को चितवन पहिलो महाधिवेसनले गुट भएको स्पष्ट गरेको छ । 

यतिबेला सत्ता सञ्चालनमा पनि गुट उपगुट हाबी भएको नेताहरुले अनुभूति गरेका छन् । राजनीतिक नियुक्तिदेखि विभिन्न गतिविधिमा दुवै समूहले आ–आफ्नै ढंगले सक्रिय छन् । मन्त्रीपरिषद्देखि पार्टी बैठकमा पनि गुट झाँगिएको । 

पार्टी केन्द्रीय कमिटीले अझै पूर्णता पाएन 

गत महिना असारमा सम्पन्न रास्वपाको पहिलो राष्ट्रिय महाधिवेसन सम्पन्न भयो । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चुनाव भएको थियो । १५८ को केन्द्रिय कार्यसमिति रहने प्रावधान रहेपनि महाधिवेसन मार्फत् ७ जना पदाधिकारी र ९९ जना केनद्रस्ीय सदस्य चयन भए । १० जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य चयन हुन बाँकी छ । 

महाधिवेसन सम्पन्न भएको महिना दिन पुगिसक्दा पनि पदाधिकारी र केन्द्रीय सदस्यमा पुर्णता पाउन सकेको छैन । त्यसको मुख्य कारण हो, सभापति रवि र वरिष्ठ नेता बालेन विच समझदारी हुन नसक्नु । रास्वपाको सत्ता सञ्चालन र पार्टी संञ्चालनमा जे–जस्ता समस्या देखिए रवि–बालेनले एकअर्कालाई कम्परमाइज गर्दै शक्ति सन्तुलनका साथ निर्धक्क पाँच बर्षको सरकार चलाउनुपर्ने र जनतालाई डेलिभरी दिनुपर्ने समसामयीक विश्लेषक भीम उपाध्याय बताउँछन् । 

यता, नेपाली जनताले रास्वपालाई ऐतिहासिक जनमत दिएका छन् । पाँच बर्ष निर्धक्क सरकार चलाएर जनतामा डेलिभरीको आभाष होस् भन्ने कामना नागरिकको छ । यस्तो अवस्थामा रवि र बालेनले राजनीतिक स्वार्थको रोटी सेक्ने तर्फ नलागी राष्ट्रको हितमा मिलेर अघि बढ्नु नै बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update