काठमाडौं । काठमाडौंमा ४८ औं पुष्पलाल स्मृति दिवस मनाइयो । दिवसमा वक्ताको रुपमा दुई पूर्वप्रधानमन्त्रीसहित वामपन्थी नेताहरु पुगेका थिए । उनीहरुको सार एउटै थियो, मुलुकमा प्रतिगमनकारी षडयन्त्र भयो, मिलेर सामना गरौं । तर, यस्तो किन भयो भन्नेमा उनीहरुको निष्कर्ष भने रोचक छ ।
४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनीतिक परिस्थिति मा वामपन्थी दलहरूको भुमिका विचार गोष्ठीमा नेताहरुले सहकार्यको प्रस्ताव गरे। सहकार्यसंगै मोर्चाबन्दी र भर्खरै निर्वाचनबाट आएको सरकार प्रतिगमनबाट आएको आरोपसहित उनीहरुको निष्कर्ष छ, अब देश बर्बादीतर्फ हिड्यो। कार्यक्रममा वक्ताको रुपमा पुगेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले त सरकारविरुद्ध घोषित मोर्चाबन्दीको प्रस्ताव नै गरे।
ओलीले यस्तो प्रस्तावमात्रै गरेनन्, मोर्चाबन्दी, सहकार्य र अन्ततः एकताका निम्ति नै अपिल गरे। तर, अहिलेको परिस्थिति कसरी सिर्जना भयो र वामपन्थीविरुद्धको संकट कसरी निर्माण भयो भन्ने विषयमा बोल्दै गर्दा तीन वटा दल अर्थात कांग्रेस, एमाले र नेकपा मिल्दा पनि प्रतिगमन रोक्न नसकिने स्थिति सिर्जना भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनमतमाथि सोच्न अपिल गरे।
कांग्रेस, एमाले र नेकपा अत्यन्तै सानो आकारमा खुम्चिएका छन्। यस्तो स्थितिमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले वामपन्थीहरुले आफैभित्र समिक्षा गर्नुपर्ने र बिग्रिएको कुरा स्वीकार गर्नुपर्नेमा जोड दिए।
यता, प्रचण्डले भने सरकार एकदिनमै ढाल्न सकिने रहेछ भन्दै मिलेर घेरा हाल्न अपिल गरे। प्रचण्डले यतिमात्रै भनेनन्, भदौ २३ र २४ गते सुरक्षा निकायले धोका दिएको आरोप समेत लगाए।
वामपन्थी शक्तिहरुको एकता, सहकार्य तथा मोर्चाबन्दीका विषयमा बहस भएपनि उनीहरुले मिल्न सकिने आधार भने दिन सकेनन्। तत्काल कसरी शक्तिशाली बन्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेका उनीहरुले कमजोर भएको स्वीकार गरे।
कमजोर बन्नुमा आफै कारक बनेको पनि स्वीकार गरे तर, बलियो कसरी बन्ने भन्नेमा भने एकता, सहकार्यमाभन्दा पनि बहसमै जोड दिए। के वामपन्थी दलहरु यसरी नै अघि बढ्दा सफलता प्राप्त गर्लान? बहस शुरु भएको छ।
