कैलाली । धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा डा. गोविन्द केसीको सत्याग्रह दोस्रो दिन पनि जारी छ । स्वास्थ्य क्षेत्र सुधारका पाँचबुँदे माग अघि सार्दै उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने नियुक्ति खारेज गर्न, चिकित्सा शिक्षा ऐन संशोधन गर्न, छात्रवृत्ति कटौतीको निर्णय फिर्ता लिन र मापदण्ड नपुगेका निजी मेडिकल कलेजमा थप सिट स्वीकृति रोक्न सरकारसँग माग गरेका छन् ।
विगतका सहमति कार्यान्वयन, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने तथा भ्रष्टाचार र अपराधका आरोपमाथि निष्पक्ष अनुसन्धानको मागसमेत डा. केसीले गरेका छन् । डा. केसीले आफू विश्वविद्यालयको विरोधमा नभई स्वार्थ बाँझिने नियुक्तिको विरोधमा सत्याग्रहमा बसेको स्पष्ट पारेका छन् ।
यता शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले भने डा. केसीलाई सत्याग्रह स्थगित गर्न आग्रह गरेको छ ।
संयोजक लोकराज पाण्डेको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई भेटेको टोलीले आन्दोलनका कारण विश्वविद्यालय सञ्चालन र विकासको प्रक्रिया प्रभावित हुन सक्ने भन्दै आवश्यक पहल गर्न अनुरोध गरेको हो ।
उता, कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले पूर्वसूचना बिना अनिश्चितकालीन सत्याग्रह सुरु गरिएको भन्दै डा. केसीलाई स्थान खाली गर्न पत्र दिएको छ । तर डा. केसीले व्यवस्थापन समितिसँग सहमतिमै सत्याग्रह सुरु गरेको दाबी गर्दै केही स्वार्थ समूहले आन्दोलन कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए ।
उनले दबाब र अवरोधका बाबजुद आफ्ना मागबाट पछि नहट्ने र आवश्यक परे फुटपाथमै बसेर पनि सत्याग्रहलाई निरन्तरता दिने बताएका छन् ।
चिकित्सा शिक्षा सुधारको मागसँगै डा. केसीको आन्दोलन जारी रहँदा विश्वविद्यालय सञ्चालनमा असर पर्ने चिन्ता भने स्थानीय स्तरमा बढ्दै गएको छ ।
