काठमाडौं । नेपालको कुटनीतिमा असंलग्नता, पञ्चशिलता जस्ता विषयहरु प्राथमकिताका विषय हुन्। यसमा सहअस्तित्व र सार्वभौमिकताका निम्ति गरिने काम समेत कुटनीतिक मर्यादाभित्र पर्छन्। यस्तोमा रास्वपाले सरकार निर्माण गरेपछि देखाएको कुटनीतिक सक्रियताको खुशीयाली भने लामो समय टिक्न सक्ने देखिन्न। भूराजनीतिक अवस्थितिलाई सरकारले कसरी अघि बढाउछ ? यो मुख्य विषय बन्न पुगेको छ ।
राजाको पालामा समेत भारतीय दूतावासमा शरण लिइयो। वेलायतसंगको सन्धी होस वा नेपालले लडेर प्राप्त गरेको भूमि गुमेको स्थितिपछिको अवस्था नै किन नहोस्, हस्तक्षेप बढेकै देखिन्छ। तिब्बतसंगको लडाईका कारण चिनियाँ सेना रसुवा पुगेको कुरादेखि धेरै कुराले नेपालले सार्वभौमिकताको रक्षा गर्नका निम्ति अनेक सम्झौता, कुटनीतिक पहल तथा सम्बन्ध विस्तारका निम्ति पहल र प्रयास गरेको देखिन्छ। यस्तोमा पछिल्लो समय नेपालको शीर्ष राजनीतिज्ञको कोठासम्मै विदेशी राजदूतले नै पहुँच निर्माण गरेको विषयले जनतामा ठूलो निराशा देखिन्थ्यो ।
पुराना दहलरुले कुटनीतिक मर्यादा पालना नगर्दा नेपालको शीर झुकेको भन्दै चिन्ता समेत व्यक्त गर्ने गरिन्थ्यो। यतिमात्रै नभई वालुवाटारमा मध्यरातमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले रअ प्रमुख सामन्त कुमार गोयललाई भेटेको विषयले तत्कालीन नेकपामा ठूलो रडाको नै मच्चिएको थियो। यता।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार गर्ने भन्दै कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले गोप्य पत्र नै लेखेको सार्वजनिक भयो। जबकी त्यो बेला तत्कालीन नेकपाका नेता कार्यकर्ता सडकमा एमसीसीको विरोधमा नारा जुलुस गर्रै थिए।
यसरी अघि बढेको नेपालको कुटनीतिको दिक्दारी वालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि विभिन्न देशका राजदूत, कुटनीतिज्ञलाई सामूहिक भेट दिएर नयाँ मानक स्थापित गरेको भन्दै चर्चा भयो।
वालेन्द्र शाहले यसरी भेटेपछि चलेको चर्चाकाबीच अमेरिकी दुई कुटनीतिज्ञ काठमाडौं ओर्लिए। वालेन्द्रले भेटेनन्। भारत भ्रमणको अन्तिम तयारी चलेको भन्दै भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने मिति तय भयो। वालेन्द्रले नभेट्ने भनेपछि उनी आएनन्।
जे जस्तो स्थिति बनेपनि वालेन्द्रले कुटनीतिक काम परराष्ट्रमार्फत नै अघि बढाउने भन्दै लिएको अडानलाई धेरैले सकारात्मक नै ठाने। तर, यो विषय लामो समय भने टिक्न सकेन । वालेन्द्रको निर्देशनमा नै कुमार बेन सडकमार्ग हुँदै दिल्ली पुगेको चर्चा चलिरहेको छ।
कुमार भारत पुगेकै हुन ?
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार कुमार बेन पार्टीलाई कुनै जानकारी नै नदिई भारत पुगेको खुलासा भएको छ । बेनले पार्टी सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालसंगको कुनै परामर्श नै नलिई सडकमार्ग हुँदै भारत पुगेको दाबी गरिएको छ। बेन सिमरासम्म बुद्ध एयरबाट पुगेका थिए ।
उनी असार १९ गते सिमरा पुगेर सडकमार्ग हुँदै दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसंग भेटेर २३ गते फर्किएका हुन् । असार १९ गते बिहान ७ः३५ बजे बुद्ध एयरको फ्लाइट ५५१ मार्फत सिमरा पुगेको र भारतीय पक्षकै सहयोगमा स्थलमार्ग हुँदै दिल्ली पुगेको बताइन्छ। यद्यपी बेनले आफू भारत नपुगेको दाबी गर्दै आएका छन्।
चीन र भारतका राजदूत भेट्ने तयारी
प्रधानमन्त्री वालेन्द्र शाहले चीन र भारतका राजदूतलाई एक्लाएक्लै भेट्ने तयारी गरेका छन्। साउनभित्रै राजदूतसंगको भेट गर्नेबारे प्रधानमन्त्री कार्यालयले तयारी गरिरहेको बताइएको छ। तर, वालेन्द्रले कुटनीतिक आचारसंहिता भन्दै परराष्ट्रमन्त्रीभन्दा तलका अधिकारीलाई नभेट्ने भन्दै आएका थिए। तर, किन उनी यसरी कुटनीतिक रुपमा नयाँ अध्याय शुरु गर्ने मोडमा पुगे भन्ने खुलेको छैन्। भारत र चीनका राजदूतलाई भेट्ने तयारीकाबीच अन्य शक्तिशाली देशका राजदूतहरुले पनि यो विषयलाई नजिकबाट नियालिरहेको बताइन्छ। यस्तो विषयले कुटनीतिक रुपमा समेत प्रभाव कस्तो पर्छ भन्ने चासो देखिन्छ।
रवि चीन जाने तयारीमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा भव्यतापुर्वक भ्रमण गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेका रवि अहिले चीन भ्रमणको तयारीमा देखिन्छन्। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने गरि चाँजो मिलाउन पहल गरिरहेको बताइन्छ।
रविले भारतपछि चीनको उच्चस्तरिय भ्रमण गर्दै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले राजदूतसम्मलाई पनि नभेट्नुले रास्वपाभित्रको आन्तरिक राजनीतिमा हलचलको संकेतको रुपमा हेरिएको छ।
वालेन्द्रले के गर्लान् ?
कुटनीतिक काम परराष्ट्रमार्फत नै गर्ने भनेका वालेन्द्र आचारसंहिता नै बनाएर अघि बढेको भनेपछि धेरैले खुशी व्यक्त गरिरहेका थिए। सामान्य कर्मचारीस्तरको कुटनीतिज्ञले पनि नेपालमा सहजै नेताहरुसंगको पहुँच स्थापित गर्न सकेको भन्दै जनतामा एकखाले निराशा र तनाव देखिन्थ्यो। तर, वालेन्द्रले थिति बसाल्ने गरि कदम चालेको भन्दै छाएको खुशी धेरै समय टिक्दैन कि भन्ने चिन्ता बढेको छ। के वालेन्द्रले कुटनीतिक आचारसंहितामा आफूलाई बाँधिराख्लान? भेटको अर्जि हाल्न सल्लाहकारलाई प्रयोग नगरेको तथ्य स्थापित गर्लान? प्रश्न र चासोहरु बढेका छन्।
