News 24 Television
पूजारी भन्छन्– बृहस्पति अन्ध रहेको भ्रमले दर्शनार्थी घटे

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ स्थित देशकै ऐतिहासिक र धार्मिक महत्व बोकेको गलेश्वरधाममा यस वर्षको साउन महिनामा विगतका वर्षको तुलनामा भक्तजनको चहलपहलमा कमि आएको छ । 

बृहस्पति अन्ध रहेको अवधिमा शुभकार्य गर्न नहुने धार्मिक मान्यताका कारण पनि दर्शनार्थीहरुको कमी आएको हो ।

साउन महिना भगवान शिवको अत्यन्त प्रिय महिना भएकाले यस अवधिमा शिवको आराधना, रुद्राभिषेक, बेलपत्र चढाउने तथा जल चढाउनु विशेष फलदायी मानिन्छ । तर बृहस्पति अन्ध भएकै कारण मन्दिरमा दर्शन गर्न हुँदैन भन्ने भ्रम फैलिएको छ । 

बृहस्पति अन्ध रहेको अवधिमा शुभकार्य गर्न नहुने धार्मिक मान्यतालाई लिएर दर्शनसमेत गर्न नहुने भन्ने भ्रमका कारण भक्तजनको संख्या घटेको छ । 

गलेश्वर शिवालयका गलेश्वरधामका मूल पुजारी चन्द्रमणि आचार्यका अनुसार धार्मिक शास्त्रमा भगवानको दर्शन र पूजा–अर्चना गर्न कुनै निषेध गरिएको छैन । बरु साउन महिनामा शिवको आराधना गर्दा विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । 

गलेश्वरधाममा रहेको प्राकृतिक शिलामाथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग विशेष आकर्षणको केन्द्र हो । एउटै ९ रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि रहेको यो शिवलिङ्ग देश–विदेशका भक्तजनका लागि श्रद्धाको केन्द्र बनेको छ । 

विशेषगरी साउन महिना, महाशिवरात्रि, बालाचतुर्दशी तथा तीजका अवसरमा यहाँ हजारौँ श्रद्धालुको भीड लाग्ने गर्दछ । 

धेरै धार्मिक स्थलहरुमा पछि स्थापना गरिएको शिवलिङ्गमा पुजा गरिन्छ भने गलेश्वरधाममा स्वयं उत्पत्ती ज्योतिर्लिङ्ग भएको हुँदा पनि यस स्थानको छुट्टै धार्मिक महत्व हुने बताइन्छ । 

साउनको दोस्रो सोमबार भक्तजनले चढाएको भेटी गणना गरी बेनीस्थित गरिमा विकास बैंकमा दाखिला गरिएको छ । पहिलो सोमबार करिब दुई लाख रुपैयाँ भेटी संकलन भएको गलेश्वरधाममा दोस्रो सोमबार पनि करिब सोही हाराहारी रकम संकलन भएको थियो । भक्तजनको संख्या केही घटे पनि धार्मिक आस्थाका साथ दर्शन गर्ने क्रम भने निरन्तर भइरहेको छ ।

गलेश्वर शिवालय क्षेत्र परिसरमा निर्माण गरिएको १०८ शिवलिङ्ग भक्तजनका लागि अर्को प्रमुख आकर्षण बनेको छ । 

गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनको अगुवाइमा चन्दा तथा सहयोगबाट संकलित करिब साढे १३ लाख रुपैयाँमध्ये साढे ७ लाख रुपैयाँ खर्च गरेर शिवलिङ्ग निर्माण गरिएको थियो । 

२०७६ सालमा निर्माण गरीएको यो धार्मिक महत्व दिने आकृति एकै स्थानमा १०८ शिवलिङ्गको दर्शन र पूजा गर्न सकिने भएपछि दैनिक रूपमा भक्तजन पुग्ने गरेका छन् । 

धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अनुपम संगमका रूपमा रहेको गलेश्वरधामले म्याग्दीको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । २०८२ सालका चार वटा सोमबार गरी झण्डै १७ लाख रुपियाँ भेटी संकलन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update