काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो समय एउटा गम्भीर बहस सुरु भएको छ— के नयाँ पुस्ता इतिहास, मूल्य–मान्यता र लोकतान्त्रिक संस्कारबाट बिमुख हुँदै गएको हो ? इतिहास भुलेर केवल ‘सस्तो लोकप्रियता’ र ‘स्टन्ट’मा सीमित हुन थालेको हो ? नेपालमा सात दशक लामो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, कानुनी शासन र समावेशी संविधानको आधारस्तम्भ भनेकै अग्रजहरूको त्याग हो । तर, पछिल्ला केही वर्षयता राजनीति र सामाजिक सञ्जालमा बढ्दै गएको उत्तेजना, भ्रामक सूचना, हिंसात्मक अभिव्यक्ति तथा बदलाको भावनाले नयाँ पुस्ताको वैचारिक परिपक्वतामाथि प्रश्न उठाएको छ ।
इतिहास र अग्रजको उपेक्षा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसका अवसरमा व्यक्त गरेको चिन्ताले नयाँ पुस्ताको सामाजिक–राजनीतिक व्यवहारमा देखिएको गम्भीर विचलनलाई संकेत गर्छ । उनले नयाँ पुस्तामा इतिहास र अग्रजहरूको योगदानप्रति सम्मान गर्ने संस्कार हराउँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । देश निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूको कदर हुन नसक्नुलाई ‘लाजमर्दो अवस्था’ भन्दै नेता नेपालले समाजले कस्तो संस्कार र पुस्ता हुर्काइरहेछ भन्नेबारे आत्ममन्थन गर्न आग्रह गरे । साथै, गत भदौको ‘जेनजी आन्दोलन’का क्रममा भएका हिंसा, अरूको घर जलाउने र हातपात गर्ने जस्ता घृणित कार्यहरू पुनः देखिन थालेको भन्दै उनले त्यसको विरोध गरे । समाजमा मानवीय संवेदना, सहिष्णुता र आत्ममूल्यांकनको भावना अभिवृद्धि गर्न सबै पक्षसँग अपिल समेत गरे ।
खस्कँदो संवेदना र दण्डहीनता
गत वर्ष भदौ २३/२४ गतेको ‘जेनजी आन्दोलन’ र त्यसअघिको २०८१ चैतमा भएको राजावादी प्रदर्शनका क्रममा देखिएका घर, सम्पत्ति तथा व्यवसाय जलाउने, भौतिक आक्रमण तथा तोडफोड र लुटपाटजस्ता अराजक गतिविधि पछिल्लो सुनसरी/सिरहा घटनामा समेत दोहोरिन पुगे । यस्ता घृणित कार्यहरूले समाजमा सहिष्णुता र मानवीय संवेदना खस्कँदै गएको पुष्टि गर्छ भने राज्य कमजोर हुँदै गएको संकेत मिल्छ । यसरी आगजनी र तोडफोडमा उत्रिनेहरुमाथि कानूनी कारवाही हुनुपर्ने हो, त्यत्तिकै छोड्दा उनीहरुको मनोबल बढ्नुका साथै भविष्यका लागि खतरनाक नजिर समेत बस्छ । केवल सामाजिक सञ्जालको क्षणिक ‘लाइक’ र ‘भ्युज’का लागि उग्रता प्रदर्शन गर्ने र विगतका लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरूलाई उपहास गर्ने प्रवृत्ति समेत बढ्दो छ । यसले नागरिक संस्कारमै ह्रास आएको देखाउँछ ।
सस्तो लोकप्रियता र बदलाको राजनीति
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सोमबार राष्ट्रिय सभामा बोल्दै आजको राजनीतिमा त्याग, निष्ठा र संवादको अभाव देखिएको टिप्पणी गरेका छन् । पुस्तौँदेखिको धार्मिक–सामाजिक सहिष्णुतालाई केही घण्टाको उत्तेजना र झुटो सूचनाले भत्काउनजस्ता अराजक गतिविधि बढेकोमा उनको पनि चिन्ता छ । मुलुकमा बढ्दै गएको हिंसा, साम्प्रदायिक तनाव र राजनीतिक खिचातानीप्रति गम्भीर चिन्ता व्यक्त उनले गर्दै सरकारलाई इतिहासका सफल नेताहरूबाट पाठ सिक्न आग्रह समेत गरे । बीपी कोइरालाको मेलमिलाप नीति, गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्टराईको निष्ठा र गिरिजाप्रसाद कोइरालाको वार्ताको बाटो स्मरण गराउँदै वर्तमान नेतृत्वलाई यी आदर्श पछ्याउन सुझाव दिए । नयाँ पुस्ताका नेता, मन्त्री तथा सांसदहरुले नेल्सन मन्डेलाबाट सिक्नुपर्ने बताउँदै उनले बदलाको राजनीति छाडेर क्षमा तथा मेलमिलापको बाटो अपनाउनुपर्नेमा जोड दिए ।
नयाँ पुस्तामा पुराना नेताहरूको कार्यशैली र बेथितिलाई लिएर आक्रोश हुनु स्वाभाविक भए पनि त्यो आक्रोश वैचारिक विकल्प र सुशासनको निर्माणमा रूपान्तरण हुनुपर्ने हो । तर अराजकता र मूल्यहीनतातर्फ मोडिनु देशका लागि घातक हुन सक्छ । अग्रजहरूले इतिहासमा गरेका गल्तीबाट पाठ सिक्नु र उनीहरूका राम्रा काम तथा त्यागको सम्मान गर्नु नै परिपक्व राजनीतिको लक्षण हो । यदि नयाँ पुस्ताले इतिहासको बलिदानलाई भुलेर केवल आक्रोश, उत्तेजना र बदलालाई आफ्नो राजनीतिक हतियार बनाइरहने हो भने त्यसले लोकतान्त्रिक व्यवस्था र सामाजिक सद्भावलाई नै जोखिममा पार्नेछ । त्यसैले, आजको आवश्यकता संस्कारयुक्त, उत्तरदायी र विचारमा आधारित परिवर्तन हो ।
