काठमाडौँ । पछिल्लो समय चर्चित सञ्चारकर्मी सुरजसिंह ठकुरी आइसीयूमै पसेर अन्तर्वार्ता लिएको कारण गम्भीर विवाद र चौतर्फी आलोचनाको घेरामा तानिएका छन् । रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म थुनिएर जीवितै उद्धार गरिएका घाइतेसँग अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै छिरेर जबरजस्ती अन्तर्वार्ता लिएपछि यो विवाद चर्किएको हो । अति–संवेदनशील स्थितिमा रहेका बिरामीलाई आवश्यक आराम र चिकित्सकीय हेरचाहको साटो क्यामेरा र माइक तेस्र्याएर ‘एक्सक्लुसिभ’ बनाउन खोजिएको भन्दै आम नागरिक, चिकित्सक र सञ्चार विज्ञहरूले यसलाई मानवीय संवेदनहीनताको पराकाष्ठा र पत्रकारिताको आचारसंहिताको नाङ्गो उल्लङ्घनका रूपमा टिप्पणी गरेका छन् । यो विषयमा सत्तारुढ दल रास्वपाकै सांसदले समेत संसदमा प्रश्न उठाएका छन् ।
प्रेस काउन्सिल र मेडिकल काउन्सिलको कडा कदम
उक्त घटना सामाजिक सञ्जालमा भाइरल र आलोचित भएपछि प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण गराउँदै सञ्चारकर्मी सुरजसिंह ठकुरीसहित संलग्न मिडिया र अस्पताललाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । काउन्सिलका अनुसार बिरामीको गोपनीयता र स्वास्थ्य संवेदनशीलतालाई बेवास्ता गर्दै सामग्री तयार पार्नु न्यूनतम पत्रकारिता मान्यताविपरीत हो ।
प्रेस काउन्सिलको पत्राचारपछि नेपाल मेडिकल काउन्सिलले समेत यस विषयमा अनुधान थालेको छ । काउन्सिलका रजिस्ट्रार सुप्रभात श्रेष्ठका अनुसार काउन्सिलको ‘इथिकल कमिटी’ले अस्पताल प्रशासन र चिकित्सकको अनुमतिबारे विस्तृत अध्ययन गरिरहेको छ । सैनिक अस्पतालको आइसीयु उपचाररत रहेको अवस्थामा सुरजसिंहले सञ्जय साह र कबिर महर्जनको अन्तर्वार्ता लिएका थिए । सामान्यतया अस्पतालको आइसीयूमा बिरामीका आफन्तलाई जान समेत रोक लगाउने गरिएकोमा पत्रकारलाई कसरी कसले अनुमति दियो भन्ने विषय पेचिलो बनेको छ । प्रोटोकल मिचेर पत्रकार आइसीयूमा पुगेर अन्तर्वार्ता लिएको विषयबारे नेपाली सेनाले पनि चासोका साथ आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ ।
सांसदको प्रश्न : विपदमा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?
यो प्रकरणको बाछिटा प्रतिनिधि सभासम्म पुगेको छ । मङ्गलबारको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बाँस्कोटाले अस्पतालको आइसीयूजस्तो अति–संवेदनशील कक्षमा मिडिया छिर्नु र अन्तर्वार्ताका लागि अनुमति दिनु कतिसम्म नैतिक अभ्यास हो भन्दै कडा प्रश्न उठाएकी छन् । १० दिनसम्म सुरुङमा थुनिएर बल्ल उद्धार गरी आईसीयूमा उपचाररत व्यक्तिसँग युट्युब च्यानलले आइसीयूभित्रै अन्तर्वार्ता लिइनु गम्भीर आपत्तिको विषय भएको उनको भनाइ छ । आईसीयूमा उपचाररत बिरामीको संवेदनशीलता, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा निश्चित समयका लागि परिवारलाई मात्र भेट्न दिइने ठाउँमा अन्तर्वार्ता सार्वजनिक गरिनुले स्वास्थ्य क्षेत्रको संवेदनशीलता उदाङ्गो पारेको भन्दै उनले संसदमा प्रश्न उठाएकी हुन् ।
भ्युज’ र टीआरपीको भोकका कारण मानिसको जीवन–मरणको दोसाँधमाथि व्यापार गर्न खोज्नु पेसागत अपराध हो । प्रेस काउन्सिल र नेपाल मेडिकल काउन्सिलले चालेको अनुसन्धानको कदम स्वागतयोग्य छ । सञ्चारमाध्यमहरूले ‘प्राइम टाइम’को नाममा बिरामीको अधिकार हनन गर्न पाउँदैनन् भने अस्पताल प्रशासनले पनि सघन उपचार कक्षमा मिडियालाई छिर्न दिने फितलो सुरक्षा नीतिको तत्काल समीक्षा गर्न आवश्यक छ । यसअघि बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थुनुवा (अभियुक्त) प्रहरी हिरासतमा रहेकै बेला अस्पतालको कक्षबाट लिइएको बयानको भिडियो सार्वजनिक भएपछि यस्तै गम्भीर नैतिक र कानुनी प्रश्न उठेका थिए । यस्ता घटनाहरु अब दोहोरिनु हुँदैन ।


