News 24 Television
अध्ययनकै क्रममा विश्वव्यापी कम्पनीमा काम गर्दै इजलिङ्टन कलेजका २९ विद्यार्थी

काठमाडौँ । नेपाल नछोडीकनै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यका साथ इजलिङ्टन कलेजले ‘नेपालबाटै विश्व हल्लाउँदै’ (रकिङ द वर्ल्ड फ्रम नेपाल) अभियानलाई व्यवहारमै उतारेको छ। कलेजले अन्तर्राष्ट्रिय उद्योगसँगको सहकार्यलाई पाठ्यक्रमकै हिस्सा बनाएपछि यहाँ अध्ययनरत २९ जना विद्यार्थीहरूले स्नातक तह (डिग्री) पूरा हुनुअघि नै काठमाडौँमै बसेर अमेरिका, अस्ट्रेलिया र संयुक्त अधिराज्य (युके) का अन्तर्राष्ट्रिय कम्पनीहरूमा काम गर्ने अवसर पाएका छन्।

कलेजका साझेदार संस्था ‘ग्लोबल टिम्स एआई’ र ‘पेक्सस टेक’ सँगको सहकार्यमा विशेष तालिम प्राप्त गरेका यी विद्यार्थीहरूलाई पहिलो ‘कृत्रिम बुद्धिमत्ता-मैत्री’ (एआई-नेटिभ) समूहका रूपमा अघि बढाइएको छ। विद्यार्थीहरूले आफ्नो मूल विषयका साथै आधुनिक कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित विश्वव्यापी कार्यपरिवेशमा काम गर्ने सीप विकास गरेका छन्। पेक्सस टेकका मुख्य कार्यकारी अधिकृत (सिइओ) प्रशान्त केसीका अनुसार कलेजका विद्यार्थीहरू प्राविधिक रूपमा अत्यन्त दक्ष र पहिलो दिनदेखि नै आधुनिक प्रविधियुक्त वातावरणमा काम गर्न पूर्ण सक्षम रहेका छन्।

इजलिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकीका अनुसार विद्यार्थीहरूले अध्ययन पूरा गर्ने कि रोजगारी सुरु गर्ने भन्ने दुविधामा पर्नु परेको छैन, बरु दुवै काम एकैसाथ अघि बढाइरहेका छन्। कलेजले वास्तविक परियोजना, व्यावहारिक अनुभव र उद्योग-अनुकूल प्रयोगशाला सुविधामार्फत विद्यार्थीहरूलाई भविष्यका लागि तयार पारिरहेको छ। यसले सही तालिम र अवसर पाएमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न विदेश जानु नपर्ने र अध्ययनकै क्रममा नेपालबाटै विश्वव्यापी अवसरहरू समात्न सकिने सन्देश दिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update