कास्की । साउन लागेसँगै पोखराको बजारमा पहाडी क्षेत्रमा पाइने औषधीय गुणयुक्त टुसाको कारोबार सुरु भएको छ । पोखरा घुम्न आउने पर्यटकका लागि टुसा लोकप्रिय कोसेली बन्दै गए पनि यस वर्ष उत्पादन र आपूर्ति घट्दा व्यापार पनि सुस्त बनेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले चोरी निकासी नियन्त्रण गरेसँगै बजारमा टुसाको उपलब्धता कम भएको जनाएको छ । पोखरा घुम्न आउने धेरैजसो आन्तरिक पर्यटक फर्किने बेला स्थानीय कोसेलीका रूपमा टुसा लैजान रुचाउँछन् ।
औषधीय गुणले भरिपूर्ण मानिने टुसाको तरकारी पछिल्ला वर्षहरूमा झन् लोकप्रिय बन्दै गएको छ । अधिकांश टुसा पाइने क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्छन् । संरक्षणसँगै स्थानीयको आयआर्जनलाई समेत ध्यानमा राख्दै एक्यापले हरेक वर्ष साउन महिनाभर सर्वसाधारणलाई टुसा संकलन गर्न अनुमति दिने गरेको छ ।
असारदेखि भदौसम्म टुसा पलाउने मुख्य याम हो । कास्कीका ल्वाङ, घलेल, भुर्जुङखोला, सिक्लेस, ताङतिङ, याङजाकोट, घान्द्रुक, लान्द्रुक, धम्पुस र लुम्लेलगायत उच्च पहाडी क्षेत्रबाट बजारमा टुसा ल्याइन्छ । मानव स्वास्थ्यका लागि उपयोगी भएकाले यसको महत्व हरेक वर्ष बढ्दै गएको एक्यापको भनाइ छ ।
साउन महिनामा धेरैले माछामासु कम खाने परम्परा र यही समयमा टुसाको उत्पादन बढी हुने भएकाले व्यापार पनि बढ्ने गरेको थियो । तर यस वर्ष भने बजारको अवस्था फरक देखिएको छ । व्यापारीका अनुसार उत्पादन कम भएकाले बजारमा टुसाको आपूर्ति घटेको छ ।
अहिले पोखरामा प्रतिमुठा ८० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । राम्रो व्यापार भएका दिन एकै स्थानबाट दुई सय मुठासम्म बिक्री हुने गरे पनि अघिल्लो वर्षको तुलनामा यसपालि कारोबार घटेको व्यवसायीको भनाइ छ ।
पछिल्ला वर्षहरूमा टुसाको चोरी निकासी बढेपछि एक्यापले व्यवस्थापन कडा बनाएको छ । बोलकबोल प्रक्रियामार्फत वैधानिक रूपमा संकलन र बिक्रीको व्यवस्था गरिएको छ ।
अघिल्ला वर्षमा करिब ९ लाख टुसा निकासा गरिएकोमा यस वर्ष ६ लाख मात्रै निकासा गरिएको र चोरी निकासी नियन्त्रण गरिएकाले पनि बजारमा टुसाको उपलब्धता कम भएको एक्यापले जनाएको छ ।
उच्च पहाडी क्षेत्रको प्राकृतिक उत्पादन टुसा जडीबुटी मात्र होइन, पोखराको पहिचान बनेको कोसेली पनि हो । तर उत्पादनमा कमी र अवैध निकासी नियन्त्रणको प्रभाव यस वर्ष बजारमा स्पष्ट देखिएको छ ।
संरक्षण र व्यवस्थित व्यवस्थापनसँगै उत्पादन बढाउन सकिए टुसाको व्यापारले स्थानीय अर्थतन्त्रलाई अझ बलियो बनाउने अपेक्षा समेत गरिएको छ ।
