काठमाडौँ । विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजमा आयोजित पहिलो अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन (आइक्याप २०२६) काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मनोवैज्ञानिक अभ्यासलाई उपचार–केन्द्रित दृष्टिकोणबाट रोकथाम–केन्द्रित मोडेलमा रूपान्तरण गर्ने ऐतिहासिक प्रतिबद्धता जनाइएको छ ।
हाइब्रिड (प्रत्यक्ष र अनलाइन) रुपमा आयोजना गरिएको तथा तीन दिनसम्म चलेको यो सम्मेलनमा संंयुक्त राज्य अमेरिका, क्यानडा, भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, भियतनाम, मलेसिया, अर्जेन्टिना, मेक्सिको, स्पेनलगायत २२ देशका २ सय ४५ जना सहभागीहरूले भाग लिएका थिए ।

समापन सत्रमा आइक्याप २०२६ का कन्फेरेन्स सचिव डा. नरेन्द्र सिंह ठगुन्नाले सम्मेलनका काठमाडौं घोषणापत्रका मुख्य बुँदाहरुलाई प्रस्तुत गरेका थिए । ‘विश्वविद्यालय, मनोविज्ञानको क्षेत्रमा कार्यरत व्यक्तिहरु र समुदायलाई जोड्न अन्तर्राष्ट्रिय सञ्जाल र साझेदारीलाई बलियो बनउने, विशेष गरी नेपाल र दक्षिण एसियालाई विश्वव्यापी रुपमा मनोविज्ञान समुदायसँग जोड्ने, व्यावहारिक र रोकथामात्मक मनोविज्ञानलाई शैक्षिक पाठ्यक्रममा एकीकृत गर्ने, सिद्धान्तलाई व्यावहारिक, समुदाय–आधारित शिक्षा र इन्टर्नशिपसँग जोड्ने जस्ता कुराहरु घोषणापत्रमा उल्लेख छ,’ ठगुन्नाले भने ।
डा. ठगुन्नाका अनुसार मनोविज्ञानलाई उपचारबाट रोकथामतर्फ, संस्थानबाट समुदायतर्फ र स्थानीय ज्ञानबाट विश्वव्यापी साझेदारीतर्फ अगाडि बढ्न सम्मेलनले प्रतिबद्धता जनाएको छ ।
काठमाडौं विश्वविद्यालयको भाषा तथा जनसञ्चार विभागका प्रमुख प्रा. डा. निर्मल मणि अधिकारीले अन्तर–सांस्कृतिक दृष्टिकोणको महत्वलाई जोड दिँदै भने, ‘बहु–विषयक र अन्तर–सांस्कृतिक दृष्टिकोणमार्फत विभिन्न सांस्कृतिक ढाँचामा मनोवैज्ञानिक विकारलाई कसरी फरक–फरक रूपमा बुझ्न सकिन्छ । जब हामी आधुनिक मनोवैज्ञानिक अभ्यासलाई अवलोकन गर्छौं, त्यहाँ हामीले अनेक विसंगति देख्न सक्छौं । धेरै स्थापित दृष्टिकोणहरू अत्यधिक पश्चिमीकृत रहेका छन्।’ अहिले शैक्षिक क्षेत्रमा विस्तारै पश्चिमका जन्मिएका चिन्तनहरुमाथि पनि बहस सुरु भइसकेको छ । विभिन्न खालका वैकल्पिक दृष्टिकोणसमेत आउन थालेका डा. अधिकारीको भनाइ छ ।

उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले मनोविज्ञानको अन्तर–विषयक विषयवस्तुमाथि प्रकाश पार्दै बेरोजगारी र युवा पलायनलगायत चुनौतीहरू सम्बोधन गर्न मनावैज्ञानिक तवरको बुझाइ चाहिने बताए । काठमाडौं विश्वविद्यालयका स्कुल अफ आर्टसका डिन डा. उद्धव प्याकुरेलले भने, ‘यो सम्मेलन नेसनल कलेज, काठमाडौं विश्वविद्यालयका लागि मात्र नभई नेपालको सम्पूर्ण शैक्षिक समुदायका लागि एउटा ऐतिहासिक अवसर हो । त्यही भएर पनि यो सम्मेलनको विशेष महत्व रहेको छ।’
मुख्य वक्ता प्रा. डा. हृदय रत्न बज्राचार्यले आधुनिक मनोविज्ञानसँग बौद्ध धर्मको अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै टिप्पणी गरे, ‘बौद्ध दर्शनका अनुसार मन नै दुःख र सुख दुवैको मुख्य स्रोत हो । मानव व्यवहारलाई जागरूकता र अभ्यासमार्फत रूपान्तरण गर्न सकिन्छ । यस्ता विषयमा बौद्ध दर्शन र मनोविज्ञान अन्तरसम्बन्धित छन् ।’
आयोजक नेसनल कलेजका उपप्राचार्य छत्र कार्कीका अनुसार सम्मेलनमा १२ वटा भौतिक सत्र र पाँचवटा भर्चुअल सत्र राखिएको थियो, जसमा स्वदेशी तथा विदेशी अनुसन्धाताका जम्मा १ सय ६० वटा शोधपत्र प्रस्तुत गरिएका थिए ।

आइक्याप २०२६ का कन्भेनर तथा नेसनल कलेजका प्राचार्य माधवप्रसाद न्यौपानेले सम्मेलनमा भाग लिएका स्वदेशी तथा विदेशी सबै सहभागीहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाए । नेसनल कलेजका अध्यक्ष डा. बद्रीदेव पाण्डेले सम्मेलनको औपचारिक समापन गर्दै सम्मलेनले निक्र्योल गरेका मुख्य निचोड सहभागीहरूका लागि लाभदायक हुने बताए ।


