काठमाडौं । आमा बन्ने सपना पूरा गराइदिन्छौं भनेर सुरु गरिएको फर्टिलिटी क्लिनिक सेवा नेपालमा अहिले अपराध र मानव अधिकार उल्लंघनको अखडामा रूपान्तरण भएको छ । काठमाडौंको बी एन्ड बी अस्पतालको आईभीएफ सेन्टरले किशोरीहरूमार्फत डिम्ब संकलन गरी अवैध रूपमा धनी ग्राहकहरूलाई लाखौं रुपैयाँमा बिक्री गर्ने गरेको खुलासा भएपनि अहिले यो विषय थप बहसमा आएको छ । तर स्पष्ट कानून अभावमा अवैध कारोवारको आरोप लागेकाहरू साधरण तारेखमा छुट्ने गरेका छन् ।
करिब डेढ महिनाअघि ललितपुरकी १७ वर्षीया परिवर्तित नाम शर्मिला जो अचानक बिरामी परिन् । वान्ता हुने, पेट असह्य दुख्ने र पटक–पटक बेहोस हुने समस्या देखियो । परिवारले अस्पताल पु¥यायो । सुरुमा पिसाबको संक्रमण भनियो । उपचार भयो । तर समस्या समाधान भएन ।
पेट झन् फुल्न थालेपछि जुका भएको हुनसक्ने अनुमान गरियो । त्यसपछि टिबीको आशंकामा परीक्षण पनि गरियो । तर रिपोर्टले केही देखाएन । अन्ततः भिडियो एक्स–रे गर्दा डिम्बाशयभित्र अण्डा सुन्निएको देखियो । त्यसपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेपछि मात्रै बी एन्ड बी अस्पतालको आईभीएफ सेन्टरले अवैध काम गरिरहेकोे खुलासा भयो । १७ वर्षीय किशोरीको डिम्ब कसले निकाल्यो भनेर खैलाबैला भयो ।
३० हजार रुपैयाँको प्रलोभन !
ती किशोरी साथीमार्फत दलालको फन्दामा परेकी थिइन् । डिम्ब भनेको महिनैपिच्छे आफैं खेर जाने चिज हो । केही हुँदैन, पैसा पनि आउँछ भन्दै उनकी साथी प्रशाना अधिकारीले उनलाई सम्झाएकी थिइन् । यही विश्वासमा किशोरी तयार भइन् । प्रशानाले उनलाई महिला एजेन्ट राधिका गौतमसँग सम्पर्क गराइन् ।
राधिकाले पनि डिम्ब दिएबापत ३० हजार रुपैयाँ पाइने भन्दै किशोरीलाई तयार गराएको आरोप छ । त्यसपछि किशोरी ग्वार्कोस्थित बी एन्ड बी अस्पतालको आईभीएफ सेन्टर पुगिन् । उनलाई इन्जेक्सनमार्फत औषधि दिइयो र एक सातापछि पुनः आउन भनियो । अन्ततः असार १४ गते उनको डिम्ब निकालियो । तर त्यसपछि सुरु भयो किशोरीको शरिरमाथि पीडा । कमजोरीले ढल्ने अवस्था भयो । वान्ता हुने, पेट दुख्ने र बेहोस हुने समस्या बढ्दै गयो ।
छोरीको अवस्था बिग्रिँदै गएपछि परिवारले साउन १ गते जिल्ला प्रहरी कार्यालय ललितपुरमा उजुरी दियो ।
५० हजारको ‘कनेक्सन’ !
प्रहरीले अनुसन्धान गर्दै जाँदा लमजुङ घर भई ललितपुर बस्ने २१ वर्षीया राधिका गौतम पक्राउ परिन् । अनुसन्धानका क्रममा राधिकाको मोबाइलमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ विशेषज्ञ डा. नुतन शर्माले असार १४ गते ५० हजार रुपैयाँ दिएको प्रमाण भेटिएको प्रहरीले जनाएको छ ।
त्यसमध्ये ३० हजार रुपैयाँ पीडित किशोरीलाई दिइएको आरोप छ । तर, राधिका हाजिरी जमानतमा छुटिन् । किशोरीले प्रहरीमा जाहेरी दिदाा डिम्ब झिक्न प्रत्यक्ष संलग्नता रहेको भनिएकी डा. शर्मा फिलिपिन्समा थिइन् । साउन २१ गते नेपाल फर्किएपछि प्रहरी र सरकारी वकिलको कार्यालयमा उपस्थित भइन् । तर अदालतबाट पक्राउ पुर्जी नआएको भन्दै उनी पनि सामान्य हाजिरी जमानतमा छुटिन् ।
प्रहरीले डा. नुतन शर्मा र किशोरीलाई राधिकासँग चिनजान गराउने भनिएकी प्रशाना अधिकारीलाई पक्राउ गर्न अनुमति मागेको थियो । तर अदालतबाट अनुमति नआएपछि राधिका पनि हिरासतबाट बाहिरिइन् ।
डा.शर्मालाई यसअघि पनि लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा नेपाल मेडिकल काउन्सिलले चिकित्सकीय इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरेको थियो । उक्त निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । अदालतले काउन्सिलको निर्णय कार्यान्वयन रोक्ने अन्तरिम आदेश दिएको थिएन । तर उनी फेरि पनि यस्तै अर्को गम्भिर धन्दामा लागेको देखिन्छ ।
के हो डिम्ब कारोबार ?
इन भिट्रो फर्टिलाइजेसन अर्थात् आईभीएफ प्रविधिमार्फत डिम्ब अर्थात् महिलाको अण्डा निकालेर निःसन्तान दम्पतीमा प्रयोग गरिन्छ । तर नेपालमा डिम्बदान, डिम्बको आर्थिक कारोबार, डोनरको सुरक्षा र सहमति सम्बन्धी स्पष्ट छुट्टै कानुनी व्यवस्था छैन । यही कानुनी रिक्तताको फाइदा उठाएर आर्थिक प्रलोभनमा किशोरी वा महिलाको डिम्ब निकालिएको आरोपमा प्रहरीले मानव बेचबिखनसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान गर्ने गरेको छ ।
यसअघि २०८२ असारमा सीआईबीले बबरमहलको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगञ्जको एन्जल फर्टिलिटी क्लिनिकमार्फत डिम्ब कारोबार भएको आरोपमा अनुसन्धान गरेको थियो । पीडितलाई ८–१० हजार रुपैयाँसम्म दिएर डिम्ब लिने र २० लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको थियो । अनुसन्धान सकेर सीआईबीले गत भदौमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार डा. स्वस्ति शर्मा, प्रत्युषा बराल, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहित सात जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । तर तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले गत ३० असोजमा यो मुद्दा नचल्ने निर्णय गरेकी थिइन् ।
प्रतिवादी बनाउन सिफारिस गरिएकी प्रत्युषा भण्डारीकी छोरी हुन् भने स्वस्ति पनि पारिवारिक सदस्य हुन् । यो प्रकरणपछि स्वास्थ्य मन्त्रालयले आईभीएफ सेवालाई नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२ समेत ल्याएको थियो । मापदण्डले डिम्बदाता २० देखि ३५ वर्षको हुनुपर्ने र जीवनमा अधिकतम ६ पटकसम्म मात्र डिम्बदान गर्न पाउने व्यवस्था गरेको छ ।
मापदण्ड बनेपनि यो पछिल्लो प्रकरणले कार्यान्वयन नभएको देखाएको छ । प्रलोभनमा पारेर डिम्बदान गराउन नहुने र स्वास्थ्य जोखिमबारे जानकारी दिएर सहमति लिनुपर्ने पनि उल्लेख छ । नेपालमा दर्ता भएका फर्टिलिटी क्लिनिक २५ वटा रहेको बताइए पनि एक दर्जनभन्दा बढी बिना दर्ता सञ्चालनमा रहेको दाबी छ ।
सन्तान प्राप्तिको आशालाई व्यापार बनाउँदा कसैको शरीर कारोबारको वस्तु बन्न नदिन राज्यको नियमन कति बलियो छ ? अहिलेसम्म यसको नियमनका राज्य चुकिरहेको छ । जुन असाध्यै लाजमर्दोँ हो ।
